भर्खरै :

सैन्य शासनविरुद्ध सुडानमा प्रदर्शन, सातको मृत्यु

खार्तुम, १६ असार । सैन्य शासनविरुद्ध सुडानमा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको ज्यान गएको छ । कम्तीमा १८१ जना घाइते भएका छन् ।
आइतबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू राष्ट्रपति निवासको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भएको झडपका क्रममा हुँदा ७ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सुडानको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
प्रदर्शनको नेतृत्व गरेको विपक्षी दलले भने सरकारी भनाइको खण्डन गरेको छ । सुडान डक्टर्स समर्थक विरोध समितिका अनुसार हिँसात्मक प्रदर्शनका क्रममा कम्तीमा ५ जनाको ज्यान गएको छ ।
गत अप्रिलदेखि सुडान अशान्त छ । सुरुमा त्यहाँ राष्ट्रपति ओमर अल बसिरविरुद्ध प्रदर्शन भएका थिए । बसिरविरुद्धको प्रदर्शनबाट हौसिएको सेनाले सन् १९८९ देखि अकण्टक सत्तामा हालीमुहाली गरेका उनलाई अपदस्थ गरेको थियो र उनकै सरकारका रक्षा मन्त्रीलाई सैन्य समितिको प्रमुख तोक्यो ।
तर, प्रदर्शनकारीले सैनिक कदम रुचाएनन् । प्रदर्शनमा उत्रिए । जनप्रदर्शनबाट हच्किएको सेनाले निर्वाचन गरेर नागरिकलाई सत्ता हस्तान्तरण गर्ने वचन दियो । यद्यपि, त्यसबाट पनि सुडानका नागरिक सन्तुष्ट हुन सकेका छैनन् ।
उनीहरू सत्ता नागरिकलाई हस्तान्तरण गर्नुपर्ने माग राखेर सङ्घर्षमा उत्रिएका छन् । आइतबारको प्रदर्शन गत जुन ३ मा प्रजातन्त्र पक्षधरहरूले गरेको प्रदर्शनपछिको सबैभन्दा ठूलो भएको बताइएको छ । ३ जुनको प्रदर्शनमा दर्जनौंको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *