भर्खरै :

गाईजात्रालाई आलोचनाको स्वतन्त्रताको रूपमा मनाऔँ

– संवेग नेवा
यस वर्षको गाईजात्रा सङ्घारमै आएको छ । हरेक वर्ष भाद्र कृष्णपक्षको प्रतिपदा तिथि अर्थात् जनैपूर्णिमाको भोलिपल्टको दिन गाईजात्रा मनाउने परम्परा छ । गाईजात्राको मुख्य दिन प्रतिपदादेखि अष्टमीसम्म विभिन्न नाम र स्वरुपमा गाईजात्रा मनाउने प्रचलन छ । ठाउँअनुसार गाईजात्रा (सापारु) लाई कतै रोपाइँ जात्रा र कतै हिलेजात्रा भन्ने प्रचलन पनि छ । जे नाममा र जसरी गाईजात्रा मनाए पनि तिनको एउटै साझा विशेषता भनेको सहभागी र दर्शकलाई मनोरञ्जन तथा विभिन्न सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्नु हो ।
गाईजात्रा कहिलेदेखि सुरु भयो र कुन राजाले चलाए भन्नेबारे इतिहासविद्हरूबीच मतैक्यता छैन तर यो काठमाडौँ उपत्यकाभित्रको मध्यकालीन नेपाल राज्यबाट सुरु भएकोमा विवाद छैन । गाईजात्रा काठमाडौँ उपत्यकाका तीन सहरमा बाहेक देशका विभिन्न सहर बजारमा मनाउने गरेको पाइन्छ । गाईजात्रा विशेषगरी धार्मिक विश्वासको आधारमा थालिएको र चलाउँदै आएको भए पनि यो जात्रा मनोरञ्जनात्मक र आलोचनाको स्वतन्त्रताको दिनको रूपमा पनि लिन सकिन्छ । गाईजात्रा, रोपाइँ जात्रा वा हिले जात्रामा समाजका उच्चपदस्थदेखि सामान्य नागरिकमा देखिएका गलत प्रवृत्तिप्रति आलोचना वा व्यङ्ग्य गर्ने गरिन्छ । हुन त समय र परिवेशअनुसार आलोचना चेत र व्यङ्ग्यमा पनि परिवर्तन हुँदै आएको छ । कुनै जमानामा प्रेम सम्बन्ध वा स्त्री पुरुषबीचको विवाहेतर सम्बन्ध बढीजसो व्यङ्ग्यको विषय बन्थ्यो । त्यस्तै लोभलालच, मूर्खता आदि आलोचना वा व्यङ्ग्यका विषय बन्थे ।
नेपाली जनतामा राजनीतिक चेतनास्तरको वृद्धिसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक घटना र पात्रहरूसमेत गाईजात्रामा व्यङ्ग्यको विषय बन्दै आएका छन् । हिजोआज केही मानिसहरू संस्कृतिको नाममा गाईजात्रामा सस्तो मनोरञ्जन र बाजाको तालविपरीत अर्थ न बर्थ चिच्याएर उफ्रनु नै जात्रा भएको ठान्ने गर्छन् । नेपालमा प्रजातन्त्र आइसकेपछि वाक् स्वतन्त्रता मिलेको छ । तर, पनि गलत नीति निर्णय गर्न र निमुखा जनताप्रति अन्याय हुन छोडेको छैन ।
त्यसैले आलोचनाको स्वतन्त्रता प्राप्तिको प्रतीकको रुपमा रहेको सापारु अर्थात् गाईजात्रालाई त्यसैअनुरुप मनाऔँ, अन्यायको विरोध गरौँ, देश र समाजका विकृति र विसङ्गतिप्रति चोटिलो व्यङ्ग्य प्रहार गरौँ । आफ्ना गल्ती कमजोरी मनन गरेर आफू पनि सचिऔँ र अरुलाई पनि सचेत पारौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *