भर्खरै :

के तिमीहरू अझै मास्क लगाउँछौ ?

प्रधानमन्त्रीले आफू पदबहाली भए यता मास्क लगाएर हिँड्ने मानिस पचास प्रतिशतले घटेको दाबी गर्नुभयो । उहाँले कुन अध्ययन र तथ्याङ्कको आधारमा त्यो कुरा बोल्नुभएको हो, थाहा छैन । प्रधानमन्त्रीले यसअघि पनि यस्ता धेरै निराधार कुरा बोल्नुभएको छ । त्यसकारण उहाँको यो दाबीमा पनि नेपाली जनतालाई न कुनै आश्चर्य लागेको छ न दुःख । ओली प्रधानमन्त्री बन्दाताका राजधानीको चक्रपथ बन्दै थियो । त्यसकारण स्वभावतः धुलो बढी उड्थ्यो । मानिस मास्क लगाउँथे । आज छिमेकी देश चीनको सहयोगमा बनेको सो चक्रपथ निर्माण सम्पन्न भयो । हिजो बाटो बनाउँदै गरेको समत्न्दा आज धुलो कम उडेको छ । तर, सरकारले काठमाडौँ उपत्यकाको प्रदूषण कम गर्न योजनाबद्ध प्रयासका कारण यो परिणाम आएको सत्य होइन । बिग्रेको बाटोमा उडेको धुलोका कारण नगर परिषद् उद्घाटन गर्न आएका सांसदलाई घेरेर मुर्दावादको नारा लगाउने साँखुका जनताले ओलीको भनाइ के गरी पत्याउलान् ? बिगारेको आधा दशक बितिसक्दा पनि अझै नबनेको कलङ्की–थानकोट सडकका जनताले के मास्क नलगाएरै दैनिक त्यो जीर्णातिजीर्ण सडकमा यात्रा गरिरहेका छन् ? किन प्रधानमन्त्री यस्ता हचुवाको अभिव्यक्ति दिइरहेका हुन्छन् ? उहाँलाई किन यस्ता कुरामा सौख लागेको होला ?
वर्षायाममा काठमाडौँ उपत्यकाका अधिकांश बाटो हिँड्न थप कष्टकर हुने गरेको छ । घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य बाटाले काठमाडौँलाई देशको राजधानी भन्न असजिलो हुने अवस्था छ । राजधानीको यो दुरवस्थालाई देशभरिकै अवस्थाको मापन मान्न सकिन्छ । प्रधानमन्त्री तथ्याङ्क र अङ्क प्रस्तुत गरेर जनतालाई आफ्नो सरकारले हासिल गरेको उपलब्धिको बखान गर्ने गर्छन् । तथ्याङ्कले निःसन्देह हिजोभन्दा आज केही अङ्क बढेको देखाउला । तर, तथ्याङ्कमा केही अङ्क चढ्नु नै कुनै पनि सरकारको सफलता वा प्रगतिको आधार होइन ।
प्रधानमन्त्रीले गरिमामय सभामा यस्तो प्रकारका मिथ्याङ्क प्रस्तुत गर्नुअघि किन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दैनिक हाजिरी गर्ने कोही कार्यालय सहयोगीसँग आफ्नो दाबी कति सत्य हो भनी जाँच्ने बुद्धिमानी देखाएनन् ? प्रधानमन्त्री ठगको घेराभित्र रहेको चर्चा नेपाली राजनीतिमा नयाँ होइन । प्रधानमन्त्रीलाई ठगहरूले आफ्नो अनुकूलतामा बोल्न उक्साइरहेका छन् । अनि प्रधानमन्त्रीको काँधमा बन्दुक राखेर गोली हान्दै छन्–ठगहरू । अनि जनता ? जनता प्रधानमन्त्रीका यस्ता झूठा बयान र बुझाइको कोपभाजनमा परेका छन् ।
प्रधानमन्त्रीज्यू, जतिसुकै आत्मविश्वासका साथ तपाईँले यस्ता तथ्याङ्क सार्वजनिकरूपमा बोल्नुभए पनि ती सबै झूठ हुन् । जनतालाई अझै पनि प्रदूषित वातावरणमा जीवन जोखिममा राख्न बाध्य छन् । घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य राजधानीका सडकमा अझै पनि कष्टकर जीवन बाँच्न बाध्य छन् । तपाईँले बोल्ने यस्ता हरेक मिथ्या कुराले यो सरकारप्रति जनताको भावना क्रमशः क्षीण बन्दै जानेछ । आफ्ना नजिकका मानिसले दिएका सबै जानकारी तथ्य हुँदैनन् । एन्डरसनको बादशाहको नयाँ लुगाका मन्त्रीहरू बादशाहका प्रियहरू थिए । तर, उनीहरूको झूठले बादशाह नाङ्गिए । सत्य बोल्यो–राजाको नग्नता देखेर जिल्ल परेको एक जना बालकले ।
प्रधानमन्त्रीज्यू, सिंहदरबार र बालुवाटारमा तपाईँले टेक्ने भुईको माटो निधारमा लगाउने भक्त होइन, साँखु र कलङ्कीका जनतालाई सोध्नुहोस्– ‘के तिमीहरू अझै मास्क लगाउँछौ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *