युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
रवीन्द्रनाथ टैगोर
मस्को २५ सेप्टेम्बर, १९३०
हाल म रुसमा छु । यदि म यहाँ नआएको भए मेरो जिन्दगीको तीर्थयात्रा अपूर्ण हुने थियो । यहाँका क्रियाकलापहरूको असल र खराब पक्षको आङ्कलन गर्नुभन्दा पनि मेरो दिमागमा विश्वासै गर्न नसकिने परिवर्तनको बारेमा सोच आउँछ ।
यहाँ परम्परागत अनगिन्ती अपार्टमेन्टहरू थिए । ती अपार्टमेन्टहरूमा धेरै सिपाहींहरू पहरा दिन्थे । जनताको करबाट सङ्कलित रकम ठूलै अङ्कमा खर्चिन्थ्यो । त्यसलाई अहिले जरैबाट उखेलिएका छन् । कुनै डर र धक छैन । प्राचीन राजसत्ता नवीनताको लागि हटाइएको छ । पश्चिमाहरूको विज्ञानको जादुले मलाई अचम्मित पार्छ नै त्योभन्दा पनि बढी चकित त रुसीहरूको अथाह काम गराइ पारेको छ । विगतमा ती सबै संहार भएका भए त्यहाँका मानिसहरूले निकै दुःख पाउँथे, त्यसमा मलाई कुनै अचम्म लाग्दैनथ्यो । तर अहिले रुसी जनता नयाँ संसार उठाउन सङ्कल्पित छन् । पूरै संसार उनीहरूको विरोधमा रहेको बेला उनीहरू समयलाई अलिकति पनि खेर फालिकन “हामी गलत छैनौँ यो ठगी होइन” भन्ने प्रमाणित गर्न एक दुई दशकमै हजारौँ वर्षको अवशेषका विरुद्ध विजय प्राप्त गर्न उनीहरू दृढ सङ्कल्पित छन् । उनीहरूसँग थोरै भौतिक शक्ति भए पनि तुलना नै गर्न नसकिने दृढ इच्छाशक्ति रहेछ ।
यो अवस्थासम्म आइपुग्न रुसले क्रान्तिको लामो समय पर्खनुप¥यो । ज्ञात अज्ञात धेरैले यो परिवर्तनका निम्ति जीवन दिए । असह्य दुःखहरू भोगे । शरीरको कुनै छालामा घाउ भयो भने शरीरभरिकै रगत बग्न सक्छ भनेजस्तै क्रान्तिको कारण त बृहत्रूपमै फैलिएको हुन्छ तर क्रान्ति निश्चित ठाउँमा मात्रै हुन्छ । गरीब असहाय रुसी जनताले धनी र शक्तिशालीहरूका कारणले धेरै दुःख भोगे । त्यसैले त्यस्ता असमान प्रवृत्तिको समाधान रुसी जनताले खोजे ।
कुनै बेला फ्रान्सेली राज्यक्रान्ति पनि यस्तै असमानताका कारणले भएको थियो । थिचोमिचोमा परेको असमानताको दुःख विश्वव्यापी छ । त्यसैले फ्रान्सेली क्रान्तिले भ्रातृत्व, समानता र स्वतन्त्रताको सन्देश अगाडि ल्यायो । क्रान्तिको यो विश्वव्यापी आह्वान शासकहरूलाई सहज हुने कुरै भएन । फ्रान्सेली जनताले मानवताको बारेमा चासो र इच्छा जगाइदिए । यसले स्थायित्व पाइला नपाउला यसै भन्न नसकिए पनि फ्रान्सको त्यो राष्ट्रिय समस्या विश्वकै समस्या भने अवश्यै हो भन्ने कुरा आजको आधुनिक युगमा सबैलाई जगजाहेर छ त्यसलाई स्वीकार्नैपर्छ ।
अब संसारको यथार्थ प्रस्ट भएको छ । पृष्ठभूमिमा विभिन्न अभ्यास निरन्तर चलिरहेको छ । गाउँ–गाउँमा यस्तो मानवताको भावना सुषुप्त ढङ्गले बचाइ राखिएको छ कि बाहिरी संसारको जानकारी मान्न सम्पूर्णरूपले सम्भव छैन । हामीले देखेको भेदभाव अब धेरै समयसम्म अस्तित्वमा रहने छैन । मानवताको समझदारी ल्याउन आवश्यक छ ।
मैले टोकियोमा एकजना कोरियाली युवालाई मानवताको बारेमा प्रश्न गर्दा उनले “हामीमाथि पुँजीवादीहरूको दबाबको पकड रहेको र हामी उनीहरूको फाइदाका गोटी” भएको वेदना पोखे । त्यो बोझबाट कसरी मुक्त हुन्छौँ त भनी प्रश्न गर्दा उनले धनी र शक्तिशालीहरू जहिले पनि आफ्नो शक्ति र सम्पत्ति संरक्षणमा लाग्छन्, उनीहरू कहिल्यै एकताबद्ध हुँदैनन् जबकि असहाय गरीबहरूको दुःखकष्ट नै उनीहरूको एकताको आधार भएकाले कोरियाको शक्ति उनीहरूको दुःखमा निहित हुन्छ, असहायहरू नै यो धरतीका सच्चा हकदार भएको दाबी गरे ।
आजको संसारको अवस्था र दृष्टि पहिलेको भन्दा बिल्कुलै भिन्न छ किनभने हिजो गरिबहरूले आफूलाई एक्लो देख्थे, आफ्नो वास्तविक शक्तिबारे उनीहरूलाई जानकारी थिएन, आफ्नो भाग्यलाई दोष दिन्थे, सबै कुरा सहन्थेँ । तर आज अत्यन्त दयनीय अवस्थामा पनि मानिसहरू उठ्न सक्छन्, प्रत्येक दमित र शासित मानिसहरू सबैतिर विद्रोह गर्दै छन् र त्यसले अत्याचार र अपमानको स्थिति हराएको अवस्था छ ।
शक्तिशालीहरू घृणित छन् । शक्तिकै आडमा अरुलाई दुःख दिन उनीहरू बेचैन हुन्छन् । नयाँ जोश र संवाहकहरूलाई रोक्छन् र मौनतामा दबाउँछन् । उनीहरू कोहीसँग डराएका छन् भने आफूले दबाएकाहरूसँग नै डराएका छन्, आफूले अत्याचार गरेका र तुच्छ सम्झेकाहरूसँग डराएका छन् । उनीहरू आफ्नो फाइदाको लागि शक्तिको जस्तोसुकै दुरुपयोग गर्न पनि डराउँदैनन् । आफ्नो २–३ सय प्रतिशत फाइदाका लागि दुःखी किसानलाई अनिकालको पासोमा पार्न उनीहरू पछि पर्दैनन् । उनीहरूको लागि शक्ति नै नाफा (फाइदा) का लागि हो ।
मानव समाजमा खतरा सर्वव्यापी छ, जुनविना समाज रहनसक्दैन । शक्तिशालीहरूमा बलको मात नभएका भए उनीहरू असमानताको आवाजसित सबभन्दा बढी डराउँथे । विश्वको नियम नै असमानताको विरुद्ध जानु हो ।
मस्कोबाट निमन्त्रण आएको भए पनि सोभियत शासनको बारेमा मलाई राम्रो जानकारी थिएन । उनीहरूको बारेमा विरोधाभासपूर्ण भनाइहरू लगातार सुनेको छु । सुरुमा मेरो शङ्का उनीहरूको बाटो हिंसापूर्ण भन्ने थियो । पछि मैले युरोपमा नरमपना आउन थालेको कुरा सुनेँ अनि जब मलाई रुस जान उत्साहित गरियो, अङ्ग्रेजहरूले पनि सोभियत रुसी सरकारको प्रशंसा गरेका थिए । कतिले त “रुसीहरू सुन्दर प्रयोगमा संलग्न भएका” सम्म भने ।
यद्यपि मलाई रुसको भ्रमण नगर्नु भनी निरुत्साहित गर्नेहरू थिए । त्यसरी मलाई निरुत्साहित पार्नेहरूको मुख्य डर रुसमा खाना र अरु आवश्यक सामानमा समस्या होला भन्ने रहेछ । भन्नेहरूले यतिसम्म भने कि रुसीहरूले जे कुरा देखाउँछन्, ती बनावटीमात्र हुन्छन् । म पत्याइनँ । वास्तविकता चाहिँ मेरो उमेर र स्वास्थ्य स्थिति हेर्दा मेरो रुस भ्रमण जोखिमपूर्ण नै हो । तापनि शक्तिशाली बलिदानको आगो र त्यसको प्रकाश नहेरेमा मलाई विश्व इतिहासले कहिल्यै क्षमा दिँदैन भनेर मैले आएको निमन्त्रणा स्वीकार गरेँ ।
त्यसबाहेक मेरो काम ती कोरियाली युवाले भनेको कुरा गुञ्जिरहेको थियो । आज अजय र धनी युरोपियन र पश्चिमी सभ्यताको सङ्घारमा रुसले घरबारविहीनहरूको राज्य खडा गरेको कुरा म त्यहाँ गएर हेरिन भने अरु उसले हेर्छ भन्ने विचार आयो । यदि उनीहरूको उद्देश्य शक्तिशालीहरूको शक्ति र धनीहरूको धनलाई निस्तेज पार्नु हो भने त्यसमा म किन डराउनु ? म किन रिसाउनु ? फेरि हाम्रो बल र धन कति न छ र ? आखिर हामी संसारका भोका र असहाय समूहसँग त सम्बन्धित छौँ ।
यदि वास्तवमै उनीहरू कमजोर आत्मबल बढाउन अगाडि बढेको कुरा सत्य हो भने उनीहरूको साथलाई हामी कसरी अस्वीकार गर्नसक्छौँ ¤ यदि कमजोरहरूको शक्तिलाई एकचोटि झकझकायो भने मानव मुक्ति सम्भव छ भन्ने घोषणा गर्ने समय आएको छ किनभने शक्तिशालीहरूको हतियारले पराकाष्ठा नाघेको छ । लामो कालखण्ड यो पृथ्वीमा धनीहरूको मात्र राज भएको छ, यसले स्वर्गलाई समेत बिटुलिसकेको छ । सौभाग्य र फाइदाहरू समाजको एक पक्षका लागि थुप्रिरहेकोमा आज कमजोरहरूको असहायपन अन्त्य भएको छ र धनीहरूमा अत्यन्त असहायपन छाएको छ ।
ढाकाका कुलीन वर्गका प्रतिवेदनहरूले मेरो मानसपटल घच्घच्याइरह्यो । गरीबहरूमाथि जस्तोसुकै अमानवीय र क्रुरता भए पनि अङ्ग्रेजी पत्रपत्रिकाहरूमा एक शब्द छापिँदैन । बरु कोही गाडी दुर्घटनामा मृत्यु भएमा तुरुन्त समाचार बन्छ । गरीब असहायहरूको जीवन्त र मान विश्वास गर्न नसक्ने गरी मूल्यहीन बनाइएको छ । उनीहरूले कहिल्यै न्याय पाएनन् ।
गरीबहरूको चित्कार संसारको कानमा पुग्नै सकेन । उनीहरूका सबै पहुँचहरू बन्द गरिए । गरीबहरूका विरुद्ध सम्पूर्ण गलत अर्थ लगाउने साधन धनीहरूको पकडमा छ । अचेल यो पनि गम्भीर अपमानको स्रोत बनेको छ किनभने यस्ता झूटहरू संसारभर फैलाइएको छ । झूटा प्रचारका साधनहरूलाई नियन्त्रण गर्न शक्तिशाली देशहरू कमजोरहरूलाई बदनामी र अस्पष्टताको कुहिरोभित्र सीमित राख्न सफल भएका छन् । हिन्दू र मुसलमानले एक अर्काको घाँटी रेटेकाले पनि यस्तो स्थिति आएको हो ।
त्यसो त कुनै समयमा युरोपका विभिन्न समुदायहरूबीच पनि हिंसात्मक कलह भएका थिए । त्यस्ता कलह अहिले युरोपका विभिन्न देशहरूबीच विनाशकारी युद्धमा परिणत भएको छ । यसले झण्डै अन्तर्राष्ट्रिय साम्प्रदायिक ढङ्गकै आदिम आत्मघाती मुख्र्याइँको अवस्था देखाइएको छ । योभन्दा पहिले नै हाम्रो निम्न स्तरको बर्बरताले आफ्नो शिर श्रद्धाले झुकाउनुपर्छ किनभने हाम्रो बुद्धिविहीन अदूरदर्शिता भँडुवाहरूको शिक्षामा मात्र निर्भर छ । जुन शिक्षामा ५ प्रतिशतमात्र जनसङ्ख्या पर्दछ ।
अवहेलनाको प्रमाणितमात्र गर्नु हाम्रो त्रुटि हो । यसको कारणै हटाउनुपर्छ । यसको निराकरण गर्नु नै हाम्रो कमजोरीको सबभन्दा ठूलो सजाय हुन्छ । हाम्रो देशमा पर्याप्त शिक्षाका बाटाहरू बन्द गरिएका छन् किनभने यहाँका कानुन र आदेशले देशको फाइदाको लागि कुनै प्रयास गरेको छैन । मेरो धेरै राष्ट्र सेवामा एउटा कुरा महत्वपूर्ण छ । मेरो जीवनको सम्पूर्ण समय जनताको शिक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि समर्पित गरेको छु । यो समर्पणले गर्दा मैले अधिकारीहरूसँग समन्वय गर्न छोड्ने इच्छा कहिल्यै गरिनँ । मलाई यो कुरा तपाईंलाई यो सफलताको ज्ञान छ भन्ने आशा छ । तर हामीलाई यतिले मात्र पुग्दैन । हामी कमजोर हुनु पनि पापी हुनु हो ।
यसकारण ‘सबैका लागि शिक्षा’ सबैभन्दा ठूलो अभियान हो । त्यसैले मैले त्यहाँ जाने निर्णय गरेँ । कमजोर शरीर बिग्रेर के हुन्छ र ¤ उनीहरूले शिक्षाले मात्र कमजोरहरूलाई बल दिन्छु भन्ने कुरा भलिभाँती महसुस गरेका छन् । खाना, स्वास्थ्य र शान्ति यसैमा निर्भर हुन्छ । कानुन र आदेश बरदान हुनसक्छन् । तर, यो सर्वहाराको लागि फलिफाप हुनुपर्छ । जसले हामीलाई आमूल परिवर्तन गर्दछ ।
आधुनिक हिन्दुस्तानी वातावरणमा हुर्केर ३३० मिलियन जनतालाई शिक्षित पार्न असम्भव छ भन्ने कुराम म विश्वस्त छु । हामीले केही नगरी आफ्नो दुर्भाग्यलाई दोष लगाउनु थियो । जब शिक्षाले रुसमा किसान र मजदुरको तीव्ररूपमा विकास गरिरहेको छ भनेर मैले सुनेँ तब तीनवटा आर (च्) लाई उजागर गरेको मैले सोचेँ । यो पनि सानो सफलता थिएन । हाम्रो देशमा यति भएको भए हामी धन्य र सन्तुष्ट हुन्थ्यौँ । तर, यहाँ शिक्षा भनेकै मानिसको चरित्र बनाउनु हो । कक्षाका भाषणहरूका नोट सारेर एम.ए. पास गर्नु होइन ।
पछि यसका बारेमा व्याख्या गरुँला, आज समय छैन । आज म बर्लिनतिर लागेँ । ३ अक्टोबरको दिन म एट्लान्टिकको यात्रा सुरु गर्दछु । धेरै लामो भन्न नसके पनि केही त अवश्य भन्छु ।
तन र मनले नस्वीकारे पनि म यो सौभाग्य गुमाउन चाहन्नँ । यदि म यो यात्राबाट कुनै सफलता हासिल गर्न सक्षम भएँ भने जीवनका बाँकी दिनमा आनन्दित हुन्छु । यो धर्ती छोड्नुभन्दा अगाडि थोरै भए पनि यो देशको शिक्षाको लागि केही गर्नसके भने यो परियोजना गलत हुन्न होला । कार्य सम्पादन अधुरो छोड्नु भनेको पूर्ण नष्ट पार्नु हो । कसैको तरिका अपूर्ण भयो भने उसको आन्तरिक कमजोरी स्पष्ट हुन्छ । बेवास्ता र तर्क वितर्क हुन्छ र एक अर्कामा दुर्वचन हुन्छ । सहनशीलता केही हदसम्म समृद्धिसँग निर्भर हुन्छ तर जब वास्तविक सफलता देखिन्छ । हामीलाई यस्तो लाग्छ कि यो पैसाले किन्न सकिने वस्तु होइन । यो गरिबी भए पनि उर्वर फसल हुनसक्छ । मसँग कुनै शैक्षिक संस्थाका लागि कहिल्यै नथाक्ने शक्ति, साहस, ज्ञान र त्याग हुन्थ्यो भने म कति सन्तुष्ट हुन्थेँ । जति कम भित्री क्षमता, निष्कपट उत्साह हुन्छ, त्यति नै बढी पैसाको आवश्यकता हुन्छ ।
बर्लिन २८ सेप्टेम्बर, १९३०
म बर्लिन आइपुग्दा तिमीले पठाएका पत्रमध्ये मैले २ वटा प्राप्त गरेँ । पत्रहरू घनघोर वर्षाका बारेमा थिए । मेरो मन शान्ति निकेतन र सालको वनमाथि मडारिएको बादलले दुःखी भएको कुरा व्यक्त गर्न म सान्दर्भिक ठान्दिनँ ।
तर, रुसबाट फर्केर आएपछि त्यहाँको सुुन्दरताको चित्रण अस्पष्ट भएको छ अथवा हराएको छ । म हाम्रा गाउँका किसान वर्गका दुःखमात्र सम्झन्छु । मैले सानैदेखि बङ्गालका गाउँहरूलाई नजिकबाट चिनेको छु । म किसानहरूलाई दिनहुँ भेट्थेँ र तिनीहरूका वेदनाहरू सुन्थेँ । मैले तिनीहरूभन्दा दुःखी मानिसहरू कमैमात्र देखेको छु । ज्ञानको ज्योति समाजको गहिराइसम्म पुग्दैन जहाँ उनीहरू बस्छन् । उनीहरू दुःखले बाँच्नमात्र सकेका छन् । त्यो बेलाका राजनीतिक घटनाका मानिसहरूले गरिब गाउँलेहरूलाई यो देशको नागरिक हुन् भनेर महसुस गरेनन् । एकजना महत्वपूर्ण राजनीतिज्ञले पब्ना सभाहलमा भनेको कुरा म अचेल सम्झन्छु कि यदि साँच्चिकै राजनीतिक विकास भयो भने हाम्रा देशका दलित र पीडितहरूको उद्धार हुन्छ र उनीहरू पनि मानव बन्छन् । उनले आफ्नो वक्तव्य यस्तो घृणित तरिकाले अन्त्य गरे कि हाम्रा देशभक्तहरूले विदेशीहरूको अपुरो देशभक्तिको इतिहासबाट पाठ सिकेका छन् । उनीहरूको आफ्नै जनतामा पनि कुनै सहानुभूति थिएन जो यो समाजका आधार हुन् । यस्तो सोचाइका फाइदाहरू के छन् भने यसले विदेशी शासनको विलाप गर्न सजिलो हुन्छ, यसको बारेमा प्रचार गर्न २ पत्रपत्रिका चलाउन तर जुन क्षणमा कसैले यो गहिरो कुरा बुझ्छ र उनीहरूलाई पहिचान गर्छ उनीहरू कमजोर र महत्वहीन भए तापनि आफ्नो उत्तरदायित्व महसुस गरेर वास्तविक अभियान सुरु हुन्छ ।
त्यो दिनदेखि अत्यधिक पानी पुलमुनिबाट बगेर गयो कति पटक मैले यो कुरा अप्रत्यक्षरूपमा सुनेँ । गाउँलेहरूको कल्याणको लागि पैसा सङ्कलन गरेको भए तापनि राजनीतिज्ञहरूले आफ्नो राजनीतिक बजार विस्तार गर्नेमात्र प्रयोग हुन्छ । समाजका कमजोर जनतामाझ कहिल्यै पुग्दैनन् ।
एक पटकको कुरा हो मैले मेरो डुङ्गा पद्धमाको बलौटे किनारातर्फ आफूलाई साहित्यमा समर्पित गर्न अगाडि बढाएँ । कलमको माध्यमबाट ज्ञानको खानी खन्ने विचार गरेँ । यो मेरो एउटै पेशा थियो । अरु केही गर्न पनि म असक्षम थिएँ तर जब म मानिसहरूलाई राजी गराउन असफल भएँ । जहाँ किसानहरूको गाउँ थियो र स्वराज थियो, यो तुरुन्त सुरु गर्नुपर्ने थियो । मेरो कलमलाई एक छेउमा पन्छाएर भने यो कामको अभिभारा लिउँ न । एउटै व्यक्ति मेरो सङ्कल्पलाई सहयोग गर्न आएको थियो ऊ काली मोहन थियो । उसको शरीर रोगले खेर गएको थियो । उसले शरीरको तापमान दिनको दुईपटक लिन्थ्यो । सबभन्दा ठूलो कुरा उसको नाम प्रहरी कार्यालयमा थियो ।
नेपाली अनुवाद ः भानुभक्त हुमागाई
(बाँकी अर्को शनिबारको अङ्कमा प्रकाशित गरिने छ ।)
Leave a Reply