समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२
– गौरव प्रधान
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा नेपालले मात्र चाहेर सार्क सम्भव नभएको बताए । सार्कको अध्यक्ष भएको हैसियतले नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले मात्र चाहेर सार्क सम्भव छैन भनी आफ्नो जिम्मेवारीबाट पन्छिनु राम्रो होइन । दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन गर्न र गराउन या सम्बन्धित देशसँग समन्वय गर्ने काम नेपाल सरकारले गर्नुपर्छ । शिखर सम्मेलन गर्न र गराउन या सम्मेलनलाई निरन्तरता दिने नेपालको चाहना हो भने सम्मेलनमा कुन देश बाधक बनिरहेको छ, किन बाधक बनिरहेको छ थाहा पाउनुपर्छ । सार्कको अध्यक्ष भएपछि के सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्दैन ?
सार्क देशका सबै राष्ट्रप्रमुखहरूलाई थाहा छ, भारतको कारण शिखर सम्मेलन हुन नसकेको हो । शिखर सम्मेलनमा भारत बाधक छ । पाकिस्तानप्रति भारतको पूर्वाग्रहको कारण शिखर सम्मेलन हुन नसकेको यथार्थ हो । यो यथार्थ कुरालाई कसैले छोप्न चाहेर छोपिँदैन । बिम्स्टेक सम्मेलन गर्ने, सम्मेलन गर्न अग्रसर हुने तर सार्कको सम्मेलन गर्न भारत किन पछि हट्ने ? यो पाकिस्तानलाई एक्ल्याउने भारतको नियत हो, षड्यन्त्र हो । हो, सार्क सम्मेलन गर्न सबै देशको सहमति आवश्यक छ । तर, सहमति हुनुपर्छ । सहमतिको प्रयासै नगरिकन शिखर सम्मेलन कसरी हुन्छ ? सहमति भएको छैन भनेर कति वर्ष शिखर सम्मेलन नगरिकन बस्ने ? शिखर सम्मेलनलाई निरन्तरता दिन अध्यक्षको हैसियतले नेपालले कूटनीतिक पहल गर्नुपर्छ भने ठूला र जिम्मेवार देशको हैसियतले भारत पनि अघि सर्नुपर्छ । भारत राजी भएमा शिखर सम्मेलन सजिलै र सहजताका साथ सम्पन्न हुन्छ ।
बिम्स्टेकमा पाकिस्तानको सहभागिता छैन, त्यसैले त्यसको सम्मेलन भयो । सार्कमा पाकिस्तान पनि सदस्य हो, त्यसैले त्यसको सम्मेलन भएन । सार्कमा सम्मेलन गर्न भारतले पाकिस्तानप्रति किन पूर्वाग्रह राख्नुप¥यो ? पाकिस्तानप्रतिको भारतको पूर्वाग्रहलाई नेपाल किन टुलुटुलु हेरेर बस्छ ? नेपालको लागि सार्क र बिम्स्टेक दुवै महत्वपूर्ण छ भने एउटाको सम्मेलन गर्ने र अर्कोको किन नगर्ने ? कतै नेपाल अप्रत्यक्षरूपमा भारतको पछि लागिरहेको छैन ? आर्थिक समृद्धि, सामाजिक र सांस्कृतिक विकासलगायत अन्य क्षेत्रमा आपसी सहयोगको लागि सार्क गठन भएको हो भने सम्मेलन गर्न बिलम्ब किन ? सम्मेलन गर्न नेपाल, भुटान, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका जाग्नुपर्छ । सम्मेलन ढिलाइ भइरहेको कारणबारे सोधखोज गर्नुपर्छ । तर, त्यसको पहल नेपाल सरकारले गर्नुपर्छ र शीघ्रातिशीघ्र सार्क सम्मेलन गर्नुपर्छ ।
Leave a Reply