लिबियाका देशभक्त नेता मुअम्मर गद्दाफी
- कार्तिक ६, २०८३
मेरिना शाक्य
आज संसारका स्वाधीन मुलुकहरू साम्राज्यवादी संयुक्त राज्य अमेरिकाबाटै आतङ्कित छन् । साम्राज्यवादी देश अमेरिकाले आफ्नो अधीनमा नबस्ने या आफूले भनेको कुरा नमाने मुलुकमा आर्थिक नाकाबन्दी गरेर देशलाई जनजीवन कष्टकरमात्र होइन आक्रमण गरेर खरानी पार्ने चेतावनी दिन पनि अमेरिका पछि परेन । अहिले पनि दक्षिण कोरिया अफगानिस्तानलगायत दर्जनौँ मुलुकमा सशस्त्र अमेरिकी सेना तैनाथ गरिएका छन् । साम्राज्यवादी अमेरिकाले आफ्नो विचारभन्दा फरकका कुनै पनि देशमा विकास भइरहेको हेर्न नचाहने, विकासमा अवरोध गर्ने, विकासै गरे पनि आन्तरिक कलह या अन्य उपाय अपनाएर कचिङ्गल गर्ने, आन्तरिक द्वन्द्व बढाउने र युद्ध चर्काएर आफ्नो हतियार बेच्ने काम गरिरहेको छ । आक्रमण, नाकाबन्दी र तैनाथ फौजले अमेरिका विश्वमा शान्ति चाहंँदैन या आतङ्कित पार्न चाहन्छ भन्ने स्पष्ट छ ।
अमेरिकाले आफ्नो उद्देश्य पूरा गर्न अनेक षड्यन्त्र गरिरहेको छ । कहीँ आफ्नो फौज राखेर, कहीँ आर्थिक सहयोगको लोभलालच देखाएर र कहीँ उल्काउने काममा अमेरिका पछि परेको छैन । संसारका सबै स्वाधीन र सार्वभौम मुलुकमा शान्ति छाउन दिने हो, देश विकासमा टेवा पु¥याउने हो भने सर्वप्रथम अमेरिकाले शक्तिको होडबाजीको बाटो छोड्नुपर्छ । शक्ति र हातहतियारको उन्मादमा चढेर अरु देशमाथि आक्रमण गर्ने चेतावनी अमेरिकाले छोड्नुपर्छ । अरु राष्ट्रको शान्ति र सुरक्षामा आँच पु¥याउने र ध्वस्त पार्ने देश संयुक्त राज्य अमेरिका नै हो । वास्तवमा विश्वका जनता शान्ति, स्वतन्त्रता र विकास चाहन्छन् । सरकार र जनताको त्यो चाहनामा अमेरिका जहिल्यै बाधक बनिरहेको छ । अहिले पनि विश्वमा तनाव छ, युद्धको खतरा छ । यो युद्धको खतरा अमेरिकाकै कारण भएको हो । विश्वका वामपन्थी, प्रगतिशील र कम्युनिस्ट देशको सरकार र जनतालाई आतङ्कित पार्ने, द्वन्द्व चर्काउने, अरु देशको स्रोत र साधनमा आँखा गाड्ने देशमा अमेरिका एक नम्बरमा पर्छ । यस्तो काममा उसका पिछलग्गू देश र विस्तारवादी देशहरू पनि मुछिएका छन् ।
आज साम्राज्यवादी देशहरूले अन्य मुलुकमा धावा बोल्न, आधिपत्य जमाउन र आन्तरिक द्वन्द्व चर्काएर ती देशलाई कमजोर बनाउने जाल बुनिरहेका छन् । शक्तिशाली देश अमेरिकाले अन्य मुलुकका राष्ट्र प्रमुख तथा जनतालाई धेरै सताए, दुःख कष्ट दिए । स्वाधीन मुलुकका देशले सहेर पनि बसे । अन्याय, दमन, शोषण, दबाब, नाकाबन्दी र आक्रमणको पनि हद हुन्छ । त्यो हद नाघेपछि संसारका जनता चुप लागेर बस्ने छैनन् । संसारका न्यायप्रेमी जनताले अमेरिकी साम्राज्यवादी नीतिको विरोध गर्ने छन् र बाध्य भएर अमेरिकाले साम्राज्यवादी नीति छोड्ने छ । ‘जो आगोसँग खेल्छ आगोमै मर्छ, जो पानीसँग खेल्छ पानीमै मर्छ’ भनेझैँ शक्तिसँग खेल्ने सरकार या सरकार प्रमुख पनि शक्तिकै कारण पतन हुन्छ । साम्राज्यवादी र विस्तारवादी देशले कथित अनुदान र सहयोगको जालो फिजाएर विकासशील देशहरूमा अधिकार जमाई ती देशमा कच्चा पदार्थको लागि आफ्ना स्रोत र आफ्ना उत्पादित वस्तुहरूका बजार बनाइरहेका छन् । आफूले पुस्तौंदेनि अरु देशमा फैलाइरहेको त्यो नङग्रा सधँै नपाउला भन्ने चिन्ता अमेरिकालाई छ । त्यस्तै त्यस्तै चिन्तामा एक दिन अमेरिका डुब्ने छ, अमेरिकी हैकम अन्त्य हुने छ । अहिले साम्राज्यवादी अमेरिकाले त्यही खाडल खनिरहेको छ । साम्राज्यवादीहरूको दशकौँदेखिको यस्तै यस्तै दुष्टकार्यले असंलग्न र विकासशील राष्ट्रहरूले विकास गर्न सकिरहेका छैनन् । स्वाधीन र सार्वभौमिकता देशले समुन्नति प्राप्त गर्न सकिरहेका छैनन् । आफ्ना देशका जनतालाई भोक र गरीबीबाट मुक्त गर्न सकेका छैनन् । यही कारण आज विश्वमा साम्राज्यवादी पक्ष र साम्राज्यवादविरोधी शक्तिहरूबीच वाक्युद्ध भइरहेको छ । विश्वमा आधिपत्य जमाउने, अरु मुलुकलाई आफ्नो बसमा राख्ने मुलुक र स्वाधीन तथा सार्वभौम मुलुकका राष्ट्र प्रमुखहरूको द्वन्द्व बढिरहेको छ ।
असंलग्न र विकासशील देशविरुद्ध निरन्तर गरिरहेको हस्तक्षेप र विध्वंसात्मक कार्यको विरोधमा संसारका न्यायप्रेमी जनता एकजुट हुनुपर्छ । सीमा विवाद निम्त्याउने, एउटा देश र अर्को देशबीचको मित्रता र सम्बन्धमा बाधा हाल्ने र दुश्मनी बढाउने कुटील चालको विरोध गर्नैपर्छ । साम्राज्यवादी देशका यस्ता कुत्सित कार्यको पीडित जनताले विरोध गर्दै छन्, दुष्टले अघि सारेका बाधा र अवरोधको सामना गर्दै अघि बढिरहेका छन् । विश्व शान्तिका वाधक देशका शासकहरूलाई जनतामाझ उदाङ्ग्याउनुपर्छ, छ्यास्नुपर्छ । अतः साम्राज्यवादविरुद्ध लड्नु स्वाधीन देशका जनताको आवश्यकता हो । प्रजग कोरियाका नेता किम इल सङले सन् १९८६ को जून २० मा कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको पोलिटब्युरो र प्रजग कोरियाको केन्द्रीय जनसमितिको संयुक्त बैठकमा त्यसबेलाको अन्तर्राष्ट्रिय परिस्थिति र असंलग्न आन्दोलनलाई अझ बढी सशक्तरूपमा अगाडि बढाउन असंलग्न राष्ट्रहरूले अपनाउनुपर्ने बाटोबारे मन्तव्य दिएका थिए । त्यसबेलाको असंलग्न आन्दोलन साम्राज्यवादविरुद्ध र स्वाधीनताको लागि भएको थियो । किम इल सङले भनेझैँ विश्वव्यापीरूपमा साम्राज्यवादविरोधी मोर्चा गठन गरेर साम्राज्यवादविरुद्धको सङ्घर्षलाई चर्काउनुपर्छ । असंलग्न राष्ट्रहरू र सबै प्रगतिशील मुलुकले साम्राज्यवादी नीतिको मात्र होइन तिनीहरूका गोप्य चाल र दाउपेचहरूप्रति सतर्कता बढाउन जरुरी छ । साम्राज्यवादविरोधी सङ्घर्षलाई कहिले पनि कमजोर पार्नुहुँदैन । विश्वमा साम्राज्यवाद अन्त्य नभएसम्म साम्राज्यवादविरोधी शक्तिहरू निरन्तर लागिरहनुपर्छ र विश्वको न्याय, स्वतन्त्रता र शान्तिको निम्ति लड्नुपर्छ ।
Leave a Reply