भर्खरै :

विद्यालयमा मनोसामाजिक स्वास्थ्यको तालिम

शिक्षकमा बालबालिकाको मनोसामाजिक स्वास्थ्य चेत त्यति महत्व नपाएको विषय हो । तर, शुक्रबार भक्तपुर बासुु माध्यमिक विद्यालयका शिक्षकहरूबीच विद्यालय तहका बालबालिकाको मनोसामाजिक स्वास्थ्यबारे छलफल भयो । कार्यक्रममा विद्यालयका शिक्षकहरू स्वयम् बालबालिकाको मनोविज्ञानका ज्ञाता हुनुपर्नेमा मनोपरामर्शदाताहरूले जोड दिए ।
विश्व स्वास्थ्य सङ्गठनको अनुसार हरेक व्यक्तिले आफूसँग भएको क्षमतालाई महसुस गर्न, जीवनका सामान्य तनावहरूलाई सहन र आफ्नो क्षमताअनुसार परिवार र समाजको लागि योगदान गर्न सक्नुपर्छ । त्यस्तो क्षमता भएका व्यक्तिहरू मात्र मानसिक रूपमा स्वस्थ मानिन्छ । कुनै पनि व्यक्तिले सामाजिक परिस्थितिसँग मेल खाने गरी सोच्न र निर्णय गर्न सक्नुपर्छ । मानिसमा स्मरण शक्ति हुन्छ, उसमा भावना तथा संवेग हुन्छ । केटाकेटी समय तथा परिस्थितिअनुसार अगाडि बढ्न सक्ने हुनुपर्छ । केटाकेटीमा तनावलाई व्यवस्थापन गर्ने क्षमतामात्र भएर पुग्दैन, उनीहरूमा जीवनलाई अर्थपूर्ण बनाउने, उत्पादनशील काममा लागिरहने, मानिसहरूबीच असल सम्बन्ध कायम राख्ने क्षमता पनि आवश्यक छ ।
बालमनोविज्ञान समाजका विभिन्न अवयवबाट प्रभावित हुन्छ । समाजका मूल्य र मान्यताको प्रभाव बालबालिकामा परेकै हुन्छ । हरेक बालबालिका फरक सामाजिक मूल्य–मान्यतामा हुर्किएकैले उनीहरूमा फरक स्वभाव, व्यवहार र चिन्तन पनि स्वाभाविकै हुन्छ । शिक्षकले ती फरक विशेषतालाई सम्बोधन गर्न सक्नुुपर्छ ।
समाजमा आएका परिवर्तनसँगै मनोसामाजिक समस्याका आयामहरू थपिएका छन् । आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय परिवर्तनसँगै सामाजिक सम्बन्धहरूमा बदलाव आएको छ । कति परिवर्तन सकारात्मक छन्, कति घातक पनि छन् । पैसाप्रधान समाज बन्दोवस्तले ठाउँ लिएपछि अपराध, हिंसा, झैझगडा, अत्याचार, शोषण बढेको छ । त्यस्तै भ्रष्टाचार, कालोबजारिया, ठगी बढेको छ । लागूपदार्थ तस्करी बढेसँगै नवजवानहरुमा दुव्र्यसनी बढ्दो छ । यससँगै उनीहरुमा मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पु¥याएको छ । घरपरिवारको तनाव र चिन्ताको दुष्प्रभाव केटाकेटीमा पनि परेको पाइन्छ ।
नेपालमा मनोवैज्ञानिकहरूबाट गरिएको अध्ययनमा १२–१८ वर्षसम्मका किशोरकिशोरीहरूमा हरेक ३ जनामध्ये १ जनाले कुनै न कुनै रूपमा ‘बुलिङ’ (दुव्र्यवहार) व्यहोरेको पाइन्छ । विद्यालय र समाजमा केटाकेटीलाई होच्याउने, गिज्याउने, हाँसोका पात्र बनाउने, गाली बेइज्जत गर्ने, इच्छाविपरीत व्यवहार गर्ने काम भएको पाइन्छ । यस्ता खिसिट्युरीयुक्त क्रियाकलापले बालबालिकामा गम्भीर मानसिक आघात पुगेको पाइन्छ ।
विश्वभरका करिब २० प्रतिशत बालबालिका र किशोर–किशोरी मानसिक समस्याबाट पीडित छन् भने १४ वर्षमुनिका ५० प्रतिशतमा मानसिक समस्या भएको पाइएको छ । नेपालका १३ देखि १७ वर्ष उमेरमा १४ प्रतिशत किशोर–किशोरीले आत्महत्याको योजना र प्रयास गर्ने गरेको पाइएको छ । चिन्ता र तनावकै कारण केटाकेटी डिप्रेसनको शिकार हुने गर्छन् । डिप्रेशनले आत्महत्यातिर डो¥याउन सक्छ । आत्महत्यालाई चरम मानसिक विकृतिको परिणति मानिन्छ । समाजको यो गम्भीर रोग निम्तिन नदिन शिक्षकले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसको निम्ति शिक्षकलाई तालिमको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *