भर्खरै :

संरा अमेरिकी प्रस्ताव टर्कीलाई चित्त बुझेन

अङ्कारा, २५ जुलाई । उत्तरी सिरियामा सुरक्षा क्षेत्र बनाउन संरा अमेरिकाले अघि सारेको प्रस्तावप्रति टर्कीले आपत्ति जनाएको छ ।
टर्कीका विदेशमन्त्री मेभलुट काभुसाग्लुले बुधबार आयोजित पत्रकार भेटघाटमा भन्नुभयो, “संरा अमेरिकाको नयाँ प्रस्ताव हाम्रो लागि चित्तबुझ्दो छैन ।”
टर्कीसँग सिमाना जोडिएको ठाउँमा सुरक्षा क्षेत्र स्थापना गर्ने सम्भावनालगायत सिरियाको विषयमा संरा अमेरिका र टर्कीबीच सोमबार कुराकानी भएलगत्तै टर्कीले यस्तो कुरा सार्वजनिक गरेको हो ।
टर्की र कुर्द सेनाबीच झडप नहोस् भनी त्यस्तो सुरक्षा क्षेत्र बनाउन लागिएको हो ।
टर्कीले सिरियासँग सिमाना जोडिएको क्षेत्रमा आफ्नो सेना तैनाथ गरेपछि दुई देशबीच बैठक बसेको थियो ।
संरा अमेरिकी विदेश सचिव माइक पम्पेओसँगको पछिल्लो छलफलमा आफूलाई सैनिक कारबाही रोक्न आग्रह गरेको र नयाँ सुरक्षा क्षेत्रको प्रस्तावसहित नयाँ टोली पठाएको जानकारी टर्कीका विदेशमन्त्रीले दिनुभयो ।
अमेरिकाका प्रस्तावले ‘सेनाबीच साझा पेट्रोल र साझा क्षेत्रबारे नयाँ विचार’ समावेश भएको तर सुरक्षा क्षेत्रबारे विस्तृत कुरा नआएको, टर्कीले कुर्दिस्तानी मजदुर पार्टीको सिरिया शाखा मान्दै आएको पिपुल्स प्रोटेक्सन युनिटलाई निर्मूलन गर्न र सुरक्षा क्षेत्रको नियन्त्रणबारे कुरा प्रस्ट नभएकोले टर्कीलाई अमेरिकी प्रस्ताव चित्त बुझ्दो नभएको विदेशमन्त्रीको भनाइ थियो ।
संरा अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध प्रभावकारी तरिकाले लडेको हुनाले पिपुल्स प्रोटेक्सन युनिटलाई सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *