भर्खरै :

दीक्षितप्रति श्रद्धाञ्जली

नेपाली पत्रकारिताका पहिलो पुस्ताका व्यक्तित्व एवम् विद्वान मदनमणि दीक्षितको बिहीबार निधन भयो । नेपालको बौद्धिक क्षेत्रमा जीवनभर योगदान पु¥याउनुभएका एक विशिष्ट व्यक्ति संसारबाट बिदा हुनुभयो । कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलनमा सामेल हुनुभएका दीक्षित तराईमा भएका किसान आन्दोलनमा सहभागी बन्नुभयो । सोभियत सङ्घमा संशोधनवादी नेतृत्वको दुष्प्रभाव नेपालको कम्युनिस्ट आन्दोलनमा पनि प¥यो । संशोधनवादी नेतृत्वले पञ्चायती व्यवस्थासँग मिल्ने नीति अङ्गालेसँगै तराईमा उठेको किसान आन्दोलन पनि क्रमशः शिथिल बन्दै गयो । नेपाल कम्युनिस्ट पार्टीका नेता दीक्षित आन्दोलनको धार त्यागेर पत्रकारितामा लाग्नुभयो । पञ्चायतकालीन निरङ्कुशताको समयमा उहाँले ‘समीक्षा’ साप्ताहिक पत्रिका सञ्चालन गर्नुभयो । नेपाली पत्रकारिताको इतिहासमा ‘हालखबर’ को आफ्नै उचाइ र महत्व थियो ।
पञ्चायती व्यवस्थाले गरेको दुव्र्यवहारको विरोधमा दीक्षितले आत्मदाहको घोषणा गर्नुभयो । तर, पञ्चायतको असहिष्णुतालाई बुझेर उहाँले आत्मदाहको निर्णयलाई रचनात्मक बनाउने निर्णय गर्नुभयो । आत्मदाह गर्नुको सट्टा उहाँ उपन्यास लेख्ने निधोमा पुग्नुभयो । त्यसैको परिणाम हो– दीक्षितको विख्यात उपन्यास ‘माधवी’ । नेपाली पत्रकारितामा लगातार योगदान गर्दै आउनुभएका दीक्षितले नेपाली साहित्यलाई पनि उदाहरणीय योगदान गर्नुभयो । विशेषतः वैदिक विषयवस्तुमा आधारित उहाँका कैयौँ पुस्तक नेपाली साहित्यका अमूल्य निधि बनेका छन् ।
पत्रकारिताको पृष्ठभूमिका कारण उहाँले निकै पछि देशका विभिन्न पत्रपत्रिकामा कलम चलाइरहनुभयो । समसामयिक विषयप्रति आफ्नो धारणा लेखेर जनतासँग आफ्नो संवाद गरेर उहाँले नेपाली समाजको दृष्टिकोण निर्माणमा टेवा पु¥याउनुभयो ।
‘जीवनका गोरेटा’ नामको उहाँको आत्मसंस्मरणात्मक कृतिमा जीवनमा आफूले हिँडेका अनेकन बाङ्गाटिङ्गा बाटाबारे चर्चा गरिएको छ । कोइराला परिवारसँगको दुष्मनीका कारण काङ्ग्रेसको राजनीति नगरी कम्युनिस्ट आन्दोलनमा सामेल हुनुभएका दीक्षित राजनीतिक जीवनबाट टाढिएर लेखनी र पत्रकारितामा तल्लीन हुनुभयो । बनारसबाट विश्वविद्यालय शिक्षा हासिल गर्नुभएका उहाँले नेपालको बौद्धिक वृत्तमा लामो समय बलियो प्रभाव पार्नुभयो ।
दीक्षितको निधनले नेपालको बौद्धिक क्षेत्रमा क्षति पुगेको छ । उहाँका कृतिको महत्वलाई नयाँ पुस्ताका अध्येतासम्म पु¥याउन आवश्यक छ । जीवन अनित्य हो । कुनै पनि जीवित प्राणीको भौतिक शरीर अजर अमर हुँदैन । दीक्षितको भौतिक शरीर नासिएर गए पनि उहाँले गर्नुभएको योगदान भने नेपालको बौद्धिक इतिहासमा लामो समय स्मरणीय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *