भर्खरै :

नेमकिपा देश र जनताप्रति समर्पित

– गौरव प्रधान
नेपाल मजदुर किसान पार्टीको पथ प्रदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा हो । नेमकिपा त्यही सिद्धान्त र विचारको आधारमा अघि बढिरहेको हो, पार्टीका नेता र कार्यकर्ताहरू लागिरहेका छन् । पार्टीले जहिल्यै पार्टी अनुशासन, आर्थिक अनुशासन र जिम्मेवारीलाई जोड दिँदै आएको छ । पार्टीले कहिले पनि दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने राजनीति गरेन । जातीय राजनीति, सङ्कीर्ण विचारबाट नेमकिपा टाढा छ । नेमकिपाको स्वार्थ भनेको देश र जनताको सेवा हो, देश र जनताप्रति समर्पित हुनु हो ।
पार्टीले देश विदेशमा भइरहेको शोषित पीडित जनताको आन्दोलनको समर्थन गर्छ, ऐक्यबद्धता जनाउँछ । कुनै पनि देशको स्वाधीन र सार्वभौम देशको पक्षमा नेमकिपा उभेको छ । पार्टी नेता तथा कार्यकर्ताहरू आफ्नो देश जोगाउने अभियानमा मात्र होइन अरु देशले गरिरहेको दमन, थिचोमिचो, अतिक्रमण, आक्रमण र दबाबको विरोध गर्छन् । कुनै पनि स्वाधीन र सार्वभौम देश अरु देशको भरमा बस्न नहुने या कठपुतली हुन नहुने नेमकिपाको ठम्याइ हो । नेमकिपा इमानदारीपूर्वक देश र जनताको सेवा गर्न जोड दिन्छ । आफ्नो दलको सिद्धान्त र विचार थन्काएर, पन्छाएर पद र पैसाको निम्ति राजनीति गर्ने कामको नेमकिपा विरोध गर्छ । कम्युनिस्टको नाउँमा कम्युनिस्ट सिद्धान्त र विचार तोडमोड गरेर कम्युनिस्टकै बदनाम गर्ने नक्कली कम्युनिस्टहरूको नेमकिपा आलोचना गर्छ । हरेक कम्युनिस्ट पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई आफ्नो देश, काल र परिस्थितिअनुसार लागू गर्न जोड दिन्छ ।
कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन्, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्छन् । नेमकिपा दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न सिद्धान्तको बेवास्ता गर्ने र विदेशी दबाब स्वीकार्ने कुराको नेमकिपा विरोध गर्छ । पार्टीका प्रत्येक प्रशिक्षण, कक्षा र सङ्गठनका कार्यक्रमहरूमा नेता तथा कार्यकर्ताले आफ्नो पदको दुरुपयोग नगर्न, आफ्नो इज्जत र प्रतिष्ठामा दाग लाग्ने काम नगर्न, कुनै पनि सेवा इमानदारीपूर्वक गर्न जोड दिइएको हुन्छ । कुनै कार्यकर्ताले गरेको कमी कमजोरी औँल्याएर सुधार्न आलोचना गर्न पार्टीले प्रशिक्षण दिएको हुन्छ । पार्टीले वर्ग शत्रु र वर्ग मित्र चिन्न जोड दिन्छ । यसरी देश र जनताको सेवामा सङ्घर्षरत दल नेमकिपाको सातौँ अधिवेशन भक्तपुरमा हुन गइरहेको छ । यस अधिवेशनलाई समाजवादी प्रचार अभियान या कम्युनिस्टको सिद्धान्त र विचार घर आँगनमा पु¥याउने अभियानको रूपमा लान तमाम नेता तथा कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरू लाग्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *