युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
समा
क्रान्तिको निम्ति कलम पनि बन्दुकजस्तै महत्वपूर्ण हुने गर्छ । बन्दुक क्रान्तिको पक्षमा उठाउने हो या विरुद्धमा भन्ने प्रश्न सधैँ अहम् हुन्छ । आज पनि क्रान्तिको निम्ति बन्दुकरूपी कलम बोक्ने पत्रकारहरू सा¥है थोरै छन् । क्रान्तिको परिस्थिति तयार गर्न र क्रान्तिको प्रचार गर्न कलम सबैभन्दा शक्तिशाली बनेको इतिहासले बताउँछ । एक ठाउँमा उठेको क्रान्तिको सन्देश संसारभर फैलाउने शक्ति कलमले राख्दछ । त्यसकारण हिजो क्रान्तिको निम्ति लडेका कलमवीर र क्रान्तिकारी पत्रकारहरूको चर्चा समय–समयमा गरिनु आवश्यक छ । मुक्तिको विगुल फुक्ने ती जनताका पत्रकारहरू र कलमवीरहरूलाई नयाँ पुस्तासँग साक्षात्कार गराउनु पनि क्रान्तिको सेवा नै हो ।
सङ्घर्षका प्रत्येक शृङ्खला विचारको लडाइँ हुने गर्दछ, वर्गसङ्घर्षको सिलसिला हुने गर्दछ । सर्वहारा वर्गको पक्षमा बोल्ने र लेख्ने थोरै पत्रकारमध्ये क्रान्तिकारी पत्रकार जोन रिडको नाम कहिल्यै छुट्दैन । उनले वर्ग सङ्घर्षको बाटो रोजे, क्रान्तिको निम्ति आफ्नो जीवन समर्पण गरे । आजभन्दा ३७ वर्ष अगाडि प्रकाशित उनको सङ्क्षिप्त जीवनी ‘क्रान्तिकारी पत्रकार जोन रिड’ आज पनि उत्तिकै चर्चायोग्य छ ।
पैसाको निम्ति सेतोलाई कालो र कालोलाई सेतो साबित गर्न खोज्ने, जनताको दिमागमा गलत विचार भर्न उद्दत पत्रकारहरूको भीडबाट विरक्त नयाँ पुस्ताले जोन रिडको जीवनीबाट न्यानो अनुभूति गर्नेछन् । झूटलाई दोहो¥याउन गोयबल्स् प्रवृत्तिका व्यक्तिहरूकै बाहुल्य रहेको यो युगमा सत्यको दीप प्रज्वलित गर्न आशा जगाउने यस पुस्तकको सान्दर्भिकता कहिल्यै कम हुनेछैन ।
सन् १८८७ अक्टोबर २२ मा संरा अमेरिकाको पोर्टल्यान्ड नगरको माटोमा जन्मिएका जोन रिड जर्मनी साम्राज्यवादविरुद्धको लडाइँका मिसाइल बने । सानैदेखि इतिहास, भूगोल र क्रान्तिकारी वीरहरूका जीवन पढ्न रुचाउने उनीसँग सृजनशीलता भरिभराउ थियो । विश्वविद्यालय पनि समाज जस्तै वर्गमा विभाजित हुन्छ भन्नेबारे प्रस्ट उनले हार्वड विश्वविद्यालयलाई नै शासकले क्रान्तिविरोधी तालिम केन्द्रका रूपमा प्रयोग गरिरहेको देखे । तर, उनले विश्वविद्यालयलाई प्रगतिशील र समाजवादी विचार राख्ने थलो बनाए । आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने साधनको रूपमा उपयोग गरे । उनलाई विश्वविद्यालयले दिने कागजी प्रमाणपत्रसँग मोह थिएन । विश्वविद्यालय जीवनपछि उनले युरोपका विभिन्न देशहरूको भ्रमणबाट ती देशहरूको अर्थ–राजनीतिक विश्लेषणसमेत गरे ।
उतिबेला संरा अमेरिकाका कारखानाहरूमा उठेका औद्योगिक मजदुर आन्दोलन र हड्तालहरूमा उनको समर्थन र सक्रिय सहभागिता रह्यो । मजदुर आन्दोलनलाई आफ्नो आँखाले देखेका उनले मजदुर आन्दोलनभित्र वर्गीय चेत भर्न सघाए । जनताको साँचो प्रजातन्त्रको निम्ति उभिन सारालाई उत्साहित बनाए ।
मेक्सिकोको सङ्घर्षमा जोन रिडको सक्रिय सहभागिता रह्यो । ‘खेत या स्वतन्त्रता’, ‘घँुडा टेक्नुभन्दा मर्नु निको’ भन्ने नारासहित सङ्घर्षको मैदानमा उत्रेका किसानहरूको पक्षमा उनी उभिए । त्यो संरा अमेरिकी अत्याचारी शासकविरुद्धको लडाइँ पनि थियो । उनले मेक्सिकोको लडाइँको मैदानबाट सत्य तथ्य संसारलाई अवगत गराए । उनले सो मैदानबाट तयार पारेको रिपोर्ट नै पुस्तक ‘विद्रोही मेक्सिको’ का रूपमा प्रकाशित भयो । उनले पुस्तकमार्फत विद्रोही नेता पान्चे भिला, चिह्वाह्वा नगर मुक्तिको कथालगायत सङ्घर्षका सजीव तस्वीर उतारे । पुस्तकमार्फत शोषकहरूको विरोधमा जनआन्दोलनको आह्वान गरे ।
क्रान्तिको मैदानमा उत्रँदा उनले क्रान्तिको निम्ति जीवन समर्पण गर्न वीरहरूसँग पनि भेटे र क्रान्तिविरोधीहरूसँग पनि लडे । प्रथम विश्वयुद्धका उनी प्रत्यक्षदर्शी थिए । उनको पुस्तक ‘पूर्वी यूरोपमा युद्ध १९१६’ पनि पठन योग्य पुस्तक हो ।
उनी अमेरिकी नागरिक भए पनि साम्राज्यवादविरुद्ध लड्न कट्टीबद्ध थिए । आफ्नो राष्ट्रिय झन्डाभन्दा पनि क्रान्तिकारी झन्डामुनि समाजलाई बदल्ने क्रान्तिको निम्ति लड्नुलाई उनी आफ्नो कर्तव्य ठान्थे । त्यसकारण अक्टोबर क्रान्तिको ज्वालामा उनको योगदानलाई आज पनि सम्झिइन्छ । सामन्तवाद र पुँजीवादविरुद्ध लड्दै समाजवादी क्रान्तिमा सघाउन र त्यसको हिस्सा बन्न उनी रुस पुगे । उनी सच्चा माक्र्सवादी–लेनिनवादी थिए । क्रान्तिको लहर गाउँ–गाउँ, बस्ती–बस्तीसम्म पु¥याउन उनले इजवेष्टिया र प्राब्दाजस्ता पत्रिका र पर्चाहरूमार्फत गरेका योगदानहरू साँचो अर्थमा अमूल्य नै थिए । प्रतिक्रियावादीहरूलाई उदाङ्ग्याउनु उनका लागि सानोतिनो कुरा थियो । उनलाई चिनाउने एउटा महत्वपूर्ण पुस्तक अर्थात् उनका पुस्तकहरूमध्ये धेरैले रुचाएको पुस्तक ‘संसारलाई हल्लाउने दश दिन’ रुसी समाजवादी क्रान्तिको दस्तावेजसमेत हो । त्यसकारण यस पुस्तकले आफ्नै ऐतिहासिक राजनीतिक महत्व बोक्दछ । रुसी बोल्सेविक क्रान्तिको आवाज र आह्वानलाई विश्वका कुनाकाप्चासम्म पु¥याउन र सर्वहारा क्रान्तिको जीवन्त चित्रण गर्न पुस्तक सफल रहेको समयक्रमले पुष्टि ग¥यो ।
एउटा आश्चर्यजनक प्रसङ्ग पुस्तकमा उल्लेख छ । जोन रिडको उक्त पुस्तकको गुरुकपी ६ पटकसम्म चोर्ने प्रयास गरिएको रहेछ । अमेरिकी पुँजीपति र शासकहरूले उक्त पुस्तक छाप्न नदिन हदैसम्म कोसिस गरेको प्रसङ्ग पनि पुस्तकले उजागर गरेको छ ।
उनी क्रान्तिको मैदानमा जाँदाजाँदै बीस पटकभन्दा बढी जेलमा बस्न परेको यथार्थ पुस्तकमा छ । उनी क्रान्तिको पक्षमा उभिन थाकेनन्, विचलित भएनन् । त्यसैले त गौरवका साथ भन्छन् – “म सधँै अमेरिकामा क्रान्तिको पक्षमा छु । क्रान्तिको अर्थ सधैँ हिंसा होइन, मेरो विचारमा आधारभूत सामाजिक परिवर्तन नै क्रान्ति हो ।”
माक्र्स, ऐँगेल्स, लेनिनका रचनाहरूको अध्ययनले नै उनको विचारको जग बलियो, गहिरो र पक्की बनायो । त्यसकारण उनलाई फिनल्यान्डको जेलमा सासना दिइँदा पनि आत्तिएनन् । ५ वर्षसम्म देश निकालाको घोषणा गरिइँदा पनि विचलित बनेनन् । उनी लडाइँको मैदानबाट खारिएर विचारको ओजले इस्पात बनेका अन्तर्राष्ट्रवादी पत्रकार कहलिए ।
सर्वहारा अन्तर्राष्ट्रवादी झन्डालाई उँचो फहराउन उनीसँगै उनकी सहयात्री लुइस ब्रयान्त थिइन् । ब्रयान्तको ‘रुसी क्रान्तिमा ६ महिना’ र ‘मस्कोको ऐना’ नामक पुस्तकहरूले पनि जोन रिडको जीवन उद्देश्यलाई अगाडि बढायो र क्रान्तिको सेवा गर्न प्रोत्साहित ग¥यो ।
संसारलाई क्रान्तिको प्रकाशले उज्यालो पार्न बलिरहेका एक लडाकु पत्रकार जोन रिड ३३ वर्षको अल्पायुमै निभे । उनको मृत्युले न्यायप्रेमी जनताको हृदय रोयो । लामो समय क्रान्तिको सेवा गर्नसक्ने एक युवाको मृत्युमा विश्व शोकमा डुब्यो । यद्यपि छोटो समयमा उनले गरेको योगदान अतुलनीय छ । उनको काम र योगदानले उनलाई नयाँ पुस्ताको मनमा अमर राख्नेछ ।
महत्वपूर्ण व्यक्तित्वबारे नयाँ पुस्तालाई सूचित र जानकार बनाउने यस पुस्तक अत्यन्त पठनीय छ । जोन रिडका विचारहरू मननीय छन् । अक्टोबर क्रान्तिसँगै, संरा अमेरिका, मेक्सिकोमा उठेका मजदुर, किसान आन्दोलनको इतिहास उजिल्याउन सफल यस पुस्तकको आफ्नै ऐतिहासिक महत्व छ । यस महत्वपूर्ण पुस्तकको गाता सुन्दर छ । प्रकाशकप्रति साधुवाद ।
Leave a Reply