भर्खरै :

नौ भदौको भक्तपुर काण्ड

भैरव रिसाल
सत्ताको स्वभाव नै निरङ्कुश हुने हो वा पूर्व सामन्तवादी (सामन्तवाद स्थापना हुनु पहिले), सामन्तवादी, पुँजीवाद प्रारम्भ हुनुपूर्व र सामन्तवाद अस्ततिर लाग्दा र पुँजीवाद उदयतिर लाग्दाको अन्तरिम अवस्थाको शासनतन्त्र र पुँजीवाद उपनिवेशवाद र साम्राज्यवादमा रूपान्तरण हुँदा हो यद् वा पुँजीवाद दलाल पुँजीवादको पोल्टोतिर पुग्दा होस् सत्ता साङकुश–अङ्कुशभित्र बस्ने हुनै चाहँदोरहेनछ । जनताको शासन नहुँदासम्म यस्तै निरङ्कुशताको बिगबिगी हुनेरहेछ । यो विषयमा गम्भीर तथा साङ्गोपाङ्ग अध्ययन, विश्लेषण र नालीबेली केलाउनुपर्ने पो देख्छु म अथवा यो मेरो हेराइ अध्ययन नपुगेको पनि हुनसक्छ । तर म स्पष्ट छैन । उमेर बढी भएर मात्र मान्छेको विचार परिपक्व हुनेरहेनछ । म सत्ताको स्वभावबारे स्पष्ट नभएर यो नयाँ मुद्दा उठाउन लागेको हुँ । सत्तारोहण यति धेरै चुम्बकीय शक्ति भएको हुनेरहेछ अधिकांशलाई आकर्षित गरिहाल्ने । एकपल्ट सत्तामा चढेपछि त्यहीँ टाँसिइरहन मन लाग्ने फेरि पनि जान मन लाग्ने । सकभर छोड्दै नछोडौँ लाग्ने । कथं छुटिहाले फेरि जान मन लाग्ने । कस्तो अद्वितीय आकर्षण, जादु नै । सत्तारोहणको लत सबै लतभन्दा कडा छोड्नै नसक्ने ।
धुँवा आएर गरिब भो
सामन्त भनेपछि अर्काको पसिना र परिश्रम खाने, अर्कालाई दुःख दिने, सताउने । सामन्त भन्नासाथ एक किसिमको परजीवी । नेपालको सत्ता प्रारम्भदेखि नै सामन्त वा सामन्तवादउन्मुख ! एउटा लोकोक्ति छ । नेपालको मल्लकालीन एउटा अमूक मल्ल राजा–रानी आफ्नो दरबारको कौसीमा जान्थे रे साँझ पर्ने बेला । अनि सबै घर हेर्थे रे कौसीबाट । कुन घरको छानाबाट धुवाँ आएको छैन त्यो घरमा हेर्न पठाउँथे रे आफ्ना चरहरूलाई । यदि पकाउने अन्न नभएर भात पकाएको रहेनछ भने अन्न दिई भात पकाउन लगाएपछि मात्र राजा–रानी बेलुकाको भोजन गर्थे रे । यो कति सत्य हो थाहा छैन । यो लोकोक्ति कसैको परिकल्पनामात्र हो कि साँच्चै हो थाहा भएन । यो लोकोक्ति मल्लकालको पनि एउटा राजाको राज्यकालको हो । त्यो बेला काठमाडौँ सहरमा कति घर थिए होलान् । कति जनसङ्ख्या थियो होला । कौसीबाट धुँवाको सर्भे गर्न सकिने युग । चुल्होमा त दाउरै बाल्ने भो । धुवाँ आउन पनि दाउरा सुकेको हुनुभएन । कस्तो अर्थतन्त्र होला त्यतिबेला धुवाँ अर्थतन्त्र । छानाबाट साँझ धुँवा आयो खान सक्ने परिवार, धुँवा आएन गरिब भो । त्यो जमाना पनि थियो नेपालमा ।
अन्ततः राणा शासन अन्त
मल्लकालपछि शाहकाल आयो । शाहकालपछि राणाकाल आयो । यी दुई सत्ता शाह र राणाले २४५ वर्ष लगभग सत्तासीन भई राज्य गरे । यी दुवै राज्यमा धुँवा सर्वेक्षण गर्ने, खान अन्न नहुने आफ्ना शासितलाई छाक टार्ने अन्न दिने युग हराइसकेको थियो । जनता अलि सचेत हुन लागेको थियो । चार धाम, कासी–बनारस जता जे नाम र प्रयोजनका लागि गए पनि अथवा अध्ययन गर्नका लागि गए पनि भारतबाट धेरै कुरा सिक्नु आवश्यक थियो, सिक्यो । यता ब्रिटिश उपनिवेशवादलाई के कुरा थाहा थियो भने एक दिन ब्रिटिश उपनिवेशवादलाई भारतीयहरूले लघार्छन् । तसर्थ नेपाल भारतको उपनिवेश नबनोस् भनी त्रिचन्द्र कलेज र नेपाल बैङ्क खोल्न जोडै गरेछ ब्रिटिश सत्ताले । त्यही परिप्रेक्षमा कलेज र बैङ्क खुलेको रे । सन् १९४७ मा ब्रिटिश सत्ता भारतबाट फर्कनै प¥यो, फक्र्यो । नेपालका युवाहरू माथिल्लो पढाइका लागि ब्रिटिश भारत नै जानुपथ्र्यो, जान्थे । यसै क्रममा सयौँ नेपाली युवा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भए, सक्रिय भए, जेल पनि बसे । भारतको स्वतन्त्रताका लागि सङ्घर्षमा उत्रेका नेपाली सपूत राणा शासनविरूद्ध उठे । २००७ मा राणा शासनको अन्त्य भो अन्ततः ।
मोही किसान आफैँ ताते
अब नेपालमा पनि रेडियो नेपाल स्थापना भयो । गाउँघरतिर पहाड र मधेसमा पनि शिक्षाको जागरण जागृत भो । गाउँमा सेतो छानु भएको घर देखियो भने त्यो विद्यालय नै हो भन्ने भो किनकि स्कूल कर्कटपाताले छाइन्थे त्यतिबेला । काठमाडाँै उपत्यकाका काठका प्रायः खेतबारी गाउँ बाहिरका बिर्तावालका बिर्ता हुन्थे । सिंचाइ सबैतिर हुँदैनथ्यो । तसर्थ गहुँको उत्पादन सारै थोरै हुने । धान रोपनीको दुई मुरी, ४५ पाथीसम्म जग्गा कमाउने मोहीले बिर्ताबाट जग्गाधनीको घरसम्म नै पु¥याउनुपर्ने । यातायातका साधन थिएनन् । तसर्थ धोक्रोमा बोकेर जग्गाधनी साहुहरूकहाँ पु¥याउनैपर्ने । गहुँ त जति उत्पादन हुन्थ्यो प्रायः जग्गावालालाई बुझाउँदै ठिक्क हुने । मोही किसान चाहे त्यो सहरकै होस् वा गाउँको बिर्तावाललाई तिरो तिर्दै ठिक्क । यो स्थिति मुलुकको देखेर राजदरबारले भूमिसुधार गर्न खोज्दोरहेछ । भूमिसुधार आकर्षक नाम जग्गा कमाउनेलाई तर जग्गा कमाउन दिनेलाई त्यही नाम भूमिसुधार विकर्षक हुनेरहेछ । राजदरबारबारे भूमिसुधारका अनेकौँ समिति, आयोग बने । तर तिनले यथोचित काम गर्नसकेनन् । परिणाममा मोही किसान आफै ताते ।
यी सबैको लय मिल्यो
यता जनतामा भूमिसुधारप्रति चेतना जागृत हुनथाल्यो । दरबार पनि बेला बेला भूमि सुधारका कुरा गर्नथाल्यो । लेर्मा ५२, किरि २ । गहुँको बीउ, ताइचुङ धानको बीउ झिकायो सरकारले । त्यसैबेला रासायनिक मल पनि भित्रियो । यता गाउँमा खुलेका विद्यालय, स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य चेतना बढ्यो । सिंचाइको लघु प्रबन्ध आदिले गर्दा धान र गहुँको उत्पादन र उत्पादकत्व पनि बढ्ने नै भो । २०२१ मा भूमिसुधारको गहकिलो निर्णय ग¥यो सरकारले । अब मोही किसानले अब्बल जग्गाको पनि खेतको २३ पाथी दुई माना धान वर्षको एकपटक बुझाएपछि गहुँजस्ता अरू तिर्नुपर्ने भएन । यसरी एकातिर नयाँ जातको बीउ, रासायनिक मल, किसानको अलि बढेको चेतना आदिका कारण उत्पादन तुलनात्मकरूपमा ह्वात्तै बढ्यो । बिर्तावाललाई तिर्नुपर्ने कुत घट्यो र काँठको र सहरकै पनि खेती गर्ने मोही किसानको आर्थिक अवस्था उकासिन लाग्यो । स्कूलमा छोराछोरी भर्ना गर्ने अभियानै चलाइयो । अभिभावक किसानहरू पनि छोराछोरीबाट चेतनाका कुरा सुनेर प्रभावित हुँदै गए । उन्नत जातको खेती पशुपालन आदिबाट आर्थिक स्तर उकासिन लाग्यो ।
किसान आन्दोलनको मूल बीउ
यी काम सहजै भएका होइनन् । हाम्रा किसान वर्गको अवस्था पनि थरीथरीका । सहरका किसान आफ्नो थोरै बिर्ता खेतबारी भएका । ती जग्गा पुस्तौँदेखि मोही लागेका । आफू भने सहरका ठूला बिर्तावालको जग्गा कमाउने मोही । कस्तो अन्तर्विरोध । जग्गाधनी र मोही पनि, एउटैको दुई हैसियत । माथिको सरकारले तोकेको तिरो तिरेको भर्पाइ भएन भने जग्गा धनीले मोहियानी हक खोस्न सक्ने कानुनी व्यवस्था । मोही किसान अधिकांश निरक्षर, बिर्तावालको चरित्र संदिग्ध । त्यसकारण भर्पाइ लिन पनि किसानलाई सहयोग नगरी नहुने । मोही किसानले लगाएको धान जग्गाधनीले आफ्ना मान्छेबाट काट्न र चुट्न लगाई धान लान थाले । त्यसपछि नेपाल क्रान्तिकारी किसान सङ्घले बाली काट्ने आन्दोलन चलाउनुप¥यो । भर्पाई दिलाउने अर्को आन्दोलन पनि चलाउनुप¥यो । भक्तपुर जिल्लाका गाउँहरूको जग्गाधनी र मोही किसानहरूको एउटा अवस्था । साँढे धपाउने आन्दोलनजस्ता आन्दोलन पनि चलाउनुप¥यो । त्यसै सहर बजारका किसानहरूको अर्कै अवस्था । यही भौतिक वस्तुगत अवस्था विकसित हुँदै वा कायम हुँदै गरेको स्थितिमा जग्गाधनीहरूको पक्षमा रहेको सरकारले २०४५ मा गएको भक्तपुरको भूकम्पको प्रयोग गर्ने सोच बनाएछ र किसान आन्दोलनको ढाड भाँच्न नेपाल मजदुर किसान सङ्गठन (नेमकिपा) लाई खत्तम गर्ने षड्यन्त्र बनाएछ जो भक्तपुर काण्डको नाम रह्यो ।
यी काम असह्य भए सामन्तलाई आजको सत्ता नेमकिपालाई देखि सहँदैन भने झन् पञ्चायती सत्ताले छहारी दिनु त सम्भव नै थिएन । नेमकिपाले शत्रुसँग कहिले नजिकिएर त कहिले टाढिएर, कहिले भित्र पसेर र कहिले बाहिरै बसेर पनि किसान, मजदुर र समग्रमा कामदार वर्गको हित एवम् अनुकूल पारेर काम गर्ने कला र सीप सिकायो प्रारम्भमै । फलस्वरूप पार्टी कार्यकर्ता शासन सत्ताको दमनबाट यथाशक्य बच्ने अभ्यासमा अभ्यस्त हुँदै जान थाले । मोही किसान आफ्नो खेतीपातीको समयमा पार्टीको कामबाट छुट्टी लिने गर्न लागे । फलस्वरूप बाउ–आमा पुस्ता पनि नेमकिपाप्रति माया गर्न लागे । युवाहरूको कुलत कम गर्दै लैजाने नीतिका कारण बाजे–बज्यै पुस्ता पनि पार्टीको पक्षमा उभिन थाले । किशोर–किशोरीलाई शिक्षोपार्जनमा केन्द्रित गराउने तर समय हेरी राजनीतिक चेतना जागृत हुने कक्षा सञ्चालन र छलफल चलाइयो । यो अर्को सकारात्मक पक्ष भयो । यी र यस्तै अरू कार्यक्रमबाट नेमकिपाले जनतामा जरा गाड्न लाग्यो । दुश्मनहरूको हुलमुलमा पसेर पनि आफ्ना कुरा राख्ने, शत्रुपक्षमा जानबाट रोक्नेजस्ता परिणाम आउन थालेपछि पार्टी बलियो हुँदै जान थाल्यो । यो कुरा सत्ता र सामन्तहरूका लागि पाच्य भएन । परिणामस्वरूप स्थानीय सामन्तहरूको सहयोगमा नेमकिपालाई समाप्त पार्ने षड्यन्त्र रचियो । जङ्गम, जोशी, मिश्र, भट्ट, मल्ललाई बुँख्याचा बनाएर यो षड्यन्त्र सफल हुनेदेखि सङ्गठनमै लोभी–पापी खोजेर उभ्याए भूकम्प पीडितहरूलाई सहयोग गर्ने नाममा ।
विष्टको अडान पछि मात्र
तब सहायता वितरणको आकर्षक नाममा व्यापक षड्यन्त्र रचियो नेपथ्यमा । ९ भदौ २०४५ मा यो काण्डको उद्घाटन भयो । एउटा कुनै पनि नागरिकको सुरक्षाको जिम्मा सरकारको हुनेगर्छ । तर, षड्यन्त्र भएकोले आफ्नो संरक्षणमा आइसकेको प्रहरीको गाडीमा बसिसकेको घाइतेलाई सामन्तहरूको कृत्रिम दबाबको कारण देखाई भीडमा छोड्यो प्रहरीले । सामन्तका दलालहरूको भीडले फेरि मौका पायो । सरकार र सामन्तहरूको जाल कसैको हत्या गरेर त्यो हत्या नेमकिपाले गरेको हो भनी त्यही अभियोगमा नेमकिपाको समूल उच्छेदन गर्नु थियो । ज्यापु किसानहरूको पार्टीलाई समूल उखेल्नु थियो । त्यही निहुँमा नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित) लगायत सम्पूर्ण कार्यकर्ता एवम् समर्थकहरूलाई समाप्त गर्ने व्यापक षड्यन्त्रकै सिलसिलामा व्यापक धरपकड भयो, चरम दमन गरियो र मानसिक यातना दिइयो पक्राउपछि । तर झूटो टिकेन । राजनीतिक आन्दोलन उग्र भयो पञ्चायत सत्ताविरूद्ध । अन्ततः २०४६ चैत २६ मा निर्दलीय पञ्चायत सत्ता आफै उखेलियो । बहुदल स्थापनापछि पनि नेमकिपाका अध्यक्ष का. रोहितलगायत नेमकिपाका नेता, कार्यकर्ताहरूलाई जेल मुक्त नगर्ने षड्यन्त्र रचिएछ । सरकारी महान्यायाधिवक्ताको सिफारिसमा पदम ठकुराठी गोली काण्डका अभियुक्तहरूलाई कारागार मुक्त गर्ने तर भक्तपुर काण्डलाई नछोड्ने टिप्पणी उठाउन निर्देशन दिएपछि महान्यायाधिवक्ता मेघराजबहादुर विष्टले रोहितहरूसमेत छुट्ने गरी टिप्पणी उठाउन पर्ने, अन्यथा अरूमात्र छुट्ने गरी टिप्पणी नउठाउने अडान लिएपछिमात्र छुटे रोहितहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *