भर्खरै :

भेनेजुयलाको व्यापार मार्गमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको क्युवाद्वारा विरोध

हवाना, २० असार (रासस/सिन्ह्वा) : अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाउनुभएको छ ।
उहाँले ट्वीटर सन्देशमार्फत भन्नुभयो, “संयुक्त राज्य अमेरिकालाई एकतर्फीरूपमा क्युवाका अधिकारलाई बञ्चित गर्दै भेनेजुयलासँगको व्यापारिक गतिविधिलाई रोक्ने अधिकार छैनन् । नयाँ प्रतिबन्ध व्यापार नियमन तथा सार्वभौम मुलुकको सम्बन्धबारे अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।”
अमेरिकी अर्थमन्त्रालयले बुधबार क्युवाको सरकारी कम्पनी क्युवामेटेल्सलगायतका सङ्घसंस्था तथा व्यक्तिमाथि भेनेजुयलासँगको व्यापारिक कारोबारमा संलग्न हुन नपाउने गरी नयाँ प्रतिबन्धको घोषणा गरेको थियो ।
भेनेजुयला तथा क्युवामाथि आर्थिक दबाब सिर्जना गर्न विभिन्न रणनीति अपनाउँदै आएको अमेरिकाले हवानाले भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गरेको र यसले भेनेजुयलालाई आर्थिक सहजता हुँदा सत्तासीन निकोलस मदुरोलाई सहयोग पुगेको निष्कर्षसहित नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।
अमेरिकी प्रतिबन्धका बाबजुद हवानाले काराकासलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गत मार्चमा २१० क्युवाली अधिकारी, उत्पादन र संस्थामाथि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित संस्थामा सरकारी होटल तथा कम्पनीदेखि नीति होटल र व्यावसायिक केन्द्रहरूसमेत रहेका छन् ।
प्रतिबन्धित सामानहरू वा संस्था वा व्यक्तिको सम्पत्तिलाई अमेरिकामा जफत गर्ने र कारोवारमा रोक्का गर्ने घोषणा गरिएको थियो ।
पुनः वासिङ्टनले क्युवाका लागि इन्धन बोक्ने भेनेजुयलाको राज्य सञ्चालित तेल कम्पनी पिडीभीएसएका ३४ ट्याङ्करमाथि प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *