भर्खरै :

मन्त्रीहरूले गल्तीको माफी माग्नुपर्दैन ?

बुधबार नयाँबानेश्वरमा ट्राफिक नियमविपरीत पार्किङमा राखिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले नियमानुसार ह्विल लक गरे । यसअघि गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा पनि यस्तै कार्वाहीमा परेको थियो । उच्चपदस्थको गाडीमा ह्विल लक गर्ने ‘हिम्मत’ गरेको भन्दै ट्राफिक प्रहरीलाई केही युवाले सम्मानसमेत गरेका थिए । ह्विल लक गरिएको यातायात मन्त्रीकै गाडीविरुद्ध के कारबाही भयो अथवा कारबाही गर्ने प्रहरी नै पो कारबाहीमा परे ? त्यसको खबर आउला नै । तर, प्रमुख प्रश्न मन्त्रीको गाडीले किन नियमको पर्वाह गरेन ?
कानुनको कार्यान्वयन गराउने निकायको अति जिम्मेवारी व्यक्तिबाट नै कानुनको अवहेलना हुन्छ भने तिनीहरूबाट नियमको कार्यान्वयन गराउने कुरामा जनताले कसरी विश्वास गर्ने ? इतिहासमा कुनै समय थियो, जब शासकहरू कानुनभन्दा माथि हुन्थे । कानुनले गल्ती देखाएको विषयमा पनि शासकको लागि लागू हुँदैनथ्यो । कानुन र नियम भनेको सर्वसाधारण जनताको हकमा मात्र लागू हुन्थ्यो । पूर्वराजा ज्ञानेन्द्रका छोरा पारस शाहले गायक प्रवीण गुरुङको हत्या गरे । तर, पारसलाई कार्वाही गरिएन किनभने राजपरिवार कानुनभन्दा माथि थियो । राजपरिवारलाई कानुन लाग्दैनथ्यो ।
शासक र जनताबीचको त्यस्तै विभेदकारी व्यवस्थाको विरोधमा नेपाली जनताले गणतन्त्र स्थापना गरेका हुन् । राजा र राजापरिवार जस्तै कानुन नलाग्ने कुनै व्यक्ति र परिवार नहोस् भनेर नै राजतन्त्रलाई बिदा गरिएको थियो । तर, आजका शासकहरू पनि नियम उल्लङ्घनमा हिजोका शासकभन्दा भिन्न प्रस्तुत हुन सकेका छैनन् । हिजोकै सामन्ती चिन्तन आजका शासक वर्गमा पनि उत्तिकै जब्बर रहेको धेरै दृष्टान्त छन् । मन्त्री महासेठको गाडी राख्नु आजका शासक वर्गमा अझै बाँकी रहेको सामन्ती चिन्तनकै दृष्टान्त हो ।
झन्डा भएको गाडीले जे गरे पनि हुन्छ भन्ने चिन्तन आज पनि बाँकी नै छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा अर्घाखाँची जाने क्रममा उनी चढेको गाडीले मयुर किचेर हुँइकियो । स्थानीयले विरोध गरे । जङ्गली जनावर मार्नेलाई के कति सजाय हुने विषयमा नेपालमा कानुन छ । तर, त्यो कानुनको पालना मन्त्री बाँस्कोटाको सन्दर्भमा लागू भएन । कम्तीमा मन्त्रीले क्षमा माग्नुपर्ने थियो । तर, घाँटी घाँटीसम्म सत्ताको उन्माद चढेका मन्त्रीहरूलाई माफी शब्द पच्ने कुरै भएन । कानुन भनेको सर्वसाधारणको लागि हो, आफ्नो निम्ति होइन भन्ने भावना आजका शासक वर्गमा भरिभराउ छ ।
कानुनी शासनको गौरव भनेको कानुनको सबैबाट पालना हुनु हो । राष्ट्रपतिदेखि सर्वसाधारणसम्म बिना कुनै भेदभाव कानुन लागू हुने देशमा नै कानुनी शासन बलियो हुन्छ । राजालाई एक थरी कानुन र जनतालाई अर्को थरी कानुन कानुनी शासन कदापि हुन सक्दैन । खासमा कानुनी शासनमा कानुनको सबभन्दा तदारुकतासाथ पालना शासकबाट हुुनुपर्ने हो । कदाचित कानुन मिचिएको अवस्थामा सजाय भोग्नुपथ्र्यो । मेक्सिकोमा हवाई यातायात मन्त्रीले समयमा विमान सञ्चालन नभएको नैतिक कारणले पदबाट राजीनामा दिएको घटना धेरै पुरानो होइन । त्यो नैतिकता र अनुशासन दुवै हो । नैतिकता र अनुशासनले नै कानुनी शासन चल्ने हो । गल्ती भए कम्तीमा क्षमा माग्ने प्रचलनले पनि समाजमा नयाँउदाहरण स्थापित हुन सक्दछ । विडम्वना नेपालमा कानुनको पालना गरेका प्रहरी अधिकारीमाथि कारबाही भएका उदाहरण भने धेरै छन् ।
रघुवीर महासेठले बुधबार गरेको गल्ती र गोकुलप्रसाद बास्कोटाले गरेको गल्तीलाई लिएर सार्वजनिक रुपमा क्षमा याचना गरे समाजमा नैतिकताको मानक स्थापना हुनेछ । शासक वर्गलाई यस्ता सल्लाह भने त्यत्ति सहज नहुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *