ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
प्रहरी प्रधानकार्यालयको एक तथ्याङ्कले देशभर लागूऔषधको ओसारपसार र दुव्र्यसनी बढेको छ । सार्वजनिक तथ्याड्ढअनुसार वार्षिक एघार प्रतिशतको दरले लागूऔषध प्रयोगकर्ताको वृद्धि भएको छ । स्वभावतः लागूऔषध प्रयोगकर्ता अधिकांश युवाहरू छन् । युवाहरूबीच बढ्दो लागूऔषध प्रयोग बढ्नु देशको भविष्यको लागि चिन्ताको विषय हो । लागूऔषध बढेको देशमा उत्पादनशील जनशक्तिमा क्षयीकरण हुने गर्दछ । उत्पादनशीलता ¥हास भएको देशमा आर्थिक समृद्धि र विकास सम्भव हुँदैन । यसले देशलाई क्रमशः परनिर्भर बनाउँछ र देशको अर्थतन्त्रलाई क्षीण बनाउँछ ।
विश्व इतिहास अध्ययन गर्दा लागूऔषधले देशको सार्वभौमिकतासमेत गुमेका दृष्टान्त मनग्य छन् । छिमेकी देश चीन सन् १८४० मा बेलायती उपनिवेशवादको चङ्गुलमा पर्नुको मूल कारण अफिम थियो । भारत र म्यानमारका विभिन्न क्षेत्रमा अफिम उत्पादन गरी चीनमा व्यापार गर्ने बेलायती व्यापारीहरूले अन्ततः शक्तिशाली चिनियाँ साम्राज्यलाई समेत असिनपसिन बनाएका थिए । अफिम युद्धबाट विदेशी उपनिवेश बनेको चीन मुक्त हुन एक शताब्दीभन्दा बढी लागेको थियो ।
नेपालमा बढ्दो लागूऔषध दुव्यर्सनीप्रति राज्य र नेपाली समाज समयमै सजग हुन नसके चीनजस्तै कुनै देशको प्रत्यक्ष उपनिवेश नबने पनि नवउपनिवेश बन्ने सम्भावनालाई नकार्न सकिन्न । आयात वृद्धि हुने तर निर्यात कम हुँदै जानुलाई नै देश गरिब भएको मानिन्छ । देशका युवा लागूऔषध दुव्यर्सनीमा फस्दै जाँदा सम्भवतः देशको उत्पादन ओरालो लाग्छ । देशसँग विदेशमा निर्यात गर्न केही हुँदैन । अनि हरेक कुरा विदेशबाट आयात गर्नुपर्दा देश क्रमशः नवउपनिवेश बन्दै जान्छ । व्यापार घाटा बढी भएको देशले देशलाई क्रमशः नवउपनिवेशको व्यवहार गर्छ । अर्थतन्त्रको स्वाभाविक प्रभाव राजनीतिमा पर्दछ ।
नेपालमा लागूऔषध दुव्यर्सनी बढ्नुको मूल कारण भारतसँगको खुला सिमानाबाट हुने ओसारपसार भएको प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । भारतसँगको खुला सिमानाका कारण नेपाललाई लाभभन्दा निकै गुणा बढी बेफाइदा छ । यस्तै एउटा बेफाइदा लागूऔषधको ओसारपसार हो । यसको प्रभावकारी समाधान भनेको भारतसँगको खुला सिमाना नियमित गर्नु हो । भारतका लागूऔषध व्यापारीले नेपाललाई राम्रो बजार बनाउँदै आएका छन् । उनीहरूले नेपाली युवाहरूलाई नै आफ्नो निशाना बनाउने गरेका छन् । युवाहरूलाई लागूऔषधको दुव्यर्सनी बनाउँदा भारतलाई आर्थिकरूपमा फाइदा त छँदै छ, राजनीतिकरूपमा समेत फाइदा छ ।
नेपालको युवा शक्ति कमजोर र अनुत्पादक बन्दा त्यसले भारतलाई नै फाइदा हुन्छ । नेपाली बजारसँग प्रत्यक्ष र व्यापक मात्राको सम्बन्ध भारतीय अर्थतन्त्रसँग जोडिएको छ । नेपाली अर्थतन्त्रलाई जीवन्त र समृद्ध बनाउने आधार भनेका नेपाली युवा हुन् । ती युवाहरू नै लागूऔषधको मोहजालमा फस्दै गर्दा त्यसको प्रत्यक्ष फाइदा भारतीय पुँजीलाई हुने हो ।
सरकारले लागूऔषध ओसारपसार र दुव्यर्सनी नियन्त्रणको विषयमा समयमै प्रभावकारी कदम चाल्न जरुरी छ । थोरैमात्र विलम्ब भए यसले कालान्तरमा ठूलो रोगको रूप लिनसक्ने कुरा नेपालले ल्याटिन अमेरिकी देशहरूबाट सिक्न जरुरी छ । मेक्सिकोजस्तो देशले आज लागूऔषधका कारण भोग्नुपरेको भयावह अवस्था नेपालमा हुन नदिन सरकारले तदारुकता लिन ढिलो गर्नुहुन्न । अधिकांश युवा या त विदेशमा हुने या लागूऔषधको दुव्यर्सनी हुने अवस्थाले देश कसरी विकास हुनसक्ला र ? आर्थिक समृद्धि र विकासको आधार कसरी तयार होला र ?
Leave a Reply