पेइचिङ, ५ जुलाई । चीनका राष्ट्रपति सी चिनपिङले शुक्रबार चीन भ्रमणमा रहनुभएका बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई भेट्नुभएको छ ।
भेटमा राष्ट्रपति सीले चीन र बङ्गलादेशबीचको सम्बन्ध मैत्रीपूर्ण भएको बताउनुभयो ।
उहाँले दुई देशबीचको सहकार्यपूर्ण रणनीतिक साझेदारी दुई देश र दुई देशका जनताबीचको साझा हितमा मात्र सीमित नभई एसिया र विश्वको सहकार्यका लागि सहयोगी भएको बताउनुभयो ।
सन् २०१६ मा सीको बङ्गलादेश भ्रमणको क्रममा दुई देशबीच सहकार्यको रणनीतिक साझेदारीमा हस्ताक्षर भएको थियो ।
उहाँले दुई देश, दुई सरकार, व्यवस्थापिका र राजनीतिक दलहरूबीचको उच्चस्तरीय सम्बन्ध विस्तारमा राजनीतिक दिशानिर्देश आवश्यक भएको बताउनुभयो ।
सीले व्यापार, लगानी, उत्पादन क्षमता, ऊर्जा र विद्युत्, यातायात, दूरसञ्चार, पूर्वाधार निर्माण र कृषि क्षेत्रमा चीन र बङ्गलादेशबीच सहकार्य गर्न आवश्यक भएकोमा जोड दिनुभयो ।
दुई देशबीच ‘डिजिटल रेशम मार्ग’ निर्माणमा सहकार्य गर्नुपर्ने विचार राख्नुभयो ।
भेटमा बङ्गलादेशी नेतृ शेख हसिनाले बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानले प्रस्ताव गर्नुभएको राष्ट्रिय शक्ति तथा समृद्धिको ‘सोनार बङ्गला’ सपना साकार पार्न चीनले गर्दै आएको लगातारको समर्थनप्रति आभार व्यक्त गर्नुभयो ।
हसिनाले व्यापार, लगानी, पूर्वाधार, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन र प्रतिआतङ्कवाद आदि विषयमा बङ्गलादेश चीनसँग सहकार्य गर्न उत्सुक रहेको बताउनुभयो ।
चीनको तालियानमा आयोजित १३ औं ग्रीष्मकालीन डाभोस सम्मेलनमा सहभागी हुने सिलसिलामा राष्ट्रपति हसिनाले चीनको औपचारिक भ्रमण गर्नुभएको थियो ।