भर्खरै :

“नामले कम्युनिस्ट, व्यवहारमा विस्तारवादको समर्थन सामाजिक साम्राज्यवादको चरित्र”

काठमाडौँ, ३२ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले छिमेकी देशको सार्वभौमसत्ता रक्षाको आन्दोलन र सङ्घर्षमा नेपाली जनताले समर्थन र ऐक्यबद्धता जाहेर गर्न नसके भोलि नेपाललाई सङ्कट पर्दा बोलिदिने कोही नहुने औँल्याउनुभएको छ ।
कानुन अध्ययन समाज–नेपालद्वारा आयोजित ‘जम्मु–काश्मीरमा के हुँदै छ ? भारतीय संविधानले के भन्छ ?’ विषयक प्रवचन कार्यक्रममा उहाँले काश्मीरको मामिला भारतको आन्तरिक मामिला नभएको बरु भारतीय विस्तारवाद र दक्षिण एसियाली देशहरूको सार्वभौमिकता र अस्तित्व रक्षाको सङ्घर्षको विषय भएको प्रस्ट पार्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो– “अहिले हाम्रो देशको सरकारले काश्मीर, भुटान वा कुनै छिमेकी देशका जनताको लागि वा सार्वभौमिकताको लागि बोलेको छैन । भोलि नेपालमाथि हस्तक्षेप वा हमला भएमा कुनै देशले बोलिदिने छैन ।”
दक्षिण एसियाका स–साना देशहरूको राजनीतिक अस्तित्व नरहने ती सबै भारतमा विलय गर्नुपर्ने नेहरू दर्शनको कल्पना गलत भएको उल्लेख गर्दै उहाँले अरुको हैकम र दासता नचाहने जनता अलग्गै स्वाधीन देशको रक्षाको निम्ति लडिरहने निश्चित छ भन्नुभयो ।
दर्शन र दृष्टिकोणले देश र जनतालाई निर्देशित गर्ने बताउँदै अध्यक्ष रोहितले साम्राज्यवादी र विस्तारवादीहरूको दृष्टिकोण नै गलत हुने, उनीहरूमा कसरी अरू देशलाई कब्जा गर्ने वा खतम गर्ने भन्ने विध्वंसकारी सोच हुने भएकोले साम्राज्यवादी र विस्तारवादीहरूविरुद्ध सैद्धान्तिक र राजनीतिकरूपमा लड्नुको विकल्प छैन भन्नुभयो ।
सच्चा कम्युनिस्टहरूले अरु देशमाथि हमला गर्ने वा आफ्नो देश ठूलो बनाउने सोच कहिल्यै नराख्ने बताउँदै उहाँले नामले कम्युनिस्ट र समाजवादी तर सोच र कामले साम्राज्यवादी छ भने ती सामाजिक साम्राज्यवादी हुने कुरा लेनिनले सय वर्षभन्दा अगाडि नै स्पष्ट पार्नुभएको बताउनुभयो ।
पुँजीवादी प्रजातन्त्र भएको देशमा पैसा लिएर वा भोजभतेर खुवाएको आधारमा मत दिंदा गलत मानिसहरू सत्तामा पुग्नेमात्र नभई देशै नरहने स्थिति निम्तिने स्पष्ट पार्दै अध्यक्ष रोहितले राजनीतिक नेता, कार्यकर्ता र गुप्तचर विभाग अडिग र इमानदार नभएमा बलियो र ठूलो सेना भएको देश पनि हार्ने हुन्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले जम्मु–काश्मीरको मामिला नयाँ नभएको बताउँदै भारतीय विस्तारवादको उदयसँगै काश्मीर, सिक्किम, भुटान, नेपाल, श्रीलङ्का सबै प्रताडित रहँदै आएका छन् भन्नुभयो ।
भारतमा मोदी र भाजपाको उदयलाई भारतकै र भारतसम्बन्धी जानकारहरूले दोस्रो विश्वयुद्ध अगाडि जर्मनीमा हिटलरको इटालीमा मुसोलिनीको उदयसित दाँजेको बताउँदै अहिले मोदी सरकार र भाजपाको व्यवहारले त्यही देखाइरहेको छ भन्नुभयो ।
संरा अमेरिकी साम्राज्यवाद र पश्चिमा साम्राज्यवादीहरू तेस्रो विश्वयुद्ध एसियामा थोपर्न षड्यन्त्र गरिरहेको बताउँदै उहाँले जम्मु–काश्मीरमाथिको हालैको घटना जनअभिमतको परीक्षण गरेको हुनसक्ने बताउनुभयो ।
अर्का प्रदेशसभा सांसद सृजना संैजूले जम्मु–काश्मीरको इतिहास र हालैका घटनाक्रमबारे प्रस्तुतीकरण गर्दै जम्मु काश्मीरको विशेषाधिकारको अन्त्य नेहरू दर्शनको पूर्ण कार्यान्वयन भएको बताउनुभयो ।
भारतको संविधान संशोधनजस्तो गम्भीर विषयलाई मोदी सरकारले राज्यसभामा सङ्कल्प प्रस्तावमार्फत सामान्य बहुमतले पारित गर्नु र बहुमतको आधारमा फासीवादी नीति लाद्नुलाई भारतमै पनि ‘मोदी सरकारद्वारा लोकतन्त्रको हत्या’ भनी विरोध भइरहेको बताउँदै भारतका शान्तिकामी जनता मोदीको फासीवादविरुद्ध आन्दोलित छन् भन्नुभयो ।
सभापतिको आसनबाट समाजका अध्यक्ष एवम् अधिवक्ता रामप्रसाद प्रजापतिले जम्मु–काश्मीर भारतीय सङ्घमा आबद्ध हुने आधारको रूपमा रहेको भारतीय संविधानको भाग २१ मा भएको धारा ३७० र अनुच्छेद् ३५ ‘क’ को खारेजीपछि काश्मीर भारतको अङ्ग रहन्छ कि रहँदैन ? कानुनी प्रश्न उठेको छ भन्नुभयो ।
छुट्टै संविधान, छुट्टै झन्डा र राष्ट्रिय गान भएको र विदेश मामिला, सुरक्षा र मुद्राबाहेक सबै विषयमा आफैले ऐन तयार गर्ने अधिकार राख्ने काश्मीर भारत अधिनष्ठ अन्य राज्त्न्दा भिन्न स्थितिमा रहेको उहाँले प्रस्ट पार्नुभयो ।
कार्यक्रममा समाजका सदस्य अधिवक्ता अनिता जधारी र अधिवक्ता राजु कैंतीले पनि जम्मु काश्मीरको विकसित घटनाक्रमबारे चर्चा गर्नुभएको थियो ।
भक्तपुर
संसारकै ठूलो प्रजातान्त्रिक देश भनिने भारतले स्वायत्त राज्य जम्मु – काश्मीरलाई जनताको भावना र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत जबरजस्ती आपूmमा विलय गरेको विरोधमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूबीच शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जम्मु – काश्मीरमाथिको हस्तक्षेपमा भारतीय प्रम मोदीको फासीवादी चरित्र उदाङ्गिएको प्रस्ट पार्नुभयो । भारतले पुरानो गौरव फर्काउने उद्घोषसहित मुसलमान तथा जातीय अल्पसङ्ख्यकहरूमाथि संहार गर्नु तथा भारत, पाकिस्तान र चीनबीच इतिहासकालदेखि विवादित क्षेत्रमा हस्तक्षेप गर्नु मोदीको फासीवाद हो, उहाँले भन्नुभयो ।
भारतीय हस्तक्षेपको विरोधमा काश्मिरी जनताको सङ्घर्षप्रति न्यायप्रेमी नेपाली जनताहरूले ऐक्यबद्धता प्रकट गर्नुपर्नेमा जोड दिँदै सांसद सुवालले छिमेकमा बलेको आगो आफ्नो घरमा पनि सल्किन सक्ने खतरा बढेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको सार्वभौमिकता अक्षुण्ण राख्न भारतसँगको खुला सिमाना बन्द गरी नियमित गर्नुपर्ने, सिमानामा नेपाली सेना तथा सशस्त्र प्रहरी परिचालन गर्नुपर्ने र नागरिकता ऐनमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् नगर प्रमुख सुनिल प्रजापतिले साम्राज्यवादी देशहरूले कुनै देशमा राजनैतिक हस्तक्षेप गर्नुपूर्व आफ्ना दलालहरू तयार गर्ने उल्लेख गर्दै काश्मीरमाथि भारतीय हमलाको विरोधमा नेपाली शासक दलहरू मौन बस्नु भारतीय विस्तारवादको दलाली गर्नु हो भन्नुभयो ।
उहाँले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरूले करोडौँ भ्रष्टाचार गरेको विरोधमा अस्पतालमा कार्यरत डाक्टर, कर्मचारी र स्थानीय जनता आन्दोलित भएको तथा नपाले अस्पताललाई प्रदान गरेको जग्गा सर्तविपरीत गैरसरकारी संस्थाले दुरुपयोग गरिरहेको हुँदा नपाको नेतृत्व नयाँ व्यवस्थापन समिति गठन गरेको बताउनुभयो । बिरामीहरूलाई सस्तोमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न स्थानीय जनता, अस्पतालका डाक्टर र कर्मचारीहरूको पूर्ण समर्थनमा जनप्रतिनिधिले आफ्नो जिम्मेवारी वहन गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले जम्मु – काश्मीरको घटना भारतको आन्तरिक मामिला नभएको चर्चा गर्दै काश्मिरी जनतालाई भारतीय सेनाको व्यारेकमा थुनेर अन्तर्राष्ट्रिय समुदायसँग अलग्ग राख्दा र जघन्य मानव अधिकार हनन गर्दा अन्तर्राष्ट्रिय चासोको विषय बन्नु स्वाभाविक छ भन्नुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्व र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष सविन ख्याजूले जम्मु –काश्मीरको वर्तमान घटनाक्रमबारे विस्तृत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *