मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
रवीन्द्रनाथ टैगोर
मस्को, १९ सेप्टेम्बर १९३०
स्थान रुस ः दृश्य मस्को छेउछाउको एउटा ठाउँ ।
झ्यालबाट क्षितिजसम्म फैलिएको जङ्गल देख्नसक्छु । सबैतिर गाढा हरियो छ । पहेँलो र हरियोको समिश्रण छ । जङ्गल बाहिर सानो गाउँ छ । त्यहाँ स–साना झोपडीहरू छन् । अहिले लगभग १०ः०० बजेको छ । आकाशमा बादल मडारिएको छ । वर्षाविहीन हावा जीवन्त छ । अग्ला सीधा पीपलका रुखहरू हावासँगै हलिरहेका छन् ।
म बसेको मस्कोको यो होटेललाई ‘द ग्राण्ड होटेल’ भनिँदोरहेछ । यसको ढाँचा र बनावट विशाल छ । तर अवस्था नाजुक छ । यो होटेल धनी परिवारको टाट पल्टिएको घरजस्तो लाग्छ । पुरानो युगको नियुक्तिमा कोही मातिएका छन् । कोही फोहरी भएका छन् । लगाएका च्यातेको लुगासमेत टाल्न सकेका छैनन् । कहिल्यै सफा हुन पाएका छैनन् । पूरै सहरको उस्तै अवस्था छ । सफाइ भए पनि उनीहरूमा विगतको झुल्को देख्न सकिन्छ । कमिजका सुनका टाँकहरू खुस्किएको जस्तो लाग्छ । लाग्छ, मलमलको लुगा च्यातिएको छ । युरोपको भौतिक सुविधा सम्पन्नताको बीचमा यस्तो खालीपन कहीँ पनि छैन । यसको मुख्य कारण धनी र गरीबबीचको खाडल हो । यो दृश्य पछाडि सबै छयाल्लब्याल्ल, फोहोर, अस्वस्थता, अन्धकार, दुःख र खराब कार्यहरू छन् । तर, हामी बाहिरियाले सबै कुरा राम्रो बुझ्छौँ, सुन्दर देख्छौँ र सबैले राम्ररी खाएको देख्छौँ । के यो सम्पत्ति सबैलाई बराबरी बाँड्न सम्भव छ ? सबैलाई थाहा भएकै कुरा हो कि एकैचोटि पर्याप्त हुँदैन किनभने यहाँ सम्पत्तिको आधारमा देखिने फरकपन छैन । सम्पत्तिको अनुहार फेरिएको छ । कोही घरबारविहीन छैनन् । यहाँको पहिलो दृश्य सा¥है मनमोहक छ । जसलाई अरु देशमा भीड भनिन्छ तर यहाँ जनता ।
मस्कोको गल्लीमा हरेक किसिमका मानिस हिँड्छन् । कसैले राम्रो लगाएका छैनन् । अवकास पाएका मानिस दृश्यमा छैनन् । सबैले आफ्ना लागि आफै कमाउनुपर्छ । विलासित्ताको प्रमाण कहीँ छैन । मैले एकजना डा. पेट्रोभ नाम गरेका उच्च अधिकारीलाई एक महलमा फोन गर्नुप¥यो, जुन महल कुनै समयमा पुरानो कुलीन परिवारको थियो । तर अहिले उक्त महलमा कमैमात्र फर्निचर र सरसफाइ पनि कमी थियो । महल मर्मतको पर्खाइमा छ जीर्ण अवस्थामा छ । यसको सामाजिक दायित्व निलम्बित भएका छन् । म बसेको ठाउँमा खानाको व्यवस्था अत्यन्त अनुपयुक्त थियो । जसलाई मैले द ग्राण्ड होटेल भनेको थिएँ । तर कोही चिन्तामा थिएन किनभने सबैको अवस्था उस्तै थियो ।
म मेरो बाल्यकाल सम्झन्छु । जीवन कति कमसल थियो । अहिलेको तुलनामा प्रयोगमा आएका वस्तुहरू कति साधारण थिए । यद्यपि अलिकति पनि लज्जाबोध थिएन । जीवनमा मानकको कुनै मापन र फरक पनि थिएन । सबै घरमा लगभग उस्तै थियो । एउटा बृहत् संस्कृति, कला सङ्गीतको उत्थानमा के नै फरक थियो र !
सम्पतिको विभेदले उत्पन हुने अहङ्कार पश्चिमी देशबाट आयातीत भएको हो । जब पैसा कर्मचारी र व्यापारीहरूको घरमा पान बगेजस्तै बग्न सुरु भयो तब विदेशी विलासी वस्तुहरू सम्मानका प्रतीक बन्न थाले । त्यसैले हाम्रो देशमा पनि आज परम्परागत आस्था संस्कृति र ज्ञानको उपलब्धिभन्दा धन सम्पत्तिको विभेदले मानिसहरूलाई आकर्षित गर्नथाल्यो । सम्पत्तिको खोक्रो घमण्ड मानिसको अनादरको सबभन्दा ठूलो कारण हो । यस्तो नीच पहिचानले हामीलाई उत्कृष्ट सामाजिक प्राणी बनाउँदैन, यसमा हामी होसियार हुनुपर्छ ।
म खुसी भएँ किनभने यहाँ धनको विवेकहीन घमण्ड छैन । यसै कारणले मात्र मानवको स्वाभिमानको पुनःस्थापना भएको हो । किसान र मजदुरहरूले यहाँ घृणाको भारी बिसाएका छन् र शिर ठाडो पारेका छन् । कति सुन्दर तरिकाले एउटा मानवको सम्बन्ध अरुहरूसँग सरल भएको छ ।
मस्को, २० सेप्टेम्बर १९३०
अन्ततः रुस जुन दृष्टिकोणबाट पनि मलाई गजब लाग्यो । यो देश अरु कुनै पनि देशभन्दा पृथक छ । उनीहरू सानोदेखि ठूलासम्मलाई केही भेदभाव नगरिकन माथि उठाउँदै छन् ।
पूरा युग सभ्य समुदायसँग निमुखा मानिसहरूको समूह छ । पशुजस्तै भारी बोक्नेहरूसित मानव बन्ने समय नै छैन, तिनीहरूकै सङ्ख्या धेरै छ । न खाना, न नाना, न शिक्षा उनीहरू आर्थिक उत्थानका दृष्टिले पनि पिछडिएका छन् । उनीहरू सबभन्दा बढी परिश्रम गर्छन् र पनि सबभन्दा बढी अपमानित हुन्छन् । उनीहरू जीवन सार्थक बनाउने हरेक कुराबाट वञ्चित हुन्छन् । उनीहरूको जीवन बत्तीमुनिको अँध्यारोजस्तै छ । अरुलाई सभ्य र विकसित बनाएर आफू अन्धकार रहन्छन् ।
उनीहरूका बारेमा सधैँ सोचे पनि उनीहरूलाई कहिल्यै सहयोग नपुगेको निष्कर्षमा म पुगेको थिएँ । यदि कोही तल नपरेको भए माथि पनि कोही हुने थिएन होला । माथि कोही नभए उच्च नीचको फरक र विपरीत सोचाइ पनि हुँदैन । पशुतुल्य जीवन मानवको जस्तै कहिल्यै हुँदैन । त्यस्तो जीवन अपूर्णतामा गुज्रिरहेको हुन्छ । मानव सभ्यताको सबभन्दा उर्वरभूमि भनेको उसको मनोरञ्जन पनि हो जुन शिक्षा र विकासको होस् । त्यसैले मेरो विचारमा हामीले ज्ञान र शिक्षाको विकास गर्नुपर्छ र स्वास्थ्य र मनोरञ्जनले समाजको आधार तयार पार्छ ।
तर, दुःखको हरेक कुरा सधैँ सित्तैमा गर्न सकिँदैन । हामी मूल्य खोज्छौँ । त्यहीँबाट हामी काम बिगार्छौँ । समाजको लागि वास्तविक सहयोग समानतामा मात्र हुनसक्छ । मानवताको विकास मानव अधिकार हनन गरेर हुन्छ भनेर म सोच्न पनि सक्दिनँ । समाजमा हरेकको पहिचान र अधिकार सुनिश्चित हुनुपर्छ ।
अनिकालमा बाँचेको भारतले अङ्ग्रेजहरूलाई खुवाउँदै छ । कति अङ्ग्रेजहरू यसलाई स्वाभाविकरूपमा लिन्छन् । लाग्छ, भारतीयहरूको कर्तव्य नै चिरकालसम्म अङ्ग्रेजको सेवा गर्नु हो । अङ्ग्रेजलाई महान् र सफल बनाउने हामीलाई सधैँ दास बनाउनु के गलत नहोला ? यो देशले थोरै खान्छ, थोरै लाउँछ यति हुँदाहुँदै पनि यो देशको अवस्थालाई दया गरेर अलिकति विकास गरेको भए के हुन्थ्यो ! तर सय वर्ष बित्यो न हामीलाई शिक्षा दिइएको छ न स्वास्थ्य न धन नै ।
आदर नगर्नेलाई मानिसले राम्रो गर्नसक्दैन । द्वन्द्वको परिणामले भन्दा छिटो मानिसले आफै यो कुरा कहिल्यै महसुस गर्दैन । यो समस्याको मुख्य समाधान रुसमा खोजियो । यो प्रयासको अन्तिम फल पाउने समय हालसम्म भएको छैन । तर अहिले मेरा आँखाहरूले जे देखेका छन् ती मलाई आश्चर्य लागेको छ । यी समस्याहरूको समाधानको राजमार्ग नै शिक्षा हो । यद्यपि बहुसङ्ख्यक मानव समाज यो सौभाग्यबाट वञ्चित छन् । भारत पनि पूरै यस्तै छ । तर मलाई आश्चर्य लागेको छ कि रुसको पूरै समाजमा शिक्षा फैलिएको छ । शिक्षाको मापन सङ्ख्यामा होइन पूर्णतामा हुन्छ र गहिराइमा हुन्छ । कस्तो व्यापक तयारी, कति अथाह प्रयास अनि कसैले गरिब र निष्क्रिय बन्नु पर्दैन । युरोपको रुसमात्र होइन मध्य एसियाको अर्धविकसित प्रजातिहरूले पनि शिक्षाको ढोका खोलेका छन् । विज्ञानको विकासको लागि अनन्त प्रयास गरिएको छ । यहाँका नाट्यशालाहरू भरिभराउ हुन्छन् । नाट्यशालामा मजदुर र किसानहरू आउँछन् । तिनीहरूको उपहास कहीँ हुँदैन । जहाँसम्म म सङ्घ संस्थाहरूमा पुगेको छु त्यहाँ खुसी र आत्मसम्मान ब्युँझिएको देखेको छु । तर बेलायतका कामदार र अरुहरूबीच धेरै भिन्नता छ ।
जुन कुरा हामी शान्ति निकेतनमा मात्र गर्दछौँ त्यो रुसी जनताले पूरै देशभर तीव्रगतिका साथ गरेका छन् । कति राम्रो हुन्थ्यो होला यदि हाम्रा भारतीय कामदार यहाँ तालिमका लागि आउन सकेका भए । म प्रत्येक दिन यहाँको अवस्था मेरो भारतसँग तुलना गर्दछु । के हो र के हुनसक्छ भनेर दाँज्ने गर्दछु ।
मेरा एक अमेरिकी मित्र ह्यारी टिम्बर्स रुसी स्वास्थ्य संस्थाहरूको अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ । अनुसन्धानको निष्कर्ष निकै आश्चर्यलाग्दो छ । स्वास्थ्य सेवाको उत्कृष्टता गजबको छ । तर, रोगले ग्रस्त, भोको र असहाय भारतको अवस्था बिदित्तै छ । केही वर्ष अगाडिसम्म यहाँका जनताको अवस्था पनि भारतीय जनताकै जस्तो थियो । तर, यहाँ छोटो समयमा तीव्र परिवर्तन भयो । जबकि हामी हलचलै गर्न नसक्ने गरी घाँटीसम्म हिलोले पुरिएका छौँ ।
म यहाँ सबै कुरा परिपूर्ण छ भन्दिनँ । यहाँ पनि केही गम्भीर समस्याहरू छन् । ती समस्याका लागि रुसी जनताले मूल्य चुकाउनुपर्ने छन् । छोटकरीमा भन्नुपर्दा उनीहरूले यहाँ एउटा फरक एकपक्षीय शिक्षाको पद्धति विकास गरेका छन् । त्यसलाई मानिसले सधैँका लागि सहनसक्दैन । ती शिक्षाका सिद्धान्तहरू जीवन्त मस्तिष्कका नियमअनुरुप हुँदैनन् । मानव मस्तिष्क सधैँ एकोहोरिएर र मानव यान्त्रिक गुडिया बनिरहँदैन । एक दिन यो विस्फोट हुने छ ।
यहाँका केटाहरूलाई समूहमा विभाजन गरी भिन्नाभिन्नै विभागको आवासगृहसम्बन्धी अभिभारा दिइएको छ भन्ने मैले जानकारी पाएको छु । उनीहरू हरेक किसिमका उत्तरदायित्व लिन्छन् । कोही स्वास्थ्य हेर्छन् । कोही भण्डार हेर्छन् । कसैले नियन्त्रणको मात्र जिम्मा लिएका छन् । मैले पनि शान्ति निकेतनमा यही गर्ने कोशिश गरेको छु । तर सफल भएको छैन । असफलताको एउटा कारण विद्यालय प्रशासनको मुख्य उद्देश्य परीक्षा हुनु हो । प्रशासनको लागि परीक्षा पहिलो प्राथमिकतामा छ भने अरु काम दोस्रो प्राथमिकतामा छ ।
सकेसम्म राम्रो गरौँ, नसके नराम्रो या खराब चाहिँ नगरौँ । हाम्रो अल्छी मस्तिष्कले कुनै कामको उत्तरदायित्व लिन चाहँदैन । हामीलाई सानो बच्चादेखि अहिलेसम्म एकोहोरो रटानमात्र लगाइयो । बनाउनेले इमानदारीपूर्वक बनाएन भने नियमको के अर्थ रहन्छ र ! निश्चय पनि त्यस्तो नियमको पालना गरिने छैन । यहाँको ग्रामीण कार्य र शिक्षा मैले सोचेको भन्दा अलि फरक छ किनभने शक्ति, तत्परता र प्रशासकीय सक्षमता धेरै रहेछ । शारीरिक क्षमतामा पनि धेरै भरपर्छ जस्तो लाग्छ किनभने हाम्रोजस्तो मलेरियाले ग्रस्त पारेको, पोषणयुक्त खाना नखाएको शरीरले जोशका साथ कार्य सम्पादन गर्नसक्दैन । यहाँ काम गर्न सजिलो छ किनभने चिसो हावापानीमा हडी बलियो हुन्छ । हाम्रा कामदारहरूको शक्तिको मापन सङ्ख्या गनेर हुँदैन किनकि उनीहरू पूर्ण मानव छैनन् ।
नेपाली अनुवाद ः भानुभक्त हुमागाई
(बाँकी अर्को शनिबारको अङ्कमा प्रकाशित गरिनेछ ।)
Leave a Reply