भर्खरै :

देश र जनताको सेवा नै हाम्रो उद्देश्य

भक्तपुर, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा सङ्घको ५१ औँ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय किसानहरूको मङ्गलबार भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वर्गीय समाजमा वर्गसङ्घर्ष हुन्छ, कामदार वर्गलाई समाजवादी शिक्षा आवश्यक छ, किसानहरूबीच पनि वर्ग रहने भएकोले गरिब कामदार किसानहरू राजनैतिकरूपले सचेत र सङ्गठित हुनुपर्छ, यस्ता काम पुँजीवादी पार्टीहरूले गर्दैनन् भन्नुभयो ।
देशका शासक दलहरू ठेकेदार, तस्कर, गुण्डा र भ्रष्टाचारीहरूलाई हातमा लिएर तिनीहरूकै इसारामा लागिरहेको उल्लेख गर्दै उहाँले साँच्चै वर्तमान सरकार कम्युनिस्ट भएको भए अपराधीहरूलाई जेलको कठघरामा राख्थ्यो भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “यो सरकार पुँजीपति र आपराधिक व्यक्तिहरूको सञ्चालक समिति हो । किसानहरूले अरूलाई अप्ठ्यारो पार्ने काम गर्नुहुन्न । हामीमा नागरिक भावना हुनुपर्छ । हाम्रो जीवनको उद्देश्य नै देश र जनताको सेवा हो । ”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सृजना सैंजूले अग्रज किसान कायकर्ताहरूको त्याग, सङ्घर्षशील भावना र प्रेरणाले आज नयाँ पुस्ता देश र जनताको सेवामा लागिरहेको बताउनुभयो ।
कृषकहरूको आर्थिक अवस्था राम्रो नभएसम्म देश विकास नहुने औँल्याउँदै उहाँले भन्नुभयो, “कृषिमा आत्मनिर्भर गर्न देशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्छ । शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्छ । जबसम्म विदेशको भरपर्छ तबसम्म देश अगाडि बढ्न सक्दैन ।”
उहाँले शासक दलको भ्रष्ट मनस्थितिकै कारण सरकारले देशका उद्योग, कलकारखाना र उत्पादनका स्रोत साधनहरू विदेशीलाई सुम्पेको हो भन्नुभयो ।
नेमकिपा जिल्ला समिति भक्तपुरका पूर्वअध्यक्ष हिमालयश्वरलाल मूलले विश्वको इतिहासमा किसान सङ्घर्ष, विद्रोह, आन्दोलनबाट सिकेर नै नेमकिपाका अग्रजहरूले भक्तपुरमा किसान सङ्घर्ष अगाडि बढएको हो, नेमकिपा स्थापनाको मूल जग नै किसान सङ्घर्ष हो भन्नुभयो । उहाँले नेमकिपाकै अग्रजहरूको सङ्घर्षले नै आज किसानहरूले अधिकार पाएका हुन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाका जिल्ला सदस्य पाण्डव सुवाल, उपेन्द्र सुवाल, नारायणभक्त न्हेम्हाफुकी र गंगाराम ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *