युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
न्हुछेरत्न बुद्धाचार्य
“कालिदास भनेर कोकिल अरु काला भए तापनि
कुज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि” – महाकवि लक्ष्मीप्रसाद देवकोटा
महाकवि कालिदासको जीवनकालका विषयमा इतिहासकारहरूमा प्रशस्त मतभेद छ । निश्चितरूपमा कसैले पनि किटानीसाथ उल्लेख गर्न सकेका छैनन् । विद्वानहरूले उनको काललाई राजा विक्रमादित्यका कालसँग जोडेर समय निर्धारण गरेका छन् । यसैमा नै सबैको लगभग सहमति कायम भइसकेको छ ।
कालिदास उज्जैन निवासी ब्राह्मणका छोरा थिए । ५÷६ वर्षको उमेरमा उनी बाबु आमाबाट टुहुरिए । एक गोठालोले लगेर उनलाई पाल्यो । बाल्यकालमा कालिदास मूर्ख थिए । उनलाई रुखको हाँगाको टुप्पातिर बसेर फेदतर्फ काट्थेँ भनेर पनि भनिन्छ । उनकै समयमा राजकुमारी विद्योतमा अत्यन्त विदुषी थिइन् । उनीसँग समस्त पण्डितहरू शास्त्रार्थमा पराजित भएका थिए । त्यसैले उनीहरू बदला लिने नियतले उनको विवाह पटमूर्खसँग गराइदिने षड्यन्त्र गर्दै पटमूर्खको खोजीमा हिँडेछन् । जाँदा जाँदै बाटामा ती पण्डितहरूले रुखको टुप्पातर्फ बसेर फेदतर्फ काटिरहेको एक युवक फेला पारेछन् । त्यसपछि योभन्दा मूर्ख अरु हुनैसक्दैन भनी उनीसँग विवाह गराइदिने षड्यन्त्रले ती विदुषीसमक्ष लगेछन् ।
त्यो मूर्ख कालिदास रहेछन् । उनले नबोल्ने व्रत लिएको बताउँदै हातको इसाराबाट शास्त्रार्थ गर्न लगाएछन् ।
विद्योतमाले ‘ईश्वर एक छ भन्ने सङ्केतस्वरुप एउटा औँला देखाउँदा कालिदासले त्यसको अर्थ एउटा आँखा फोडिदिन्छ भनेको हो भनेर दुई औँला देखाए । ती धूर्त पण्डितहरूले त्यसको अर्थ स्वर्ग र नर्क हुन्छन् भन्ने अर्थ लगाई कालिदासको बचाउ गर्दै विदुषीलाई उनीभन्दा कमजोर सावित गराउँदै लगे र यी दुईका बीचमा विवाह गराइदिएर बदला लिए । विद्योतमाले यो वास्तविकता थाहा पाएपछि कालिदासलाई अपमानित गर्दै चन्द्राकार लगाएर (घोक्रयाएर) घरबाट निकाली दिइन् । त्यसबाट लज्जित भएका कालिदास नफर्किने सङ्कल्पका साथ घर छोडे । कालान्तरमा विद्वान भएर घर फर्किए । उनै कालिदास महाकवि बने ।
कालिदासको तर्कना शक्ति ज्यादै सुन्दर थियो । सृङ्गार र करुणरसको वर्णनमा उनी सिद्धहस्त थिए । उनी प्रत्येक काव्योपयोगी सामग्री र काव्यका प्रत्येक अंशलाई ज्यादै कुशलताका साथ सुन्दर बनाइदिन्थे । आफ्नो वर्णनीय विषयहरूको आकृति पाठकहरूका सामु खडा गर्ने शक्ति कालिदासमा थियो ।
त्यस्तो अरु कुनै कविमा पाइँदैन । संस्कृत साहित्यमा मात्र होइन विश्व साहित्यमा महाकवि कालिदासको स्थान अद्वितीय छ ।
कालिदासको महाकाव्यमा पाइने वर्णन छटा तथा उनको गीतिकाव्यमा पाइने सरल करुण र हृदयोदगार संसारको कुनै साहित्यमा पनि पाउन मुश्किल पर्दछ । उनको कवितामा पाइने माधुर्यले सारा संसारकै काव्यप्रेमीहरूलाई मुग्ध पारेको छ । आर्य संस्कृतिलाई साहित्यिक सृङ्गार दिएर समाजसापेक्ष बनाउनमा मुख्य श्रेय उनलाई नै छ । आर्य साहित्यको जर्जर अवस्थामा प्रवाहित हुने उनको साहित्यिक सृङ्गार धारा विश्व चर्चित छ । यसैको आधारमा उनलाई विभिन्न राष्ट्रहरूले ‘विश्व कवि’ सिद्ध गरेका छन् । महाकवि कालिदास ऐश्वर्य दृष्टि पाएका एउटा साहित्यिक आर्य प्रतिभा हुन् ।
कालिदासको ‘रघुवंश’ महाकाव्य उत्कृष्ट थियो । संस्कृत साहित्यको अनमोल रत्न मानिने त्यस महाकाव्यमा कविले जुन आदर्शहरूको सृष्टि गरेका हुन्, ती अन्यत्र त्यस रूपमा पाइँदैन ।
अर्को ‘मेघदूत’ एक खण्डकाव्य हो । मेघलाई दूत बनाएर कुनै निर्वासित यक्षले आफ्नी अलको निवासिनी प्राण बल्लभालाई पठाएको सन्देशलाई कविले मन्द्राकान्ता छन्दमा ढालेर रमणीय काव्यको सृष्टि गरेका छन् । ‘मेघदूत’ काव्य ग्रन्थमा हिमालको वर्णनमा कविले आफ्नो सौन्दर्य सृष्टिको परिचय दिएका हुन् । उनको वर्णनमा यथार्थ एवम् कल्पनाको विचित्र सौन्दर्यको सिर्जना भएको देख्न पाइन्छ ।
कालिदासको ‘कुमार सम्भव’ ज्यादै उत्तम काव्य हो । वास्तवमा कविले यसमा पुरुष र प्रकृतिको संयोगको चित्र देखाएका छन् । सन्ध्याकालको वर्णनको सिलसिलामा कुमार सम्भवका आठौँ सर्गमा पर्ने यो सुन्दर श्लोकमा कविले आफूमा भएको वैज्ञानिक ज्ञानको पनि पूर्ण परिचय दिन खोजेका छन् । कविता यस प्रकारको छ–
सीकर व्यतिकर मरीचिभि दु्ररयत्य वने तथि वस्वति
इन्द्रचाप परिबेण्य शून्यता निर्झरास्तव पितृ ब्रजन्त्यमी
शिवजी, पावर्तीलाई भन्छन्, “तिम्रा पिताका (पहाड) का छहराहरू झरिरहेछन् तर तिमीहरूको पहिलेको जस्तो शोभा छैन । सूर्य अस्ताइसकेको हुनाले ती झरनाहरूका जलकणहरूसँग किरणहरूको सम्पर्क छुट्यो । अतयवः ती झरनाहरू इन्द्र धनुषको परिवेशले शून्य छन् ।”
यी श्लोक महाकवि कालिदासको विलक्षण प्रकृति पर्यवेक्षण शक्तिको द्योतक छ । प्रकृति चित्रण गर्ने अनेकन सुन्दर श्लोकहरुले कालिदासको काव्यमा कैँयौँ सर्गहरू भरिएका छन् ।
कालिदास तत्कालीन युगकवि हुन् । उनको काव्यमा युगबोधको प्रतिबिम्ब पाइन्छ । कालिदासले जन्म लिएको समय भारतको स्वर्णयुग थियो । वास्तवमा कालिदास हिन्दू संस्कृतिका परिपक्व चित्रकार हुन् । कालिदासले हिन्दू संस्कृतिको मात्र चित्राङ्कन गरेका पनि होइनन् ।
उनले मानव जीवनकै सुख, दुःख मिलन, विछोड, प्रेम, इष्र्या आदि विभिन्न भाव विभावहरूलाई आफ्नो काव्यमा र उपयुक्त ढङ्गमा सजाएर राखेका थिए । त्यसैले गेटे, शिलर हर्डर आदि पश्चिमी जगतका प्रसिद्ध विद्वान तथा काव्य पारखीहरूले उनको मुक्तकण्ठले प्रशंसा गरेको कुरा हामीले पाएका छौँ ।
कालिदासको मृत्युको एउटा किवंदन्तीअनुसार कालिदासको ख्याति उनको जीवनकालमै सिंहलद्वीप अर्थात् श्रीलङ्कासम्म फैलिसकेको थियो । सिंहलद्वीपमा राजा कुमार दासको जानकीहरण भन्ने काव्यको कालिदासले निकै प्रशंसा गरेका छन् । कुमार दासले नै स–सम्मान आमन्त्रित गरेकाले कालिदास पनि सिंहलद्वीपमा गएर बसोबास गर्नथालेछन् । राजाको अत्यन्त प्रियपात्र बनेका कालिदासप्रति अरुको इष्र्याको भाव हुनु स्वाभाविकै थियो । त्यहाँ छँदा रसिक कालिदास एक दासीकहाँ आउने जाने गर्दथे । त्यस सुन्दरीप्रति अरु पनि धेरै युवकहरू आशक्त थिए । त्यसैले लङ्काकै ती युवकहरूमध्ये कुनै एकद्वारा कालिदासको हत्या भयो । अझै पनि सिंहलद्वीपको दक्षिणी भागमा महाकवि कालिदासको समाधिस्थल छँदै छ । कालिदासलाई मारेको समाचारले कवि राजा कुमार दासलाई अत्यन्त विह्वल पार्यो रे । उनले पनि कविकै चित्तामा आत्महत्या गरे भन्ने उल्लेख सिंहलद्वीपका अनेक प्राचीन ग्रन्थहरूमा पाइन्छ ।
यसरी विश्व साहित्यको रङ्गमञ्चमा महाकवि कालिदासको प्रथम स्थान छ । उनका काव्यहरूमा पाइने सांस्कृतिक उत्कर्ष नै पश्चिमी विद्वान इतिहासकारहरूको आकर्षण विन्दु हो ।
मेकसम्यूलर, मेककानूल र राइडर आदि विद्वानहरूले अङ्ग्रेजीमा पनि भारतीय संस्कृति साहित्यको इतिहास लेख्नुको मुख्य कारण उनका काव्य तत्वको मन्त्र मुन्धता हुनसक्छ ।
उनले रचना गरेका रचनाहरूमा ‘अभिज्ञान शकुन्तला’ र ‘मेघदूत’ अतुलनीय छन् र विश्वका थुपै्र भाषामा अनुवाद भइसकेका छन् ।
यसरी संस्कृत साहित्यका महाकवि कालिदास एक अतुलनीय प्रतिभावान् पुरुष थिए । साहित्यिक विभूतिको रूपमा सदैव स्मरणीय रहने प्रतिभाशाली महाकवि कालिदास विश्वबन्धु नै हुन् ।
सन्दर्भ सामग्री ः
१. विश्वका कविको जीवनी – शारदाप्रसाद घिमिरे
२. महाकवि कालिदास – टीकाराम अधिकारी
३. विश्वका प्रसिद्ध व्यक्तिहरू – मधुसुदन पण्डित
Leave a Reply