जारशाही संसद्मा बोल्शेभिक सांसद – ६
- कार्तिक २४, २०८२
लक्ष्मी पौडेल
पत्रकार भनेर परिचित गराउँदा कहिलेकाहीँ राम्रै मान, सम्मान वा प्रतिक्रिया पाइन्छ तर कहिलेकाहीँ सा¥है अपमान बोध हुने व्यवहार पनि भोग्नुपर्छ । शेयर कारोबारमा महिलाको आकर्षणबारे रिपोर्टिङमा जाँदाको घटनाले मलाई अझै पनि नरमाइलो गराउँछ ।
आइतबार साताको शेयर कारोबार सुरु हुने दिन । रेडियोमा शेयरमा लगानी गर्ने महिलाको विषयमा केही दिनदेखि छलफल भएको थियो । पहिला पहिला शेयर भन्नेबित्तिकै पुरुषले लगानी गर्ने र ती बिजनेश क्लासका हुने भनेर बुझिन्थ्यो । हिजोआज शेयरमा लगानी गर्ने महिला पनि बढ्दै छन् भन्ने सुनियो । सोहीअनुरुप सम्पादकले महिलाको खास अवस्था के छ ? बुझ्नुस् न भनेर आइतबारको जिम्मा थमाइदिए ।
त्यो दिन अनामनगर र पुतलीसडकस्थित केही शेयर कारोबार गर्ने कार्यालयसम्म पुगेँ । पहिलोमा पुग्दा एकजना महिलामात्र देखेँ, अरू सबै पुरुष । कुरा गर्न खोज्दै थिएँ, नेप्से परिसूचक ओरालो लागेको देखेर ती महिला निराश भई त्यहाँबाट निस्किन्, कुरा गर्ने मेसै मिलेन । त्यसपछि लागेँ पुतलीसडकतिर, हातमा रेकर्डर थियो अनि साथमा ब्याग । पुतलीसडकको शेयरमार्केटमा भने महिला धेरै थिए । कोही भर्खर आउँदै, कोही निस्कँदै, यसको भित्तातिर आँखा डुलाएँ, स्किनमा शेयर मापन गर्ने परिसूचक रातै थिए । गाइँगुइँ आवाज आयो, “हत्तेरी के भएको होला … खत्तमै भो नि … ।”
निराशाका बीच पनि मलाई कुराकानी गर्नु थियो । उनीहरू के गर्छन्, कहिलेदेखि शेयरमा लगानी गर्न थाले भन्ने विषयमा सोध्न एकजना भद्र महिला नजिकै पुगेँ । फलानो मिडियाबाट पत्रकार… मात्र के भनेकी थिएँ, उनको निधार खुम्चाएर भागेझैँ भागिन् ह्या, पत्रकार ? भन्दै ।
अलि पर गएर एक्लै बसिन्, त्यसपछि मेरो मनमा भुइँचालो गयो । पत्रकार भन्नेबित्तिकै उनले यस्तो व्यवहार गर्ने गरी मैले के अपराध गरेँ । आफूलाई ड्युटी पूरा गर्नु थियो, त्यसैले एक सीट पछाडि आएँ, तीन चार जना महिला थिए, उनीहरूलाई कुराकानीको प्रस्ताव राखेँ, हेर्दा उनीहरू कुरै गर्न नजान्ने नसक्ने होइनन् भन्नेमा विश्वस्त थिएँ, एउटीले भनिन्, “मलाई त केही आउँदैन, उहाँलाई सोध्नु न उहाँलाई भन्न आउँछ ।” कुरा त गर्नु नै थियो । तिनको नजिकै गएँ, अब मलाई पत्रकार भनेर चिनाउनु थिएन, अनौपचारिक रूपमा कुरा निकालेँ, मेरो कुरामा सहमत हुँदै गएपछि उनलाई म पत्रकार भनेर चिनाउँदा भएको व्यवहार सुनाएँ, उनी क्याम्पसकी प्राध्यापक रहिछन्, नाम लक्ष्मी पन्थी । तीतो पोखिन्, “पत्रकार भनेर के गर्नु, भए नभएका कुरा लेखिदिन्छन् अनि उनीहरूसँग बोल्नुभन्दा तर्किनु नै वेश भनेर होला ।”
उनले युट्युबमा पत्रकार भनेर देखिने र देखाइने विषयवस्तुप्रति दुखेसो गरिन्, “नभएका र नराम्रा खबर नै धेरै छिटो आउँछ, अनलाइनले एउटा हेडलाइन राख्छन्– न्यूज हुँदैन ।”
पत्रकार बदनाम
नेपालमा अहिले साँच्चै नै लक्ष्मी पन्थीले भनेझैँ अफवाहपूर्ण खबर फैलाउने गैरपत्रकारका कारण पत्रकारिता पेशा र पत्रकारको बदनाम भइरहेको छ त ! पत्रकारको नाम भजाएर व्यापार गर्नेहरू पनि छन् । चितवनमा रहेर साहित्यिक क्षेत्रमा सक्रिय रेडियोकर्मी लक्ष्मी घिमिरे अनावश्यक र स–साना कुराहरूलाई अतिरञ्जित गराउने केही युट्युब र अनलाइन सञ्चालकका कारण स्थापित पत्रकार समस्यामा परेको बताउँछिन् । उनले सबै पत्रकारलाई एउटै तुलोमा जोख्ने प्रवृत्तिका कारण स्थापित पत्रकारले बदनाम हुने स्थिति आएको बताइन् । कसैको व्यक्तिगत विषयका बारेमा आउने भिडियो कुराकानी तथा अनलाइन समाचारहरू विश्वासिला आधारविना नै आम नागरिकका माझ पुग्ने गरेका छन् । आम नागरिकमा त्रास फैलाउने, नकारात्मकता फैलाउने तथा हुँदै नभएका तस्वीर, भिडियो र अनर्गल लेखहरूका कारण आम पत्रकारिता जगत नै जोखिममा परेको छ । हजारौँ पत्रकार र सयौँ अनलाइन, अनि युट्युबका कारण सञ्चारको विश्वासिला माध्यम मानिएको रेडियो, टेलिभिजन पत्रपत्रिकाको समाचारमा पनि विश्वासको खडेरी लाग्न थालेको छ । पङ्क्तिकारले भोगेको घटना यसैको प्रमाण हो ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले पति शोकका बेला आफ्नो पीडासँग व्यापार भएको दुखेसो पोखिन् र खेद प्रकट गरिन् । रवीन्द्रको निधन भएको भोलिपल्टदेखि विभिन्न अनलाइन र युट्युबमा विद्याले लेखिन् यस्तो कविता भन्दै कविता भाइरल बनाइयो । जसले अधिकारी परिवारमा झनै पीडा थपिदियो । यस्तै नजीरका कारण हामी पत्रकारमाथिको नागरिक विश्वास डग्मगाउँदै छ । विदेशमा भएका घटनालाई नेपालीकरण गरेर त्रासदीपूर्ण तस्वीर राखी पाठक तर्साउने अनलाइन वा युट्युबका कारण हामी जोखिम छौँ । नेपाल एफएम नेटवर्कमा कार्यरत पत्रकार प्रकाश बस्याल भन्छन्, “पत्रकारितामात्र होइन हरेक क्षेत्रमा जोखिम त छँदै छ तर साँच्चै खोज पत्रकारिता गर्नेहरूलाई अफवाहपूर्ण भ्रम फैलाउनेहरूबाट जोखिम बढेको छ ।”
सुध्रिने र सुधार्ने कहिले
पत्रकारिताको मूल मर्म र मान्यताविपरीत काम गर्ने गराउनेलाई प्रेस काउन्सिलले अनुगमन र कारबाही गर्छ । ‘व्यक्ति एक, अनलाइन र युट्युब अनेक’ जस्तो स्थिति सिर्जना भएको बेला काउन्सिलको कारबाही र महासङ्घको अनुगमन प्रभावकारी भएको छैन, यो यथार्थ हो । पत्रकार बस्याल राज्यले पत्रकारको वर्गीकरण र शुद्धीकरण गरेर प्रोपोगन्डा गर्नेलाई कडा कारबाही नगरेसम्म यो समस्या हल नहुने बताउँछन् ।
एउटा अनुभव सुनाऊँ, केही समयअघि नाकाबन्दीको बेला नवलपरासीमा कार्यरत थिएँ, पम्पले पत्रकारलाई परिचयपत्र र मिडियाको सिफारिसका आधारमा पेट्रोल उपलब्ध गराउने भयो । पत्रकारलाई रिपोर्टिङमा सहज होस् भनेर यो व्यवस्था गरिएको थियो । तर मिडिया सञ्चालक, मालिक तथा चिनजानका अरु व्यापारी, नेता र अरुको कार्ड बनायो र सिफारिस दिइयो । उनीहरूलाई पेट्रोल पम्प सञ्चालकले चिनेको भए पनि सिफारिसका आधारमा फ्युल दिए । पछि पत्रकार जाँदा कोटा पूरा भो भनियो । त्यसपछि चोक–चोकमा सुनिएको थियो, पत्रकारको नाममा कलङ्कहरू छन् । हो, यो प्रकृतिको नियमन कहाँबाट हुन्छ ? काउन्सिल र महासङ्घ यहाँनिर कसरी चुकिरहेका छन् ?
पहिला आम नागरिकसम्म समाचार पुग्ने माध्यम सीमित थियो । निश्चित समय पनि थियो । अहिले स्मार्ट जमाना छ, हातहातमा मोबाइल ट्याब र सामाजिक सञ्जालका कारण व्यवसायिक सञ्चारको माध्यम रेडियो, टेलिभिजन, पत्रिका कसैले कुर्नुपर्दैन । यसैका कारण पनि इन्टरनेटको सहज पहुँचले भ्रमपूर्ण पत्रकारको नाममा भएका गलत काम रोक्न रोकाउन शुद्धीकरणको पहल र नियमनका लागि दबाब दिनैपर्ने छ ।
– संहिता
Leave a Reply