भर्खरै :

क्युवाको बदलिँदो अर्थतन्त्र

गएको शुक्रबार क्युवाली जनताको लागि निकै हर्षको दिन रह्यो । क्युवाली सरकारले त्यो दिन घोषणा गरेको नयाँ आर्थिक कार्यक्रममा सार्वजनिक क्षेत्रका कर्मचारीको तलब वृद्धि र निवृत्त नागरिकको निवृत्तिभरण बढाउने उल्लेख थियो ।
संरा अमेरिकाले नाकाबन्दी अझ कसिलो बनाएको अवस्थामा उनीहरूले यसको सम्भावना देखेका थिएनन् । तर, सरकारको यो घोषणाले क्युवाका २७ लाख जनताको हित गर्ने भएको छ ।
क्युवाली सरकार नियन्त्रित टेलिभिजनले जुलाई महिनादेखि लागू हुने गरी न्यूनतम तलब दरमा ४ सय पेसो (१७ अमेरिकी डलर) ले बढ्ने बताइएको छ । यसले क्युवाली जनताको औसत तलब १ हजार ६७ पेसो (४५ डलर) पुगेको छ ।
“सबै सार्वजनिक क्षेत्रका कर्मचारीले सरकारको यो निर्णयको हार्दिकतापूर्वक स्वागत गरेका छन् किनभने उनीहरूले तलब वृद्धिको वर्षौँदेखि माग गरिरहेका थिए”, हवानास्थित आधारभूत विद्यालयका शिक्षक मेडिलिन गुजमानले भन्नुभयो ।
“मेरो विचारमा सरकार र राष्ट्रपति मिगुएल डायज – कानलले निकै महत्वपूर्ण निर्णय गर्नुभएको छ । यसले सबै सार्वजनिक कर्मचारीलाई नयाँ जाँगरका साथ काम गर्ने हौसला प्रदान गर्नेछ”, उहाँले भन्नुभयो ।
क्युवामा सार्वजनिक क्षेत्रका कर्मचारी भन्नाले स्वास्थ्यसेवा, शिक्षा, संस्कृति, खेलकुद, सरकारी कर्मचारी, आवास र रक्षाका कर्मचारी हुन् ।
कलेजका विद्यार्थी इमिलियो ओर्टेगाले सरकारको पछिल्लो निर्णयले क्युवामा सुधारको कार्यक्रम लागू गर्न हतार भइसकेको देखाएको बताउनुभयो । “तलब दर त अझै पनि हामीले चाहे जति पुगेको छैन । तर, यो निर्णय हामीलाई सन्तुष्ट गर्ने महत्वपूर्ण कदम हो”, ओर्टेगाले भन्नुभयो ।
सरकारले कर्मचारीको तलबमा मासिक सामाजिक सुरक्षा कर लागू गरेको छ । कर्मचारीहरूले यो कर तिर्नुपर्नेछ । त्यसबारे ओर्टेगाले भन्नुभयो, “सामाजिक सुरक्षामा यसरी कर लगाउनु उचित र तर्कसङ्कत छ किनभने क्युवामा ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढ्दो छ । निवृत्त जनशक्तिको स्थानमा काम गर्ने युवाहरूको कमी छ । भविष्यमा यसको जिम्मेवारी राज्यले बोक्नु नै पर्ने हुन्छ ।”
क्युवाका अर्थमन्त्री अलिजाद्रो गिले तलब वृद्धिले १२ लाख निवृत्त सरकारी कर्मचारी लाभान्वित हुने बताउनुभयो ।
“क्युवाली बजारमा केही वस्तु र सेवाको मूल्यको तुलनामा यो वृद्धि दर निकै कम हो । तथापि यो पक्कै राम्रो खबर हो”, ७७ वर्षका निवृत्त सरकारी कर्मचारी ग्लाडेस बुस्टिलोसले भन्नुभयो ।
तलब वृद्धि र निवृत्तिभरणले मुद्रास्फीतिको प्रभाव नपरोस् भनेर सरकारले बजारभाउमाथि कडा निगरानी गर्ने जनाएको छ ।
क्युवाको मन्त्रीमण्डलले अनुमोदन गरेको आर्थिक कार्यक्रमको पूर्ण विवरण आगामी दिनमा प्रकाशित गर्ने सरकारले जनाएको छ ।
“सरकारको कार्यक्रमले बचत गर्न उत्साहित गर्नेछ, घरेलु उत्पादन वृद्धि गर्नेछ र निर्यात बढाउनुका साथै विविधिकरण हुनेछ । आयात विस्थापन गर्नेछ । स्थानीय विकास विस्तार गरिनेछ र राज्यका कम्पनीहरू विकास हुनेछन्”, अर्थमन्त्रीले भन्नुभयो ।
“क्युवामा चलेको दुई थरी मुद्राको प्रणालीलाई एउटै बनाउने हाम्रो अर्को लक्ष्य हुनेछ”, मन्त्रीले थप्नुभयो ।
क्युवामा विगत पच्चीस वर्षदेखि क्युवाली पेसो र कन्भर्टिबल पेसो नामका दुई थरी मुद्रा चल्तीमा छन् । अघिल्लो क्युवाली पेसोको मूल्य झण्डै ४ अमेरिकी सेन्ट बराबर र कन्भर्टिबल पेसो अमेरिकी डलर बराबरको छ ।
सन् १९९० मा तत्कालीन सोभियत सङ्घ विघटनपछि क्युवाले कन्भर्टिबल पेसो चलाएको थियो । केही थोक पसलमा सामान खरिद गर्न त्यो पैसा प्रयोग हुने गरेको छ ।
दुई थरी मुद्रा प्रणाली अन्त्य गर्दा सरकारी कम्पनीलाई दिइँदै आएको सहुलियत हटाउन सकिनेछ, वस्तुको भाउ बढ्नेछ र सरकारी जागिर गरिरहेका हजारौँ जनालाई रोजगारीको अन्यत्र व्यवस्थापन गर्नुपर्नेछ ।
सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *