भर्खरै :

हङकङको शान्तिपूर्ण समाधान र साम्राज्यवादी र उपनिवेशवादी जालो

क्रिश्चिना
‘साम्राज्यवादीहरूको चरित्र बदलियो’ भन्ने दृष्टिकोण सत्य नभएको एउटा उदाहरण हङकङमा हालै घटेको घटना हो । साम्राज्यवादीहरू आफ्ना उपनिवेशहरूलाई सशस्त्र बलले नै कब्जा गर्छन् । उनीहरू स्थानीय अपराधीहरूलाई दलाल बनाई बेला–मौकामा उपद्रव मच्चाउन दिने र उपनिवेश पुनःस्थापना गर्ने प्रतिगामी तत्वहरूलाई पालनपोषण गरिरहन्छन् । धेरै टाढाबाट टोपे ढुङ्गाले सशस्त्र हमला गरी सयौं वर्ष राज्य गर्ने साम्राज्यवादीले त्यहाँ आफ्ना सर्पका फुलहरू पार्दैनन् भन्ने होइन । चीनको थेन आन मेन स्क्वायरको घटनाले समेत त्यसलाई पुष्टि गरिसकेको विषय हो । मौका पाउनासाथ सशस्त्र विद्रोह गर्ने र समाजवादी व्यवस्थालाई बदनाम गर्ने हिंसा भड्काउन एजेन्ट प्रोभोकेटरहरू प्रयोग गर्नु मजदुर आन्दोलन दबाउने पुँजीवादी तानाशाहीको पुरानै अभ्यास हो । हङकङको यो नयाँ संस्करणमात्रै हो ।
हङकङको विषयमा मुख खोल्ने संयुक्त राष्ट्र सङ्घको मानव अधिकारसम्बन्धी उच्च आयोगले भेनेजुयलाको अमेरिकी हस्तक्षेपको विरोधमा किन बोल्दैन ? त्यस्तै क्युवामाथि नाकाबन्दी गर्ने अमेरिकी साम्राज्यवादी कदमको किन निन्दा गर्दैन ? वालस्ट्रिटले अमेरिकी जनताले तिरेको कर अरबपति र खरबपति बैङ्क मालिकहरूलाई पोस्ने नीतिको विरोधमा भएको सङ्घर्ष र प्रदर्शनकारीहरूमाथि गरिएको चरम दमनको संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्च आयोगले किन अमेरिकी प्रशासनको विरोध र निन्दा गरेन ? त्यस दमनचक्रमा रातभरमा कति मानिस मारिए र कति घाइते भए भन्नेबारे वर्षाैंपछि पनि गुप्त राखिएको छ ।
के साम्राज्यवादी आतङ्कलाई ‘मानव अधिकार उच्च आयोग’ ले देखेको छैन भन्न मिल्छ ? यसकारण त्यस आयोगले आफूलाई निष्पक्ष देखाउन र साम्राज्यवादी कठपुतली होइन भनी व्यवहारमा देखाउन आवश्यक छ ।
हङकङको घटना स्वतन्त्र नभई ‘अमेरिकी–चीन व्यापार युद्ध’ मा पोल खुल्दै गएको अमेरिकी पक्षको झूटा आरोपलाई पर्दा हाल्न र चीनमाथि थप व्यापारिक दबाब बढाउन आफ्नो ‘आपराधिक ट्रुप’ प्रयोग गरेको हो भन्दा फरक पर्ने छैन ।
उपद्रवको परिणाम ?
अपराध लुकाउने पक्ष आफै अपराधीको नाइके हुन्छ । यो व्यवहारसिद्ध विषय हो । हङकङ खुला बन्दरगाह र व्यापार केन्द्र जुवा, तास खेल्ने वेश्यावृत्ति र हत्या, हिंसा हुने र अपराधको केन्द्र पनि हो । उपनिवेशवादका ती नकारात्मक पक्षलाई एकएक गरेर चीनले हङकङ प्रशासनमार्फत नियन्त्रण गर्न खोज्दा आपराधिक तत्वहरूमार्फत अमेरिकी साम्राज्यवाद र बेलायती उपनिवेशवादीहरूले हङकङको अर्थतन्त्रलाई खलबल्याउने उद्देश्यले ती हुलदङ्गाको षड्यन्त्र गरेको प्रस्ट हुन्छ ।
अझ केही दिन हवाई सेवा, व्यापार र यातायात बन्द भएको हङकङमा आर्थिक गतिविधिमा शिथिलता देखिने छ, त्यसले हङकङलाई आर्थिकरूपले पछि पार्नेछ । हङकङको हवाई सेवालाई अन्य ठाउँमा सार्न बाध्य हुनेछ र सोअनुसार अर्थतन्त्र र जनताको सामान्य जीवनमा पनि नकारात्मक असर पर्नेछ । एक–दुई वर्षपछि यस उपद्रवको गलत प्रभावले सामान्य जनताले उपद्रवलाई सराप्ने छन् र ती उपद्रवीहरूको चरम गतिविधि आतङ्कमा परिणत हुनेछ र स्वाभाविक दमन र एक्लिँदै गएपछि ‘साम्राज्यवादी टु«प’ पनि निस्क्रिय हुनेछ ।
पश्चिमी प्रजातन्त्र सारमा आतङ्कवादमा टुङ्गिने निश्चित छ । हङकङको भविष्य यही हो – समयमै उपद्रवलाई फिर्ता लिएन भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *