भर्खरै :

काश्मीरमा भारतविरोधी ठूलो आन्दोलन उठ्न खोज्दै

काठमाडौं, २६ साउन । भारत सरकारले झन्डै ७० वर्षसम्म कायम रहेको विशेष संवैधानिक हैसियत खारेज गरिदिएपछि सोमबार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ । श्रीनगरस्थित बीबीसी सम्वाददाताका अनुसार कश्मीर क्षेत्रका जनता धोका पाएको तीतो अनुभूति गरिरहेका छन् र भित्रभित्रै आक्रोशित छन् ।
बन्दुक बोकेका हजारौँ सुरक्षा फौजले रित्ता चोकहरूमा गस्ती गरिरहेका छन् र सडकमा तेस्र्यायाइएका अवरोधहरूमा धारिला तार बाँधिएका छन् । मानिसहरू आफ्ना घरभित्रै बन्द छन् ।
करिब एक हप्ता अघिदेखि काश्मीरका दुईजना पूर्वमूख्यमन्त्रीहरू ओमर अब्दुल्ला र मेहबुबा मुफ्तीलाई थुनामा राखिएका छन् । सयौँ अभियानकर्मी, व्यापारी र प्राध्यापकहरूलाई पनि अस्थायी बन्दी गृहहरूमा राखिएका छन् । कश्मीरी जनता आफूहरूलाई खुला जेलमा राखिएको अनुभूति गरिरहेका छन् । उनीहरू भन्छन्, काश्मीरीहरूको आवाज दबाइदैँ छ र उनीहरू आफ्नो आवाज सुनियोस् भन्ने चाहन्छन् ।
प्रायः काश्मिरीहरूको विचारमा लामो समयदेखि काश्मीर र भारतबीचको सम्बन्ध असहज रहँदै आएको थियो तर त्यो विशेष हैसियतले दुवैलाई जोडेर राखेको थियो । उनी भन्छन्, “त्यसलाई खारेज गरिदिएर उनीहरूले हाम्रो परिचय खोसिदिएका छन् । यो काश्मिरीहरूलाई मान्य छैन ।”
काश्मीरका अधिकांश मानिसहरू भारत सरकारले आफ्नो आदेश फिर्ता गरेर काश्मीरको विशेष हैसियत कायम गर्ने भन्दा तलको अन्य कुनै कुरा आफूलाई मान्य नहुने बताइरहेका छन् ।
काश्मीरमा सेना र प्रहरी गरी लाखौँ सुरक्षाकर्मीहरूले पहरा दिइरहेका छन् । अघिल्लो महिनाको सुरूमा भारत सरकारले उक्त क्षेत्रमा ३५ हजार थप फौज पठाएको थियो । भारत र पाकिस्तानबीचको विवादित भूमी रहेका कारण काश्मीर पहिल्यैदेखि विश्वकै सबैभन्दा बढी सैनिक उपस्थिति भएको क्षेत्र रहेको छ ।
भारतीय सञ्चारमाध्यमहरूले ‘उग्रवादको केन्द्र’ भनेर व्याख्या गर्ने काश्मीरको सोफियाँ गएर राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चोकमा एउटा समूहसँग खाना खाइरहेको भीडीओ भारतीय टेलिभिजन च्यानलहरूमा बुधबार
प्रचार गरिएको थियो । त्यो विश्वलाई काश्मीरको सबैभन्दा अप्ठेरो क्षेत्रमा पनि भारत सरकारलाई लोकप्रिय समर्थन छ र त्यहाँ शान्ति र अमनचयन कायम छ भन्ने देखाउने प्रयास थियो ।
तर, काश्मिरीहरूले त्यसलाई नौटङ्की भन्दै खारेज गरिदिएका छन् । काश्मिरीहरूको प्रश्न छ, “यदि मानिसहरू खुसी छन् भने किन कफ्र्यु लगाइयो, किन सञ्चार बन्द गरिएको छ ?’’
कतिपय भारतीय सञ्चारमाध्यमले अहिलेसम्म काश्मीर उपत्यकामा ठूला प्रदर्शन नभएको भन्दै मानिसहरूले भारत सरकारको निर्णय स्वीकार गरेको अर्थ लगाइरहेका छन् । तर, बीबीसीकी सम्वाददाता अहिलेको शान्तिलाई सुनामी आउनुअघिको सन्नाताजत्तिकै भएको बताउँछिन् ।
निषेधाज्ञा हटेपछि प्रदर्शनकारीहरू सडकमा जम्मा हुने र सबै काश्मिरीले त्यसमा साथ दिने मानसिकता राखेर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *