भर्खरै :

सरकारले नसुनेको कि नसुनेजस्तो गरेको ?

– संविदा अनुरागी
जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्राजस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दासमेत काम सुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलोपटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदै छ । तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन ।
चावहिल–बौद्ध–जोरपाटी–थली–साँखु सडक विस्तारसमेत पूरा नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । यो मार्गको बीचबीचमा १००–२०० मिटर कालोपत्र गरिए पनि अधिकांश भाग हिलाम्य छ । ठाउँ–ठाउँमा बनेका खाडलमा वर्षामा परेको पानी जमेर गाडी हिँड्दा छप्ल्याङ् छप्ल्याङ गरी सडक किनारमा हिँडेका यात्रुको जीउभरि हिलो छ्यापिने गर्छ । घाम लागेका बेला भने धुलोले केही नदेखिने समस्या रहेको छ ।
यस्तै समस्या पर्यटकीय गन्तव्य भक्तपुरबाट नगरकोट जाने सडकमा पनि छ । सडक विस्तार गर्ने भन्दै भएको पिच भत्काएर ग्राभेलिङ्गको नाममा माटो फिलिङ गर्दा र समयमै पिच नगर्दा पानी पर्दा हिलो र घाम लागेको बेलामा धुलो केही नदेखिने अवस्था त्यहाँ पनि रहेको छ । स्थानीय जनताले समस्याबारे पटक–पटक डिभिजन सडक कार्यालयको र ठेकेदारको ध्यानाकर्षण नगराएका पनि होइनन् । सत्तासीन पार्टी नेकपाको शीर्ष नेताको आशीर्वाद प्राप्त ठेकेदारले न जनताको समस्या बुझ्ने चेष्टा गरे न सडक कार्यालय र विभागको औपचारिक चेतावनीको वास्ता गरे । जनताको समस्याबारे वर्तमान सरकारले सुनेको नसुन्यै गरिरहेको छ । प्रधानमन्त्री केपी ओली स्वभावैले र अहिले त उमेरले पनि बहिरा भइसकेका छन् । भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सायद ठेकेदारहरूले टक्रयाएको कमिसनले कान र आँखा टालेका छन् । नत्र जनता प्रश्न गर्न किन बाध्य भइरहेका छन् – यो सरकार बहिरो हो कि बहिरोजस्तै ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *