म भैल खः हुँ
- बैशाख ४, २०८३
श्यामकृष्ण खुलिमुली
हामीसँग के छैन ?
प्रचुर सम्भावना छ
कच्चा पदार्थ असीमित छन्
दाताहरू पनि छन्
सहयोग गर्न ताँती लागेका छन्–विनासर्त
छिमेकी
युरोपियन युनियन
अमेरिका
एनजीओ
र असङ्ख्य आइएनजीओहरू
हो, उनीहरू एउटा नयाँ प्रयोग गर्न चाहन्छन्
एउटा नयाँ सिद्धान्त प्रतिपादन गर्न चाहन्छन्
एउटा नयाँ आविष्कार गर्न चाहन्छन्
त्यसैले डलरको बिस्कुन टिप्दै– दाताको सहयोगमा
यहाँ एउटा नयाँ उद्योग खुल्दै छ
अत्याधुनिक
उत्तरआधुनिक
जसले कृषिलाई माथ गर्छ
जलविद्युत्लाई लोप्पा खुवाउँछ
पर्यटनलाई ओझेल पार्छ
जहाँबाट उत्पादन हुन्छ –द्वन्द्व
हिमाल, पहाड र तराईमा छर्न
जहाँबाट उत्पादन हुन्छ–हिंसा
द्वन्द्वलाई मलजल गर्न ।
सरकार किनिरहेछ उद्योगका
यन्त्र र पार्टपुर्जा–गोलीगठ्ठा,
बन्दुक, सङ्गीन, बम, बारुद र ट्याङ्कहरू
र चौबीसै घण्टा उद्योग सञ्चालन गर्दै छ
दाताहरू डलर खन्याउँदै छन्
हामीसँग कच्चा पदार्थ असिमित छन्–
जात, पहिचान, भूगोल, धर्म र भाषा ।
Leave a Reply