भर्खरै :

मुख्य कुरा वर्गीय दृष्टिकोण नै हो

– दानबहादुर कपाली
विज्ञान र प्रविधि तथा प्रजातान्त्रिक युगमा पनि जातीय भेदभाव अन्त्य नहुनुको कारण सामन्ती व्यवस्थाले गर्दा हो । लामो समयको सामन्तवादी व्यवस्थाले गर्दा अहिले पनि जातीय भेदभाव अन्त्य नभएको हो । गाउँ–गाउँ र बस्ती बस्तीमा नागरिक भावना जगाउन नसकेसम्म, सांस्कृतिक स्तर उठाउन नसकेसम्म जातीय भेदभाव अन्त्य हुने छैन । कम्युनिस्टहरू जातीय राजनीति गर्दैनन् । तल्लो जात भन्दैमा सबै शोषित पीडित हुँदैनन् । ती जनजातिभित्र पनि बेइमान र भ्रष्टाचारी हुन्छन् । त्यही जातभित्र धनी र गरिब हुन्छन् । धनीले गरिबलाई शोषण र दमन गरेका हुन्छन् । किसान भनेर सबै किसान पीडित हुन्छन्, सबै मजदुर पीडित हुन्छन् भन्ने होइन । त्यसकारण कम्युनिस्ट पार्टीले वर्गीय राजनीति अगाडि बढाएको हो । जुनसुकै जनजातिमाथि शोषण, दमन हुन्छ, मिचेर, थिचेर आफूमात्र अघि बढ्छ भने त्यहाँ वर्गको कुरा अवश्य आउँछ । दमन र शोषणका जञ्जिर नचुँडालेसम्म जस्तोसुकै तल्लो जातको व्यक्ति प्रधानमन्त्री र राष्ट्रपति भए पनि त्यो जन्जिर चँुडाल्न सक्दैन । वर्ग मुक्ति भएपछि त्यहाँ जातको कुरा उठ्दैन, उठाउनु पर्दैन । त्यसको अर्थ जातको कुरा गर्नै हुन्न भन्ने होइन । तर, जातको कुरामात्रै गरेर शोषण, दमन, थिचोमिचो अन्त्य हुने छैन ।
साउन ९ गते प्रकाशित लेखक मेखराज परियारले ‘जात व्यवस्था र सङ्घर्ष’ शीर्षकको लेखमा कम्युनिस्टहरू जातको कुरा गर्नै हुन्न, वर्ग मुक्तिको मात्रै कुरा गर्छन् भन्ने आफ्नो दुखेसो पोखे । वैज्ञानिक समाजवादको भ्रामक सपना देखाएर शोषित पीडित वर्ग या समुदायलाई दिग्भ्रमित बनाइराख्ने षड्यन्त्रबाहेक अरू केही होइन भनी उनले शोषित पीडित जनताकै विरोध गरे । वैज्ञानिक समाजवादी व्यवस्थामा शोषक, सामन्त, जमिनदार, भ्रष्टाचारी, कालाबजारीहरूको पक्षपोषण हुँदैन । सामन्ती व्यवस्थामा जातीय व्यवस्था थियो । जातको आधारमा छुवाछूत, भेदभाव हुन्थ्यो, असमान व्यवहार हुन्थ्यो । कम्युनिस्टले त्यस्तो जातीय भेदभावलाई बढावा दिंदैन । तसर्थ कार्ल माक्र्स, लेनिन र माओ त्सेतुङ विचारधाराबाट जनजातिको मुक्ति हुनसक्दैन भन्ने कुरा होइन । जनजातिको तर्फबाट रामवरण यादव राष्ट्रपति भएकै हुन्, सुवास नेवाङ सभामुख भएकै हुन्, मन्त्री र नेताहरू जनजातिका भएकै हुन् । तर, शोषण, दमन, भेदभाव अन्त्य भएन । केपी ओलीको सट्टा अरू कुनै विश्वकर्मा या परियारका प्रम भए पनि जातीय भेदभाव अन्त्य हुँदैन । हरेक जनजातिभित्र पनि एकले अर्काेलाई दमन, शोषण, थिचोमिचो गर्ने भएकोले कम्युनिस्ट पार्टीले वर्गीय मुक्तिको कुरा उठाएको हो । कुनै खस जातिले सरकारको नेतृत्व गरेकोले शोषण, दमन, पक्षपात, अन्याय, अत्याचार भएको होइन । मुख्य कुरा व्यवस्था हो, नीति नियम हो । व्यवस्था, नीति र नियममै उनीहरूको पक्षमा रहेसम्म कसरी जातीय विभेद अन्त्य हुन्छ ? मुख्य कुरा वर्गीय दृष्टिकोण नै हो । कम्युनिस्ट भनिने दल र दलको सरकारले सिद्धान्त र विचार भुलेर पुँजीपति वर्गकै पक्षमा राजनीति गरेकोले बिग्रेको हो । शोषित पीडित जनताको पक्षमा राजनीति नगरेकोले विश्वास घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *