मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
जमिला
जनप्रकाशन गृहको नियमित प्रकाशन त्रैमासिक ‘युनिभर्सिटी’ पूर्णाङ्क ३३ पाठकको हातमा छ । समयसापेक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूलाई केन्द्रविन्दुमा राखी प्रकाशित हुने यस बुलेटिन यो पटक भेनेजुयला विशेषाङ्कको रूपमा प्रस्तुत छ । भेनेजुयलामाथि संरा अमेरिकाले गरेको ठाडो हस्तक्षेपविरुद्ध विद्यार्थीहरूलाई सु–सूचित तथा सचेत बनाउने उद्देश्य बुलेटिनले लिएको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थी, युवा, शिक्षक, प्राध्यापकबीच पुग्ने यस बुलेटिन भेनेजुयलाको इतिहास, भूगोल, राजनीतिक व्यवस्था र वर्तमान अवस्थाबारे बुझ्न चाहनेहरूका निम्ति एउटा राम्रो सन्दर्भ–सामग्री साबित हुनेछ । साथै साम्राज्यवादी देश संरा अमेरिकाको नाकैमुनिका ल्याटिन अमेरिकी देशहरूका समाजवादी आन्दोलन र समाजवाद रक्षार्थ भएका सङ्घर्षहरूका सिलसिलाबारे सही जानकारी राख्न सके स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता र साँचो प्रजातन्त्रको निम्ति भइरहेको नेपाली सङ्घर्षले थप उचाइ तथा ऊर्जा पाउने थियो ।
बुलेटिन प्रकाशनको उपादेयता अध्ययन र आन्दोलनसँग जोडिएको हुन्छ । विद्यार्थीहरूको ज्ञानको घेरा फराकिलो बनाउन, सैद्धान्तिक र वैचारिकरूपले खार्न युनिभर्सिटी र यस्ता थुप्रै बुलेटिन, पुस्तकको अध्ययन आवश्यक छ । विद्यालयदेखि नै पाठ्यपुस्तकमा मात्र सीमित नरही अध्ययन संस्कृतिलाई हुर्काउन युनिभर्सिटीजस्ता थुप्रै प्रकाशनहरूले घच्घच्याइरहेका छन् । साहित्य प्रकाशन तथा अध्ययन सँगसँगै अगाडि बढे विद्यार्थीहरूबीच क्रान्तिकारी भावनाको विकास हुने सम्भावना प्रबल बन्छ । अध्ययन केवल अध्ययनको निम्ति नभई या मात्र सौखको विषय नभई नयाँ आन्दोलनको भूमिका तथा समाज परिवर्तनको तयारी बन्नुपर्ने मान्यता ‘युनिभर्सिटी’ ले बोकेको प्रस्ट छ ।
यो बुलेटिनले तीनवटा विषयलाई महत्व दिएको देखिन्छ । पहिलो, संरा अमेरिकी साम्राज्यवादको विरोध र भेनेजुयलाबारे सान्दर्भिक चर्चा । दोस्रो, समसामयिक राजनीतिक तथा शैक्षिक अवस्थाबारे विश्लेषण । तेस्रो, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घद्वारा आयोजित कार्यक्रम र गतिविधिबारे जानकारी सम्प्रेषण ।
बुलेटिनमा नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सँगको महत्वपूर्ण अन्तर्वार्ता सङ्कलित छ । क्युवा, भेनेजुयला, लिबियालगायत ल्याटिन अमेरिकी देशहरूका समाजवादी आन्दोलन, अर्थतन्त्र, वित्तीय संरचना र विभिन्न देशहरूसँगको सम्बन्धबारे अन्तर्वार्तामा मिहिन विश्लेषण छ । साम्राज्यवादी देश संरा अमेरिकाको प्रभुत्ववादी, संरक्षणवादी तथा हस्तक्षेपकारी नीतिविरुद्धको आवाज अन्तर्वार्तामा अभिव्यक्त भएको छ । साम्राज्यवादविरुद्ध निरन्तर सङ्घर्ष नै सबैभन्दा उत्तम उपायको रूपमा अगाडि राख्दै पाठकलाई आशावादी र सङ्घर्षशील रहन हौस्याउँछ । सिमोन बोलिभार, जोसे मार्टी, ह्युगो चाभेजलगायतका ल्याटिन अमेरिकी जनताका नायक सङ्घर्षका पर्यायहरूको सङ्क्षिप्त चर्चासँगै बोलिभारियाली क्रान्तिको शब्दचित्र प्रस्तुत छ । संरा अमेरिकाको पाँचौँ राष्ट्रपतिको विदेश नीति अर्थात् ‘अमेरिका अमेरिकीहरूको’ र ‘अमेरिका पहिलो’ को नीति अहिलेसम्म पनि नत्यागेको साम्राज्यवादी देश संरा अमेरिकाबारे का. रोहित प्रस्ट पार्नुहुन्छ – “साम्राज्यवादी शक्तिहरूको चरित्र बदलिसकेको छैन र बदलिने पनि छैन । साम्राज्यवादलाई उसको आफ्नो चिहानमा अन्तिम पटकको निम्ति नगाडेसम्म ऊ चिहानबाट पनि पटक – पटक उठ्नेछ, उसको चरित्र नफेरिने हुनाले ऊसँग अन्तिम लडाइँ बाँकी नै रहन्छ ।”
समाजवादी आन्दोलनबाट उठेका देशहरूको राजनीतिक सुशासन, आर्थिक उन्नयनबाट वास्तवमै संरा अमेरिका त्रसित छ भन्ने थुप्रै दृष्टान्तमध्ये भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप एक हो ।
ह्युगो चाभेजको व्यक्तित्वबारे का. गणेशको लेखले क्रान्तिकारी, अध्ययनशील चिन्तक, क्रियाशील व्यक्तित्व, साम्राज्यवादविरोधी लडाकु, देशभक्त र न्यायप्रेमी, सङ्घर्षका पर्यायका रूपमा चाभेजलाई पाठकसँग साक्षात्कार गराउँछ । चाभेजबारे का. गणेशको विश्लेषणबाट पाठकले चाभेजबारे थप अध्ययनको निम्ति ऊर्जा पाउनेछन् ।
‘बोलिभारियाली क्रान्तिमाथि साम्राज्यवादी हमला’ शीर्षकमा प्रकाशको लेखमा भेनेजुयलामाथिको हस्तक्षेपको पृष्ठभूमि, घटनाक्रमको विश्लेषण र भेनेजुयलाको अडानबारे चर्चा छ । हस्तक्षेपका राजनीतिक र आर्थिक कारणहरू केलाइएको छ । भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपको सिलसिला प्रस्तुत गर्दै बोलिभारियाली क्रान्तिलाई नै मुख्य तारो किन बनाइयो ? बोलिभारियाली क्रान्तिको उपलब्धिको जरा किन उखेल्न खोजियो ? भेनेजुयाली जनताको आवाज के हो ? आदि बारे विश्लेषणसहितको चर्चा जानकारीमूलक छ ।
भेनेजुयलामाथि भएको साम्राज्यवादी हमला र हस्तक्षेपको विरोध गरौँ भन्ने सन्देश प्रवाह गरिएको छ सविन ख्याजूको लेखमा । भेनेजुयलाबारे पश्चिमा सञ्चारमाध्यमले गलत प्रचार गरिरहेको बारे यहाँ छलफल गरिएको छ ।
निकोलस माडुरोको छोटो जीवनीले माडुरो वास्तवमै भेनेजुयाली जनता र भेनेजुयाली माटोको पक्षमा निडर भई उभिने जुझारु राजनेता हुन् र साम्राज्यवादविरोधी आन्दोलनका अग्रणी नेता हुन् भन्ने यथार्थ उजागर गर्छ । ईश्वर शाहीद्वारा लिखित यो लेखले माडुरोको व्यक्तित्वका झलक प्रस्तुत गर्छ । पुस्तक ‘भेनेजुयला, हिजो र आज’ बारेको पुस्तक चर्चाले पुस्तक अध्ययन गर्न अभिप्रेरित गर्नेछ ।
आर्थिक वर्ष २०७६÷७७ को बजेटको सिद्धान्त र प्राथमिकताबारे सांसद प्रेम सुवालले संसद्मा राख्नुभएको धारणा मननीय छ । सांसद सुवालले समाजवादको अपरिहार्यताबारे जोड दिनुहुँदै पुँजीवादी व्यवस्थाका बेथितिहरू उदाङ्गो पार्नुभएको छ । नागरिकता विधेयकबारे जनता सचेत बनाउने अभियान अझै आवश्यक छ । विधेयक देशघाती भएको थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रमाणसहितको प्रज्ज्वलद्वारा लिखित लेखले देशको डरलाग्दो स्थिति दर्शाउँछ । देशको अस्तित्व, सार्वभौतिकता र स्वाधीनतासँग जोडिएको नागरिकता विधेयकबारे थप छलफल गर्न बुलेटिनले सघाउनेछ । वर्तमान परिस्थितिबारे नेमकिपाको दृष्टिकोण बुझ्नसमेत बुलेटिन उपयोगी छ ।
शिक्षा र भ्रष्टाचार शीर्षकमा प्रकाश गुरुङको लेखले शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक बेइमानी र बेथितिलाई सतहमा ल्याएको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको भ्रष्टाचारको जालोले देशको बौद्धिक उन्नयन रोकिएको र प्राज्ञिक क्षेत्रमा राजनीतिक भागबण्डाकै कारण बदनामी कमाएको यथार्थ उजागर भएको छ । राजनीतिक व्यवस्था असल र समाजवादी भए शिक्षा क्षेत्र पनि राम्रो हुने जिकीर उनले गरेका छन् । ‘मस्ती छ शिक्षकलाई’ भन्ने तुल्सीको लेखले ग्रामीण भेगको एउटा प्रतिनिधि विद्यालयको दुरुह तस्वीर पस्केको छ । शिक्षामा सरकारको उदासिनता, शिक्षकहरूको गैरजिम्मेवारीले विद्यार्थीहरूलाई अँध्यारो भविष्यतर्फ डो¥याइरहेको प्रति चिन्ता तथा आक्रोश पोखिएको छ ।
करिब १७ वटा कार्यक्रमहरूको समाचार सङ्कलन जानकारीमूलक छ । निकोलस माडुरोको तस्वीरसहितको आवरण आकर्षक छ । ४८ पृष्ठको यस बुलेटिनको साजसज्जामा खासै खोट लगाउने ठाउँ छैन । जानकारीमूलक र विचारप्रधान यस बुलेटिनको मूल्य ५० विद्यार्थीमैत्री छ । युनिभर्सिटीका प्रत्येक अङ्क सङ्ग्रहणीय हुनुका साथै छलफल, अन्तरक्रियाले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग मिल्नेछ । नियमित प्रकाशनको कामनासहित प्रकाशकप्रति साधुवाद ।
Leave a Reply