भर्खरै :

“बैँसको रुखमुनि” एउटा क्रान्तिकारी प्रेम कथा

नीरज
जापानी उपनिवेशवादविरुद्ध चिनियाँ मुक्ति सङ्घर्षबारे मनग्य सङ्ख्यामा साहित्य प्रकाशित छन् । विशेषतः सन् १९४९ मा चीनमा नयाँ जनवादी व्यवस्थाको घोषणापश्चात् त्यस्ता साहित्य प्रकाशनको शिलशिला चल्यो । मुक्ति सङ्घर्षमा आफैं सहभागी बनेका कति लेखक–साहित्यकारहरूले आफूले देखे–भोगेको अनुभव लेखेर प्रकाशन गराए । साथै चीनका विभिन्न कुनाकाप्चामा बसेका क्रान्तिकारी योद्धा र जनतासँग भेटी क्रान्तिको समयमा भोगेका अनुभवलाई चिनियाँ लेखकहरूले साहित्यको रूपमा लेखे । यस्ता हजारौं साना–ठूला पुस्तक होलान् । बालबालिकाको निम्ति मात्र पनि कैयौंको सङ्ख्यामा त्यस्ता कृति प्रकाशित छन् । चिनियाँ क्रान्तिको भावना नयाँ पुस्तासम्म विस्तार गर्न पनि त्यस्ता प्रकाशनले उल्लखेनीय भूमिका खेलेको हुनुपर्छ ।
अङ्ग्रेजीलगायत विभिन्न भाषामा अनुदित त्यस्ता कतिपय कृतिले चीनको मात्र सेवा गरेन । बरु संसारभरका अरू देशका युवाहरूलाई क्रान्तिकारी बनाउन र चिनियाँ क्रान्तिबारे जानकार बनाउन यस्ता कृतिले मनग्य सहयोग गरेको देखिन्छ । तुलनात्मक रूपमा नेपाली भाषामा निकै कम सङ्ख्यामा मात्र त्यस्ता चिनियाँ साहित्यको अनुवाद भएको देखिन्छ । तथापि नेपालीमा अनुदित थोरै सङ्ख्याका कृति जस्तै ः ‘चम्किलो रातो तारा’, ‘कालु स्कूल जाँदै छ’, ‘सात काँटी सलाई र अन्य कथाहरू’, ‘ओयाङ याङ हाइको गीत’ ले भने नेपालका धेरै युवालाई प्रगतिशील आन्दोलनतिर आकर्षित गर्न भूमिका खेलेका छन् ।
यहाँ चर्चा गर्न लागिएको उपन्यास पनि त्यस्तै कोटीको चिनियाँ साहित्य हो जसको नेपाली अनुवाद भएको छैन । तर, यदि हुँदो हो त धेरै नवयुवाले यो उपन्यास रुचाउने छन् । चिनियाँ क्रान्तिका बलिदान, सङ्घर्ष, त्याग, समर्पण, मित्रता, लडाईं, बदला, अनुशासनसम्बन्धी साहित्यको सङ्ख्या अधिक छन् । ‘इट ह्याप्पन एट विलो क्यासल’ अथवा ‘बैंसको रुखमुनि’ नामको यो उपन्यास भने क्रान्तिको उत्कर्षकालमा दुई किशोर किशोरीबीच भएको प्रेममा आधारित साहित्य हो । सन् १९४१–१९४९ को समय भनेको चिनियाँ क्रान्तिको उत्कर्षको समय थियो । १९४५ मा जापानी उपनिवेशबाट चीन मुक्त भयो । तर, कोमिनताङसँगको सङघर्ष भने अझै टुङ्गिसकेको थिएन । जापानी उपनिवेशवादबाट प्राप्त मुक्तिबाट उत्साहित चिनियाँ क्रान्तिकारी सेना भने चीनमा नयाँ जनवादी स्थापनाको सङ्कल्प बोकेर लडिरहेका थिए । त्यस परिस्थितिमा लालसेनालाई प्रेमको बारेमा सोच्ने फुसर्द कहाँ हुनु ?
चौथों स्वायडका कान्छो सिपाहीं लि जिन र चिनियाँ लालसेना सेल्टरमा बसेको घरकी छोरी इर मेहबीचको निकटतम सम्बन्धकै वरपर यो उपन्यास घुमेको छ । सानै उमेरमा आफ्नी सौतेनी आमाको अत्याचारबाट भाग्दै लालसेनामा सामेल भएका लि जिन टोलीको जुझारु लडाकु हुन् । इर मेहसँग उसको निकटता टोलीको नेताको लागि टाउको दुखाइको विषय बनेको हुन्छ । आफ्नै छोराजस्तो लाग्ने लिप्रति कमान्डरको सहानुभूति भए पनि उनलाई यस्तो छुट दिन सकिन्नथ्यो किनभने यसले सिङ्गो टोलीलाई छिन्नभिन्न बनाउने सम्भावना हुन्थ्यो । लिको सम्बन्धले भर्खर मुक्त भएको गाउँका जनताको नजरमा लालसेना बदनाम हुने हो कि भन्ने पीर पनि उनलाई हुन्छ । त्यसकारण कमान्डरले लिलाई मेहबाट टाढै रहन आदेश दिन्छन् । तसर्थ कमान्डरको आदेश शिरोपर गर्दै लि आफ्नो कर्तव्य पालनाको दौडमा लाग्छन् । इर मेहप्रतिको उनको प्रेमलाई मनभित्रै सीमित राखेको हुन्छ । उनले आफ्नो प्रेमलाई मित्रताको आवरणले लुकाउन खोज्छन् । क्रान्तिको परिस्थितिमा आएको परिवर्तनसँगै लालसेना इर मेहको गाउँबाट अन्यत्र हिँड्छ ।
इर मेहको गाउँ लालसेनाले भर्खर जापानी उपनिवेशवाद र स्थानीय जालीफटाहाबाट मुक्त गरेको गाउँ थियो । इर मेहका भिनाजु जापानी सेनाका स्थानीय एजेन्ट हुन्छन् । दिदीको निधनपछि मेहका भिनाजुले उनलाई नै आप्mनी श्रीमती बनाउन खोजिरहेको हुन्छ । त्यही बेला लालसेनाले त्यो गाउँमा कब्जा जमाएको थियो । लालसेना त्यहाँबाट फर्कनुको अर्थ मेह इच्छाविपरीत जालीफटाहा भिनाजुको शरणमा पर्नुहुन्थ्यो । त्यसकारण मेह या त लालसेनासँग जान चाहन्थिन् अथवा लालसेना आफ्नो गाउँ छोडेर नजाओस् भन्ने चाहन्थिन् । मेहले आफ्नो भाइमार्फत कमान्डरलाई सोध्छिन्,“के लालसेनामा महिलालाई कुनै स्थान छैन ?” “के लालसेनाले विवाह गर्नुहुन्न ?” वास्तवमा चिनियाँ लालसेनामा धेरै महिलाले पनि योगदान गरेका थिए । महिला लालसेनाले युद्ध पनि लडेका थिए । तर, लिको त्यो टोलीमा भने कोही पनि महिला थिएन । अनि मेहलाई सँगै लान सकिने अवस्था पनि थिएन ।
आफ्नै उमेरका लिलाई मेहले आफ्ना सबै अन्तरकथा भनेकी हुन्छिन् । त्यसकारण मेहको सुरक्षा गर्नु आफ्नो कर्तव्य ठानेका लि उनलाई पनि लालसेनासँगै लान चाहन्थे । तर, कमान्डरले भने, “चीनमा मेहजस्तै दुःख भोगिरहेका अरू पनि धेरै केटीहरू छन् ।”
झण्डै ५–६ वर्षपश्चात् लालसेना त्यही गाउँ भएर फर्किरहेको थियो । चीनमा लालसेनाले क्रान्तिमा विजय हासिल गरिसकेको थियो । चीन मुक्त भइसकेको थियो । लामो समयपछि कुनै बेला आफू बसेको गाउँ पुगेर कमान्डर र लि इर मेहलाई भेट्न जान्छन् । लालसेना गाउँबाट हिँडेपछि गाउँलेले जालीफटाहा र जापानी सेनाबाट भोगेको दुःख र त्यसको प्रतिरोधमा जनताले गरेको सङ्घर्षको नेतृत्व मेहले गरेको थाहा हुन्छ । महिनौं डुङ्गामा बसेर शत्रुविरुद्ध प्रतिरोधमा होमिएको कथाले लि र कमान्डर प्रभावित हुन्छन् । यता लालसेनामा उदाहरणीय वीरता प्रदर्शन गरेको भन्दै लि पनि सम्मानित भएका थिए । लिले पाएको त्यही पदक बंैसको रुखमुनि लिलाई इर मेहले मायालु पाराले लगाइदिन्छिन् । सारमा कथा यति हो ।
उपन्यासमा कमान्डरको आदेश निःसर्त मान्ने लिको निर्णयले लालसेनाभित्रको अनुशासनको गहिराइ प्रस्ट हुन्छ । कोमिनताङ र जापानी सेनासँग चिनियाँ लालसेनाको प्रमुख भिन्नता भनेको अनुशासन नै हो । अनुशासित क्रान्तिकारी सेना नै चिनियाँ क्रान्तिको सफलताको आधार थियो । आफ्नो व्यक्तिगत चाहना र इच्छालाई भन्दा क्रान्तिको सेवा गर्ने भावना आज पनि चिनियाँ कम्युनिष्ट पार्टीमा आबद्ध युवामा पाउन सक्छौँ । हिजोका लालसेनाका योद्धाको भावनाकै जगमा आज पनि चिनियाँ कम्युनिष्ट पार्टीका युवाहरू अघि बढिरहेका छन् ।
उपन्यासमा क्रान्तिमा होमिएका योद्धाहरूबीचको प्रेमबारे कथात्मक तरिकाले प्रस्ट्याउन खोजिएको छ । उपन्यासको अन्त्यमा इर मेहले लिलाई वीरताको पदक लगाइदिएको दृश्य चित्रण गरी क्रान्तिकारी पे्रम कस्तो हुन्छ भन्ने सन्देश लेखकले दिन खोजेका छन् ।
क्रान्तिको उत्कर्षमा चिनियाँ जनताको जीवन र मनस्थितिबारे बुझ्न पनि उपन्यास उपयोगी छ ।
आकारमा सानो यो उपन्यास बजारमा त सायदै भेटाइएला । कुनै उमेरदार पुस्तकालयको एकान्तमा उपेक्षित ¥याकमा बाक्लो पुस्तकको चेपुवामा यस्ता साना तर गुनिला पुस्तक भेटाइने रहेछ ।
शिह ऐनले लेखेको यो पुस्तक सन् १९५१ मा चीनको कल्चरल प्रेसले प्रकाशित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *