भर्खरै :

नेकपाको द्वैधचरित्र कहिलेसम्म ?

– दीनबन्धु केसी
एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) साँच्चै कम्युनिस्ट पार्टी हो कि होइन भन्नेबारे अरू कम्युनिस्ट पार्टी र राजनीतिक विश्लेषकहरूले टिप्पणी र विश्लेषण गर्नु अस्वाभाविक होइन । अरू कुनै पनि कम्युनिस्ट पार्टी र वामपन्थी दलले त्यस पार्टीलाई कम्युनिस्ट पार्टी भनेनन्, भन्न चाहँदैनन् । सरकारको नेतृत्व गरिरहेको नेकपा नाउँले कम्युनिस्ट पार्टी भए पनि व्यवहारतः कम्युनिस्ट पार्टी होइन भन्ने उनीहरूको दाबी हो । नेकपा कम्युनिस्ट पार्टीको खोल ओढेर पुँजीपति वर्गको सेवा गरिरहेको पार्टी हो ।
एमाले र माओवादी केन्द्रको एकतापछि पार्टीको नाउँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको छ । दलको पथप्रदर्शक या सैद्धान्तिक आधार माक्र्सवाद – लेनिनवाद मानिएको छ । माक्र्सवाद लेनिनवादको एउटा मान्यता वर्गसङ्घर्ष हो । पुँजीवादी संसदीय व्यवस्थाबाट आमूल परिवर्तन सम्भव छैन भन्ने कम्युनिस्टहरूको मान्यता हो । पुँजीवादी सरकारको नेतृत्व गरेर कुनै पनि दलको सरकारले वर्गसङ्घर्ष गर्दैन । वर्गसङ्घर्षबिना आमूल परिवर्तन सम्भव छैन । कुनै राष्ट्रप्रमुख, प्रधानमन्त्री या सत्तारुढ दलका नेताहरूले घाँटी फुलाएर भाषण गर्दैमा, धर्ती थर्काउँदैमा मुलुक समृद्ध बन्दैन, समाजवादी क्रान्तिको आधार तयार हुँदैन । पद र पैसाको लागि सिद्धान्त र विचारको कुनै मतलब नराखी आफ्नै नेताहरूको टाउकोको मूल्य तोक्ने नेकासँग समेत घाँटी जोड्ने नेताहरूले कसरी समाजवादी क्रान्ति गर्छन् ? समाजवादी क्रान्तिको आधार तयार गर्ने हो भने नेकपाले सरकार छोड्नुपर्छ, सरकार छोडेर गाउँ–गाउँ र बस्ती–बस्तीका जनतामाझ सङ्गठन गर्नुपर्छ, जनतालाई सैद्धान्तिक, वैचारिक र सांस्कृतिकरूपले तयार गर्नुपर्छ, कम्युनिस्ट बनाउनुपर्छ । तर अहिलेको स्थिति हेर्दा नेकपाले सरकार छोड्दैन, छोड्ने आँट गर्दैन । छिनछिनमा विचार फेर्ने पूर्वमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त एकचोटि ५० वर्षसम्म ‘कम्युनिस्ट’को शासन गर्ने बताए ।
समाजवादी क्रान्ति गर्ने दलका नेताहरूमा कम्युनिस्टको चरित्र र गुण नै देखिंदैन । कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम भइरहेको देखिंदैन । सरकार बाहिर रहँदा कम्युनिस्टको सिद्धान्त र विचार नपोख्ने दलले सरकारको नेतृत्व गरेर आमूल परिवर्तन गर्ला ? कम्युनिस्टको सिद्धान्त र विचार बन्धक राखेको दलले पनि वर्गसङ्घर्ष गर्ला ? एमाले र माओवादी केन्द्रले त कम्युनिस्टको भजन गाएर जनतालाई सरकारको नेतृत्व गर्ने भ¥याङ पो बनाएका छन् । उनीहरू एकातिर हाल बनेको पुँजीवादी संविधानभन्दा बाहिर गएर एक इञ्च पनि काम नगर्ने बताउँछन् भने अर्काेतिर समाजवादी क्रान्तिको जग तयार गर्ने कुरा गरेर जनतालाई आश्वस्त बनाउँछन् । के यो सत्तारुढ दलका नेताहरूको द्वैधचरित्र होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *