भर्खरै :

चालीस लाखभन्दा बढी बेलायतीहरू अति गरिबीमा

लण्डन, जुलाई ३० (प्रेन्सा ल्याटिना) बेलायतका झण्डै ४५ लाख जनता अति निर्धन स्थितिमा बाँचिरहेको एक अध्ययनले देखाएको छ ।
बेलायतको राजधानी लण्डनस्थित एक आर्थिक सर्वेक्षण संस्था लेगाटम इन्स्टिच्युटले नेतृत्व गरेको एक आयोगले हालै गरेको अध्ययन प्रतिवेदनअनुसार त्यस देशको कूल जनसङ्ख्याको ७ प्रतिशत मानिस अति गरिबीको अवस्थामा रहेका छन् । तिनीहरूमध्ये धेरैजसो अल्पसङ्ख्यक समुदाय, बालबालिका, एकल आमा वा बुबाका केटाकेटी, अवकाश प्राप्त मजदुरहरू र अपाङ्ग तथा अशक्तहरू भएको अध्ययनले देखाएको छ । उक्त अनुसन्धानले २३ लाख बालबालिकासहित अरु ७० लाख मानिसहरू निरन्तररुपमा सामान्य गरिबीमा रहेको पनि पत्ता लागेको छ ।
द गार्डियन समाचारपत्रका अनुसार उक्त प्रतिवेदनले लामो समय अघिदेखिका गरिबीसम्बन्धी समाचारहरूलाई आधिकारिकरुपमा पुष्टि गरेको र त्यसले सरकारको कटौतीको नीतिले समस्या वृद्धिमा योगदान गरेको देखाउँछ । उक्त अखबारले नयाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसनसित यस लज्जास्पद स्थिति अन्त्यका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।
उक्त प्रतिवेदनले तीन वा तीनभन्दा बढी केटाकेटी भएका परिवार गरिबीमा पुग्ने सबभन्दा जोखिम समूहमा पर्छन् र रोजगार सुरक्षाको सुनिश्चितताको कमीले गरिबीमा वृद्धि गरेको छ ।
त्यस्तै गरिबीको अवस्थामा रहेका मध्ये ५४ प्रतिशत बालबालिका घरका वयस्कहरू रोजगारमा रहे पनि गरिबीमै रहेको अध्ययनले स्पष्ट पारेको छ ।
बेरोजगार बनेकाहरूसितत सडकमा बसी माग्ने र फुटपाथमा रात कटाउनेबाहेक विकल्प नभएको र त्यस्ताको सङख्या दिनप्रतिदिन बढिरहेको अध्ययनले ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *