अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
चीनको विशेष स्वशासित क्षेत्र हङकङमा एउटा सुपुर्दगी कानुनको विषयलाई लिएर केही महिनाबाट थालनी भएको प्रदर्शन अहिले उत्कर्षमा पुगेको छ । पछिल्लो जानकारीअनुुसार प्रदर्शनकारीहरूले हङकङ विमानस्थलभित्रै बसेर उडान प्रभावित बनाइरहेका छन् । हङकङमा भइरहेको यो प्रदर्शनलाई पश्चिमा सञ्चारमाध्यमले प्रजातन्त्रको पक्षमा उठेको शान्तिपूर्ण आन्दोलन भनी प्रचार गरिरहेका छन् । तर, चीन सरकार र हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारले भने जारी प्रदर्शन शान्तिपूर्ण नभएको र प्रजातन्त्रको पक्षधर पनि नभएको प्रस्ट्याउँदै आएका छन् । पश्चिमा सञ्चारमाध्यमले चीनको विषयमा यसप्रकार समाचार बङ्ग्याएर प्रस्तुत गर्नु कुनै नयाँ कुरा होइन । चीनको मानव अधिकार अवस्था, तिब्बत, सिन्च्याङ आदि मुद्दामा पश्चिमा सञ्चारमाध्यमले या त झूटा समाचार प्रचार गर्ने गरेका छन् अथवा पूर्वाग्रहग्रस्त खबर दिंदै आएका छन् ।
हङकङमा भइरहेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले प्रहरीमाथि सशस्त्र हमला गर्ने गरेका छन् । प्रजातन्त्रको वकालत गर्ने भनिएका प्रदर्शनकारीहरूले उनीहरूको आन्दोलनप्रति विमति राख्ने सर्वसाधारण नागरिकमाथि समेत हमला गर्ने गरेका छन् । प्रदर्शनकारीहरूले सडक, रेल र हवाई यातायात सेवा ठप्प बनाएर संसारकै आर्थिक सहर मानिएको हङकङको व्यापारलाई मात्र प्रभावित बनाएका छैनन्, बरु सर्वसाधारण जनता, पर्यटकसमेतको जीवनमा नकारात्मक प्रभाव पारिरहेका छन् ।
हङकङ चीनको अभिन्न भूखण्ड हो । हङकङमा चीनको सार्वभौमिकता लागू हुन्छ । कुनै बेला बेलायती नियन्त्रणमा रहेको हङकङ सन् १९९७ को जुलाई १ देखि चीनलाई फिर्ता भएको हो । ‘एक देश दुई व्यवस्था’ को सिद्धान्तअनुसार नै हङकङमा चीनको सार्वभौमिकता लागू हुँदै आएको हो । तर, पछिल्लो समय प्रदर्शनकारीहरूले चीनको झन्डामाथि हमला गर्ने र चीनको विरोधमा नाराबाजी गर्नेजस्ता गतिविधिले हङकङको प्रदर्शनलाई कुनै एउटा कानुनप्रतिको विमतिका कारण उठेको आन्दोलन मान्न सकिन्न ।
हङकङमा भएको प्रदर्शनको पश्चिमा देशका नेताहरूले खुलेर समर्थन गरिरहेका छन् । वास्तवमा उनीहरूले चीनमा अस्थिरताको लागि प्रदर्शनकारीहरूलाई उक्साइरहेका छन् । उनीहरू प्रदर्शनकारीमाथि दमन भएको भन्दै दिउँसै अँध्यारो बनाउने झूट बोलिरहेका छन् । वास्तवमा हङकङ प्रहरीले अहिलेसम्म प्रदर्शनकारीमाथि निकै संयमका साथ व्यवहार गरिरहेका छन् । आफैँले पिटाइ खाएर पनि उनीहरूले आन्दोलनकारीप्रति असहिष्णुता देखाएका छैनन् । पश्चिमा सञ्चारले त्यहाँ भएका घटनालाई बङ्ग्याएर, श्रव्यदृश्यलाई आफ्नो अनुकूलतामा काटकुट गरेर संसारलाई भ्रम बेचिरहेका छन् ।
तिनै पश्चिमा सञ्चारमाध्यमका खबरलाई नै सही मान्दै नेपालका सञ्चारमाध्यमले पनि पश्चिमा भनाइकै प्रचारप्रसार गरिरहेका छन् । पश्चिमा सञ्चारमाध्यमलाई पछ्याउने क्रममा नेपालका ठूला भनिएको सञ्चारमाध्यमले प्रजातन्त्रको पक्षमा हुने आन्दोलन कस्तो हुन्छ र हिंसात्मक आन्दोलन कस्तो हुन्छ भन्ने कुरा छुट्याउने क्षमतासमेत गुमाइसकेका छन् ।
हङकङका जनताले आफ्नो ठाउँमा साँच्चै प्रजातन्त्रको लागि यो सङ्घर्ष गरिरहेका हुन् भने उनीहरूले प्रदर्शनमा संरा अमेरिकाको झन्डा फहराउनुको के अर्थ छ ? यो प्रदर्शको पश्र्वभागमा को छ भन्ने कुरा के प्रदर्शनमा फहरिएका संरा अमेरिकी झन्डा मनग्य छैन र ? अमेरिकी सभामुख पोलेसीदेखि अन्य सिनेटरहरूको समर्थनको लहर र बेलायती नेताहरूको ऐक्यबद्धताले के यो प्रदर्शन प्रजातन्त्रको पक्षमा हो वा कुनै विदेशी शक्तिले चीनलाई बाँध्न प्रयोग गरेको रणनीति हो भन्ने कुरा बुझ्न मनग्य छैन ? नेपाली सञ्चारमाध्यमले पश्चिमा सञ्चारमाध्यमका भनाइकै पछाडि दौडिने पराधीनता त्याग्ने बेला भएन र ?
Leave a Reply