भर्खरै :

टेलिकन्फरेन्समा मन्त्रिमण्डल बैठक

नेपालको इतिहासमा पहिलो पटक सोमबार टेलिकन्फरेन्समार्फत मन्त्रिमण्डलको बैठक बस्यो । उपचारका लागि सिङ्गापुर पुगेका प्रधानमन्त्री र मन्त्रीहरूबीच बसेको मन्त्रिमण्डलको बैठक नेपालको लागि नयाँ विषय हो । विज्ञान र सूचना प्रविधिमा भएको प्रगतिले यो सम्भव भयो । मन्त्रिमण्डलको बैठक टेलिकन्फरेन्समार्फत पनि बस्न सकिने भनी नियमावली नै संशोधन गरेर सिङ्गापुर उडेका प्रधानमन्त्री र मन्त्रीबीच भएको सोमबारको बैठक रहरमै मात्र सीमित देखियो ।
माधव नेपालको प्रधानमन्त्रीकालमा जलवायु परिवर्तनले हिमालयमा पारेको प्रभावबारे संसारको ध्यानाकर्षण गर्न सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिमण्डलको बैठक भएको थियो । समुद्री सतह बढ्दै गएकोले टापु देशहरूको अस्तित्वमाथि खतरा आइलागेको विषयमा संसारको ध्यानाकर्षण गर्न माल्दिभ्सको मन्त्रिमण्डलको बैठक समुद्रमुनि बसेको थियो । माल्दिभ्सको सो बैठकको अनुकरण गरेर नेपालको मन्त्रिमण्डलको बैठक कालापत्थरमा बसेको थियो । तर, त्यसपछि भने जलवायु परिवर्तन र हिमालयमाथि पारेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न सरकारले कुनै थप काम गरिएन । फलतः कालापत्थरको बैठक रहर र प्रचारबाजीमा मात्र सीमित रह्यो ।
आधुनिक प्रविधिको विकाससँगै टेलिकन्फरेन्स सामान्य बन्दै गइरहेको छ । यसले सूचनामा सहजता झल्काएको छ । तर, सोमबार बसेको मन्त्रिमण्डलको बैठकको दृश्य भने धेरैको लागि हाँसोलाग्दो बन्यो । मन्त्रीहरू बस्ने व्यवस्थाले टेलिकन्फरेन्स हाँसोको विषय बन्यो । कुनै अस्पतालमा चिकित्सकलाई जचाउन पालो कुरिरहेजस्तो बसिरहेका मन्त्रीहरूसँग प्रधानमन्त्रीको बैठकका तस्वीर हाँसो उठ्दो थियो । यसअघि ओलीकै मन्त्रिमण्डलले पेपरलेस (कागजरहित) बैठकको अभ्यास गरेको थियो । तर, त्यसलाई पनि धेरै मानिसले स्वाङकै अर्थमा बुझे ।
सोमबारको बैठक पनि रहरमा मात्र सीमित हुनुहुन्न । नेपाली जनतालाई सूचना प्रविधि र विज्ञानसँग जोड्ने विषयमा सरकारले ध्यान पु¥याउनुपर्छ । विज्ञान र प्रविधि सीमित शासक वर्गको रहरको विषयमा सीमित रहनुहुन्न । चन्द्र शमशेरको प्रधानमन्त्रीकालमा फर्पिङबाट जलविद्युत् निकालेर शासकका दरबारमा उज्यालो पु¥याइएको थियो । जनताको छाप्रोमा टुकी पनि बल्न मुस्किल थियो । त्यसलाई वास्तवमा विकास वा प्रगति भन्न सकिन्न । विकास र प्रगति त्यत्तिबेला भएको मानिन्छ, जब प्रविधिले सर्वसाधारण जनताको जीवनमा परिवर्तन ल्याएको होस् ।
सूचना प्रविधिको विकासले सम्भावनाका अनेक ढोका पनि खुल्दै जाने हो । तर, त्यो प्रविधि शासकको शासनकलामा निखार ल्याउने औजारमात्र बन्न हुन्न । त्यसले जनताको जीवनमा पनि सम्भावनाको ढोका खोल्न सक्नुपर्छ । रहरले मात्र हुने काम केही समयको लागि हुन्छ । त्यसले दिगो प्रगति ल्याउन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *