भर्खरै :

संवेदनाहीन गृहमन्त्री

– संविदा अनुरागी
कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीहरू १ वर्षसम्म पक्राउ पर्न सकेका छैनन् । २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो । निर्मला हत्याकाण्डलाई लिएर वर्षभर नै सरकारको आलोचना भयो । सरकारका गृहमन्त्री रामबहादुर थापाले पटक–पटक संसद्को रोस्टममा उभिएर यसबारे जवाफ दिनुपरेको थियो । हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरका न्यायप्रेमी जनता सडकमा उत्रिए । निर्मला हत्याकाण्डको विरोधमा उठेको आन्दोलनमा एक जनाको मृत्युसमेत भयो । राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा समेत नेपाल सरकारको अक्षमता सावित भएको किशोरी बलात्कारको घटनालाई गृहमन्त्री थापाले भने प्रायः सधैँ हलुका ढङ्गले लिँदै आएका छन् । यस्तैमा मङ्गलबार गृहमन्त्रालयमा वार्षिक समीक्षा कार्यक्रममा ‘निर्मलाका जस्ता घटना भइरहन्छन्’ भनेर दिएको उनले दिएको आपत्तिजनक अभिव्यक्तिले तरङ्ग ल्याएको छ । देशको गृह प्रशासनको नेतृत्वकर्ताको हैसियतमा हत्यारा पत्ता लगाउन नसकेकोमा नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने मन्त्रीले उल्टो बलात्कारजस्ता घटना भइरहन्छन् भनेर अभिव्यक्ति दिनु घोर आपत्तिजनक घटना हो । मन्त्री थापाको संवेदनाहिनताको प्रमाण हो ।
बलात्कारको घटनालाई सामान्यीकरण गर्ने र हत्यारा पत्ता लगाउन नसक्ने सरकारले मानव अधिकारका अन्तर्र्राष्ट्रिय मञ्चहरूमा उपस्थित भएर कसरी नेपालमा मानव अधिकार सुरक्षित छ भन्न सकेको होला ? २१ औँ शताब्दीको सभ्य विश्व समाजले हाम्रा गृहमन्त्रीको अभिव्यक्तिलाई के भन्ला ? शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्ने सरकारका जिम्मेवार मन्त्रीको अभिव्यक्तिलाई पीडित परिवार र अरू हिंसा पीडित महिलाहरूले कसरी सहज ढङ्गले ग्रहण गर्नसक्लान् ? गृहमन्त्रीका यस्ता गैरजिम्मेवार अभिव्यक्तिले निर्मला पन्तका हत्यारा र बलात्कारीको मनोबल बढाउने निश्चित छ र चेलीबेटीहरूको असुरक्षालाई बढाएको छ । त्यतिमात्र होइन, मन्त्री थापा प्रहरी इन्काउन्टरका नाममा भइरहेका हत्याका घटना रोक्नुको सट्टा बचाउमा अभिव्यक्ति दिइरहेका हुन्छन् । सर्लाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु पनि अस्वाभाविक भन्दै प्रतिपक्षी दलले संसदीय छानबिनको माग गरेको छ भने सत्तारुढ दलका सांसदहरूले समेत संसदको राज्य व्यवस्था समितिमा गम्भीर प्रश्न उठाएका छन् । मन्त्री थापाले गृह मन्त्रालय सम्हाले यता देशमा शान्ति सुरक्षाको अवस्था झन्–झन् खस्किरहेको सुरक्षा विश्लेषकहरूको निचोड छ । बलात्कारका घटना भविष्यमा पनि भइरहन्छन् भन्ने अभिव्यक्ति गृहमन्त्रीले सच्याउनुपर्छ, यस्तो आपत्तिजनक अभिव्यक्तिप्रति उनले माफी माग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *