भर्खरै :

श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित

कोलम्बो, १६ असार (सिन्ह्वा) । श्रीलङ्कामा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
सरूवा रोग नियन्त्रण एकाइले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन् ।
जुलाईको अन्त्यसम्ममा कूल प्रभावितको सङ्ख्या २३ हजार ८४२ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
सवैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित भएको पाइएको छ । प्राप्त विवरण अनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका छन् भने दोस्रो धेरै बिरामी गाम्पाहामा भएका छन् । गाम्पाहामा तीन हजार ५२ र तेस्रो धेरै प्रभावित भएको गाल्लेमा दुई हजार ३१ जना बिरामी भएका छन् ।
वर्षा जारी रहेकाले अहिले कोलम्बो, गाम्पाहा, गाल्ले, कालुतारा र रत्नपुरा गरी पाँच जिल्लालाई डेङ्गुको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिएको छ ।
उच्च ज्वरो, अनियन्त्रित बान्ता, पेट दुखाई, चक्कर लाग्ने, पिसाबसम्बन्धी समस्यालगायतका लक्षणहरू देखिनासाथ चिकित्सकहरूसँग परामर्श गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।
“ज्वरो आएका सबै बिरामीलाई आरामको आवश्यकता पर्दछ, उनीहरूले केही दिन आफ्नो कामबाट बिदा लिनुपर्दछ,” एक विषेशज्ञले भने । श्रीलङ्कामा गत वर्ष मात्रै ५० भन्दा बढीको डेङ्गुका कारण मृत्यु भएको थियो भने ४८ हजारभन्दा बढी प्रभावित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *