मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– काशीराम शर्मा
बाँकेका आठवटा स्थानीय तहले विपद् व्यवस्थापनमा रु. ३ करोड ५७ लाख ५० हजार रकम विनियोजन गरेका छन् । वर्षायाम सुरु भएसँगै स्थानीय तहहरूले सचेतनासँगै पूर्वतयारीका लागि उक्त रकम विनियोजन गरेका हुन् । बाढीबाट बर्सेनि ठूलो जनधनको क्षति हुने भएकाले स्थानीय तहले बजेट विनियोजन गरी सचेतनामा सक्रियता देखाएका हुन् ।
विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उल्लेख्य बजेट छुट्याएका स्थानीय तहले नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी पूर्वतयारीलगायत सचेतना दिनुका साथै समस्याको बेला खाद्यान्नको व्यवस्था गरिसकेका छन् । विसं २०७१ पछि बाढीबाट सबैभन्दा बढी क्षति व्यहोरेको राप्तीसोनारी गाउँपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि रु. २ करोड विनियोजन गरेको छ ।
सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिसकिएको छ । राप्ती नदीमा भारतले बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध तथा सडकजस्तो बाँधले गर्दा ठूलो क्षति व्यहोर्दै आएको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पनि विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बजेट विनियोजन गरेका छन् । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
सधैँ राप्तीमा बाढी आउँदा उद्धारमा समस्या पर्ने भएपछि यस वर्ष राप्तीपारि उद्धार टोलीका साथै खाद्यान्न तयारी अवस्थामा राखिएको छ । बाढीकै कारण पीडा व्यहोर्दै आएको नरैनापुर गाउँपालिकाले रु. ३५ लाख, बैजनाथले रु. ३० लाख, कोहलपुर नगरपालिकाले रु. २९ लाख, खजुरा गाउँपालिकाले रु. २५ लाख, डुडुवाले रु. १९ लाख, नेपालगञ्ज उपमहानगरपालिकाले रु. १० लाख र जानकी गाउँपालिकाले रु. ९ लाख ५० हजार रकम विनियोजन गरेका छन् ।
चाउचाउ, बिस्कुट, दालमोठहरू किनेर भण्डारण गरिएको छ । यस वर्ष स्थानीय तहले पनि विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बजेट विनियोजन गरेर तत्परता देखाएका हुन् । राप्तीपारिको गंगापुरमा रहेको सशस्त्र बेसक्याम्पमा एउटा रबर बोट, २५ वटा लाइफ ज्याकेट, डोरी, स्टेचर र फस्टएड कीट तयारी अवस्थामा राखिएका छन् । सशस्त्र प्रहरीको बागेश्वरी गण राप्तीपारि र गंगापुर बेसक्याम्पलाई उद्धारका लागि तयारी अवस्थामा राखिएका छन् ।
जिल्ला विपद् समितिले स्थानीय निकाय तथा तटीय क्षेत्रका बासिन्दालाई बाढी पूर्वतयारी तथा प्रतिकार्यका लागि सचेत गराइरहेको छ । राप्ती नदीमा पानीको बहाव ५ दशमलव ४ मिटर हुनेबित्तिकै पूर्वसङ्केतका लागि साइरन बज्ने व्यवस्था मिलाइएको छ भने विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
राप्तीसोनारी गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले सञ्चालन गरेको सो केन्द्रले गाउँपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट हुनसक्ने विपद्बाट सर्वसाधारणको जीउज्यान, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक तथा सांस्कृतिक सम्पदा र भौतिक संरचना जोगाउन मद्दत गर्ने गाउँपालिकाका अध्यक्ष थारुले जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र देशकै पहिलो भएको दाबी पनि गर्नुभयो ।
अध्यक्ष थारुले राप्ती नदी तथा अन्य नदीनालाबाट कटान र डुबानजन्य प्रकोपबाट स्थानीय बासिन्दा प्रताडित हुने गरेकोले प्रकोपबाट हुनसक्ने मानवीय तथा भौतिक संरचनाको क्षति कम गर्न सजिलो होस् भन्ने उद्देश्यले आपत्कालीन कार्य सञ्चालन गरिएको बताउनुभयो । “विपद्को उच्च जोखिममा रहेको गाउँपालिका भएकोले विपद्बाट बच्न सबै खालका पूर्वतयारीहरू गरेका छौं, यसले क्षति न्यूनीकरणमा सहयोग हुने छ,” अध्यक्ष थारुले भन्नुभयो ।
उच्च जोखिम क्षेत्र पहिचान गरिँदै
वर्षायाम सुरु भएसँगै बाँकेका स्थानीय तहहरू सचेतनासँगै पूर्वतयारीमा जुट्न थालेका छन् भने स्थानीय प्रशासनले पनि बाढीको उच्च जोखिममा रहेका क्षेत्र पहिचान गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकालाई बाढीको उच्च जोखिममा राखेको छ । बाढीले हरेक वर्ष ठूलो क्षति पु¥याउने गरेका कारण उक्त क्षेत्रलाई बाढीको उच्च जोखिममा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।
प्रजिअ भुजेलले सामुदायिक भवन, विद्यालय, सामुदायिक वनका भवनलाई आश्रयस्थलका रूपमा पहिचान गर्न थालिएको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो – “हामीले सबै प्रकारका तयारीहरू गरिसकेका छौँ । सबै सुरक्षा अङ्गहरू तयारी अवस्थामा छन् । सुरक्षाकर्मीहरूलाई उद्धारका लागि आवश्यक तालिम पनि दिइएको छ । विपद् आइहालेमा तत्काल खटिने गरी हामी पूर्णरूपमा तयारी अवस्थामा छौँ ।”
प्रजिअ भुजेलका अनुसार उद्धारका लागि राप्ती तटीय क्षेत्रका उच्च भागहरूमा हेलिकप्टर अवतरण गर्न मिल्ने गरी ठाउँठाउँमा हेलिप्याडहरू बनाइएका छन् । बाढी प्रभावित क्षेत्रका सुरक्षा एकाइहरूमा आवश्यक उद्धार सामग्री, राहत तथा औषधिजन्य सामग्रीहरू भण्डारण गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजकसमेत रहनुभएका प्रजिअ भुजेलले बताउनुभयो ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक गौरी बुढाथोकीले पूर्वतयारीलाई चुस्त बनाएको बताउनुभयो । उहाँले भन्नुभयो – “विपद् नआओस् भन्ने हाम्रो कामना हो । आउन सक्ने सम्भावित अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तह, सुरक्षा अङ्गहरू, रेडक्रस लगायतलाई ‘एलर्ट’ भएर बस्न आग्रह गरिरहेका छौँ । उहाँहरू पनि तयारी अवस्थामै हुनुहुन्छ । प्रभावित क्षेत्रका नागरिकहरूलाई पनि विपद्बाट हुनसक्ने क्षतिका बारेमा सचेत गराइरहेका छौँ ।”
जोखिममा ११३ गाउँ
जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेका ११३ गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको जनाएको छ । बाढीपहिरोबाट हुनसक्ने विनाशलाई कम गर्न समितिले उद्धार, खोजतलास, राहत तथा पुनःस्थापनाका लागि आवश्यक योजनासमेत तयार गरिसकेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार राप्तीसोनारी र डुडुवा गाउँपालिकाका गाउँहरू उच्च जोखिममा रहेका छन् ।
राप्ती नदी आसपासका गाउँलाई बाढीको उच्च जोखिम राखिएको छ । सबैभन्दा धेरै राप्तीसोनारीका ५२ वटा गाउँ बाढीको उच्च जोखिममा छन् । बुढाथोकीले भन्नुभयो – “तीमध्ये पनि धेरै जोखिममा वडा नं ७ का १६ वटा गाउँ रहेका छन् ।” त्यस्तै, डुडुवाका २४ र नरैनापुरका सात वटा गाउँ उच्च जोखिममा रहेको संयोजक बुढाथोकीले बताउनुभयो ।
डुबानका कारण सडक र बाँध
बाँकेमा हरेक वर्ष बाढीको जोखिम क्षेत्र बढ्दै गएको छ । केही वर्षअघि डुवान नहुने क्षेत्र पनि पछिल्लो समयमा जोखिममा परेका छन् । भारतले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण राप्तीसोनारी, डुडुवा र नरैनापुरका अधिकांश भागहरू डुबानमा पर्ने गरेका छन् भने सीमामा भारतले निर्माण गरेको बाँधरुपी सडकबाट जानकी र खजुरा गाउँपालिकाका विभिन्न गाउँहरूमा डुबानको समस्या देखिन थालेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको पानी बग्ने बाटो दोन्द्रा नालामा भारतले पुल बनाउनुपर्नेमा कल्भर्ट निर्माण गरेपछि विगतमा डुबान नभोगेका खजुरा र जानकी गाउँपालिकाका गाउँहरू डुब्न थालेका छन् । जानकी–१ बेलभारका समाजसेवी किशोर थापाले भारतले निर्माण गरेको सडकका कारण डुबानमा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “वर्षात्को पानी बग्ने ठाउँ नै नभएपछि गाउँ डुबान हुने नै भयो । दक्षिण बग्नुपर्ने पानी पुनः उत्तरतिर फर्किन थालेको छ ।”
राप्तीसोनारी गाउँपालिका खल्ला झगडिया, वसन्तपुर, भवानीयापुर, पहाडीपुर, देउपुरा, पिप्रहवा, गेदवा, सोनपुर, छपरतल्ली, भर्ता, मैलोहरनिया, कोरी सर्यापुर, लालपुर, ननकौपुर, सर्रा उच्च झगडिया, सिक्टा, जरुवा, बैरीया, ओजखोला, चप्परगौडी, तितेनघारी, मदुवा, हरिहरपुर, औरहवा, टिकुलीपुर, शमशेरगञ्ज र बेलबास, राजपुर तल्लोबस्ती, शाहीपुर, नवलपुर, बैशा, गर्लाबाज, सिनाबाज र परसरामपुर र लालपुर जोखिममा रहेका छन् ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार धामपुर र भगवानपुर, ललही, आलीनगर, पठरिया, रिहारडाँडा, चिलहरिया, खल्लाटेपरी, गोडिनपूर्वा, मोहनपुर, लक्ष्मीराजपुर, बालापुर, पेरानी (खल्ला), ढकेरी, महादेवा र ढकेरी बस्ती बाढीको जोखिममा राखिएको छ भने नरैनापुर गाउँपालिकाका सोनवर्षा, कुदरबेटवा, गंगापुर, भोजपुर, मटेहिया, भगवानपुर र निवाजीगाउँ गरी सात वटा गाउँलाई बाढीको उच्च जोखिममा राखिएको छ ।
त्यस्तै, डुडुवा गाउँपालिकाका पिप्रहवा, कृषिचौफेरी, पाझा, खडैचा, टेपरी, सन्तलिया, अमृतपूर्वा, भेलोरपूवा, दासपूर्वा, खालेपूर्वा, बाबागाउँ, कैरातीपूर्वा, कोहली, रमपूर्वा, कटैहिया, हलकारापूर्वा, लोधपूर्वा, राजापूवा, रमपूर्वा, कटैहिया, हलकारापूर्वा, लोधवापूर्वा, राजापूवा, खालेमसाहा, लालापूर्वा, खजुरा गौडी, लडियाघाट, सिधनिया तल्लो बस्ती, लिबाङ्गीटोल र शिवराजपुर गाउँ बाढीको जोखिममा छन् ।
बैजनाथ गाउँपालिकाका मकैबारी, जबदहवा, रामपुर, कलरामपुर, बानियाभार, थमनिया, गरही, गुरुवागाउँ, सम्झना बजार, चाँदनीचोक, थपुवा, झिगौरा, साइगाउँ, बढैया, शिवपुरी, पचपोखरा र गुरुदयालपुर तथा कोहलपुर नगरपालिकाका कालिकानगर, मुक्तकमैया टोल, चप्परगौडी, बजारटोललाई पनि जोखिममा राखिएको छ भने खजुरा गाउँपालिकाका गिजरा, पुरैना, दशविघा, आठविघा, बाह्रविगा, शान्तिनगर, सल्यानीटोल र गुराँसपुर जोखिममा छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाभित्र एउटामात्रै गाउँ मदनापुर बाढीको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले जोखिमको सूचीमा सूचीकृत गरेका पूर्व क्षेत्रका धेरैजसो गाउँहरू राप्ती नदीका कारण जोखिममा छन् भने पश्चिम क्षेत्रका गाउँहरू मानखोला र डुडुवा नालाको जोखिममा रहेका छन् । जोखिम पहिचान गरिएका गाउँहरूमा विपद् प्रतिकार्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू भइरहेका छन् ।
Leave a Reply