भर्खरै :

निर्वाचनमा दुईतिहाइ प्राप्त गर्दैमा कुनै पार्टी ‘कम्युनिस्ट’ हुने भए पहिले पञ्चायत र आज भारतको भारतीय जनता पार्टी पनि ‘कम्युनिस्ट’ पार्टी भनिने थिए

 
(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले समसामयिक राजनीतिक अवस्था र नेपालको कम्युनिस्ट आन्दोलनबारे श्रमिक साप्ताहिक मजदुर दैनिक र दृष्टि साप्ताहिकलाई दिनुभएको अन्तर्वार्ता प्रस्तुत छ – सम्पादक)
यति लामो सङ्घर्षपूर्ण जीवनलाई फर्केर हेर्दा के गुमाएँ, के पाएँ जस्तो लाग्छ ?
गुमाएँ भन्नुभन्दा उमेर थपेँ र केही अनुभव प्राप्त गरेँ भन्ने लाग्छ ।
यिहाँ नेपाली कम्युनिस्ट आन्दोलनको एउटा अभिभावककै रूपमा हुनुहुन्छ । आजका दिनसम्म पनि सङ्घर्षरत हुनुहुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्थाको विश्लेषण कसरी गर्नुहुन्छ ?
पुराना कथा र पुराणहरूमा जसरी भेष बदली लडाइँहरू जित्छन्, त्यस्तै नेपालको कम्युनिस्ट आन्दोलनमा पुँजीवादीहरू कम्युनिस्टको भेषमा कामदार जनता र संसारलाई धोका दिंँदै सत्तामा पुगेका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनको शृङ्खलालाई हेर्दा आजको दिन उपलब्धिपूर्ण हो या निराशाको ?
रुसी कम्युनिस्ट पार्टीकै इतिहास हेर्दा सन् १९१७ को समाजवादी क्रान्तिभन्दा पहिले पनि अनेक सैद्धान्तिक विचलन देखिए भने सोभियत सङ्घको सफलता चुलीमा पुग्दासमेत खु्रश्चेभ संशोधनवादीहरू देखापरे । गोर्भाचोभले सत्तामा पुगेपछि समाजवाद र सोभियत कम्युनिस्ट पार्टी नै विघटन गरे तथा सोभियत सङ्घलाई १५–१६ टुक्रामा विभाजित गरे ।
कार्ल माक्र्स र एङ्गेल्सपछि जर्मनीको कम्युनिस्ट पार्टीमा बर्नस्टिनजस्ता विश्वासघातीहरू देखापरे । तिनीहरूले निर्वाचन जितेर सरकारमा पुग्ने अर्थात् शान्तिपूर्ण ढङ्गले नै क्रान्ति हुन्छ भन्ने खोटो सिद्धान्त अघि सारे । यही कुरा भारतीय कम्युनिस्ट आन्दोलनमा डाङ्गे गुटले र इन्डोनेसियामा डी.एन.अडितले सुकार्नोकै पालाको सरकारलाई ‘अर्ध–समाजवाद’ भन्दै सशस्त्र सङ्घर्षको बाटो त्यागेका थिए । त्यसको परिणाम देखिहालियो । १५ लाख कम्युनिस्टहरू मारिए र प्रतिक्रियावादी र तानाशाही सुहार्तोहरूले ५०–६० वर्ष शासन गरे ।
नेपालको कम्युनिस्ट आन्दोलनमा सरकारमा जाने नेताहरू र ‘जनताको बहुदलीय जनवाद’ लाई अघि सार्ने मदन भण्डारीसमेत नेपालका बर्नस्टिन हुन् । यस्तो स्थितिलाई निराशाको भन्दा पनि सैद्धान्तिक विचलन र अस्पष्टताको स्थिति भन्नु बढी उपयुक्त हुन्छ ।
समग्र प्रोग्रेसमा हेर्दा हामी समाजवादतिर जाँदै छौँ, अथवा उल्टो बाटो हिँडिरहेका छौँ ?
‘कम्युनिस्ट’ नामका नेपाली शासकहरूले नेपाली कामदार जनतामाझ समाजवाद शब्दलाई बिटुल्याउँदै छन् र पुँजीवादी दलका नेताहरूले त ‘एमाले, माओवादी’ र अन्य नेकपा समर्थक दलहरूलाई “यिनीहरू त हामीजस्तै” अर्थात् नेपाली काङ्ग्रेसजस्तै हुन् भनी चिनिसकेका छन् ।
यहाँहरूको विश्लेषणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कस्तो पार्टी हो ?
उत्तर – आजको ‘नेकपा’ पनि भाइ–काङ्ग्रेस हो । २५ वर्षअगाडि एमालेलाई ‘भाइ–काङ्ग्रेस’ भनेको थिएँ–सदनमा । यो मेरो गाली र विरोध होइन–विश्लेषण हो ।
उसले आफूलाई कम्युनिस्ट दाबी गर्छ, समाजवादी यात्राको नेतृत्व गरिरहेको दाबी गरेको छ नि ?
नेकपाले पुँजीवादलाई मलजल गरेको स्वीकार नगरेसम्म नेकपाको काम कारबाहीलाई ‘समाजवादको यात्रा’ भन्न सकिन्न । भन्नलाई त इन्दिरा गान्धीले पनि ‘समाजवाद’ ल्याउने र ‘गरिबी हटाऊ’ भनिन् । हिटलरले पनि ‘राष्ट्रिय समाजवाद’ को नारा दिएकै हो । बी.पी.ले २०१५ को निर्वाचन घोषणापत्रमा हाम्रो टाढाको उद्देश्य ‘समाजवाद’ भनेका थिए । त्यसबेला गोर्खा परिषद्को घोषणापत्रमा ‘शोषणरहित समाज’ खडा गर्ने लेखिएको थियो । त्यसको अर्थ पनि समाजवाद नै हो ।
नेपाल मजदुर किसान पार्टीले भन्ने समाजवादी व्यवस्थाका सूचक के–के हुन् ?
उत्पादनका मुख्य–मुख्य साधन र सेवाहरूको सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, व्यक्तित्व विकासमा समान अवसर, निःशुल्क शिक्षा र स्वास्थ्य उपचारका नीति लागू गर्दै जाने, जमिन जोत्नेको नीति लागू गर्ने आदि । समाजवाद स्थापना गर्न पार्टी कार्यकर्ताहरूले व्यक्तिगत सम्पत्तिभन्दा सार्वजनिक सम्पत्तिलाई माया गर्ने, निःस्वार्थरूपले देश र जनताको सेवा गर्नेबारे प्राथमिकता दिनुपर्नेमा नेकपाले उल्टो काम गरिरहेको यहाँ भनी साध्य छैन ¤ तपार्इँहरू आफै जानकार हुनुहुन्छ ।
यहाँहरूले बोक्दै आउनुभएको विचार प्रयोगका दृष्टिले अनुपयुक्त छ भन्नेहरू पनि छन् नि ?
देश र समाजको स्तरअनुसार एक–एक गरेर कामदार वर्गको हितका नीतिहरू व्यवहारमा लागू गर्दै जानु आवश्यक हुन्छ । नेपालजस्तो कम जनसङ्ख्या र क्षेत्रफल भएको देश प्रजग कोरिया र क्युवाका उदाहरण र उपायहरूमा नेपालको कम्युनिस्ट आन्दोलनले धेरै अध्ययन गर्नुपर्ने विषय छन् ।
नेपालकै सन्दर्भमा भन्दा भक्तपुरको ‘लालकिला’ पनि गत निर्वाचनबाट ढल्यो । यहाँहरूको विचार सबैभन्दा वैज्ञानिक हो भने फैलिनुको सट्टा किन खुम्चियो ?
भक्तपुर किसान आन्दोलनको थलो र राजनीतिक सङ्घर्षको थलो हो तर हामीले भक्तपुरलाई कहिल्यै ‘लालकिला’ नाम दिएका छैनौँ किनभने जिल्लामा गैर–कम्युनिस्टहरू बहुमत छन् । पुंँजीवादी व्यवस्थामा निर्वाचन क्षेत्रलाई सरकारले हेरफेर गरेर निर्वाचन परिणामलाई तलमाथि गर्नेबारे हामीले बताउँदै आएका छौँ । अनेकौँ देशका पुंँजीवादी सरकारहरूले मजदुरहरूको निर्वाचन क्षेत्रलाई हेरफेर गरेर मजदुर प्रतिनिधि कम गर्ने जालसाझी गर्छन् भन्नेबारे नेमकिपा अवगत छ । शासकहरूले भक्तपुरको निर्वाचन क्षेत्र हेरफेर गरेकोमा वा साम्प्रदायिक भावना फैलाएकोमा, देश र विदेशी पैसा खर्च गरेकोमा र कर्मचारीहरूमार्फत अनेक अनियमितता गरी निर्वाचन परिणाममा प्रभाव पारेकोमा हामीलाई अलिकति पनि आश्चर्य छैन, किनभने हरेक पुंँजीवादी पार्टीले जस्तै नेमकिपाको विरोधमा नेकपाले छलछाम गरेकोमा किन आश्चर्य मान्नु ? यसबाट नेकपाका नेता र कार्यकर्ताको राजनैतिक नैतिकताको आँकलन हुन्छ ।
यी व्यवहारहरूले नै नेकपा ‘कम्युनिस्ट’ पार्टी होइन भन्ने साबित गर्छ । साथै नेकपाले अत्यन्त धेरै बहुमत ल्याए पनि समाजमा आमूल परिवर्तन गर्न सक्दैन भन्ने प्रस्ट छ । चुनावबाट समाजवाद आउँछ भन्ने दृष्टिकोण नै संशोधनवादी भएकोमा सबै जानकार नै छन् ।
निर्वाचनमा दुईतिहाइ प्राप्त गर्दैमा कुनै पार्टी ‘कम्युनिस्ट’ हुने भए पहिले पञ्चायत र आज भारतको भारतीय जनता पार्टी पनि ‘कम्युनिस्ट’ पार्टी भनिने थिए । आफूले सबैभन्दा बलियो, मुख्यधार र वैज्ञानिक सम्झिने नेकपा (एमाले–माओवादी) ले बारम्बार सरकारको नेतृत्व गरेर पनि सार्वजनिक उत्पादनका साधनहरू–उद्योगधन्दा र सेवाहरूको निजीकरण किन गरे ? साथै देशको उत्पादन किन घट्दो छ ? नेकपाका नेताहरू नै अनेक आर्थिक अनियमितताका जिम्मेवार हुँदा जनतामा झन ठूलो भ्रम बढ्यो । समाजवादको कुरो त एक दन्त्य कथा बन्यो । एनसेल र अनेक निर्माण कम्पनी र व्यापारीहरूबाट करोडौँ होइन अरबौं–अरब रकम अपचलन गर्ने नेकपा नेका, राप्रपा र मधेसवादी दलहरूभन्दा माथि किन उठ्न सकेन ?
वर्गीय समाजमा जात–जाति, भाषाभाषी, क्षेत्रीयता र धार्मिक भेदभाव एवम् पक्षपात भएको समाजमा योग्यताको कदर र न्याय हुँदैन । मुद्रामा जसरी ग्राम्सन्सको नियम लागू हुन्छ, त्यस्तै नेपालको कम्युनिस्ट आन्दोलनमा पनि नक्कली कम्युनिस्टहरूले सक्कली कम्युनिस्टहरूलाई पछाडि धकेले । यसकारण रोजा लक्जेम्वर्गले व्यङ्ग्य गर्नुभएको थियो– “संसारका मजदुर वर्ग एक होऊ, एक कम्युनिस्टले अर्को कम्युनिस्टको पिठ्यूँमा छुरा हान ¤” नेकपाको चरित्र यही हो, यसका धेरै उदाहरण छन् । निर्वाचनबाट वैज्ञानिक समाजवाद स्थापना हुने भए आजभन्दा एक सय वर्ष अगाडि नै संसारमा वैज्ञानिक समाजवाद स्थापना भइसक्ने थियो । कम्युनिस्ट आन्दोलन समुद्रको छाल र ज्वारभाटाजस्तै कहिले उठ्ने र कहिले हट्ने गर्छ–त्यसका विविध कारणहरू हुन्छन् ।
संसारभर भएका कम्युनिस्ट सत्ता ढले । कम्युनिस्ट पार्टी कि त दक्षिणपन्थीमा परिणत भए, कि त सकिए । किन यसो भयो ?
‘संसारभर भएका कम्युनिस्ट सत्ता ढले’ भन्ने दृष्टिकोण ‘भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ’ भन्ने नेपाली उखानजस्तै हो । सोभियत संशोधनवादी र विश्वासघातीहरूको कारण पूर्वी युरोपमा भएको समाजवादको अस्थायी हारलाई नै ‘सबै समाजवादी देश समाप्त भए’ र ‘इतिहासको अन्त भयो’ भन्नेहरू खोटो विश्लेषणको शिकार, नक्कली र विश्वासघाती कम्युनिस्टहरू हुन् । समाजवादी देशको उदाहरण प्रजग कोरिया र समाजवादी क्युवा नै पर्याप्त छैन र ?
सामाजिक जीवनमा पनि दृढता नभएका, काम गरेको जस्तै मात्र गर्ने तर मनैदेखि काम नगर्ने, कम काम गरी धेरै उपलब्धि चाहने, आफ्नो मेहनतभन्दा अरुसँग मागेर जीवन चलाउन खोज्ने, गुणका वैरीहरू ढलेका छन् र शत्रुलाई पनि मित्र सम्झने तथा क्रान्तिको परिस्थिति तयार भएर पनि क्रान्ति नगर्ने, सानो स्वार्थको निम्ति ठूलो स्वार्थ छोड्ने, अल्पकालीन हितको निम्ति दीर्घकालीन हित छोड्नेहरू, दक्षिणपन्थीहरू जिउँदै मरेकोमा के आश्चर्य मान्नु ?
संविधानमा समाजवादउन्मुख लेखियो । संविधान बनेपछि वर्तमान सरकारले दुईवटा नीति तथा कार्यक्रम र बजेट ल्यायो । तिनमा समाजवादी लक्षण कतिको पाउनुभयो ?
संविधानमा ‘समाजवादउन्मुख’ वाक्यांश त फ्रान्सेली क्रान्तिको बेला १० वर्षमा ४ वटा बनेका संविधानहरूमा पनि थियो र भारतीय पुंँजीवादी संविधानमा पनि देखावाको रूपमा छ, श्रीलङ्काले एकपटक आफ्नो संविधानमा समाजवादी नै घोषणा ग¥यो । सम्झनु र बुझ्नुमा अनि काम गरेर देखाउनुमा भिन्नता छ । २–४ पटक नै सरकारको नेतृत्व गर्ने नेकपाका नेताहरू नेकाकै पदचिह्नमा लागे । फरक खालि दलको नाम र नेताहरूको नाममा देखियो ।
यहाँहरूको पार्टी र यहाँहरूको पार्टीको नेतृत्वमा रहेको स्थानीय सरकारलाई केहीले उत्तर कोरियाली मोडल पनि भन्छन् । उत्तर कोरियाकै सिको गरिएको हो ?
नेमकिपाले कुनै सरकारको नेतृत्व गरेको छैन । सरकारले बनाएको ऐन–कानुनभित्र बसेर काम गर्नुपर्ने नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समिति आफँै सरकार होइन जसरी कुनै सार्वजनिक विद्यालय, कलेज र कल–कारखाना आफँै सरकार हुने गर्दैनन् ।
जापानी सैन्यवाद र अमरिकी साम्राज्यवादसँग झन्डै ७० वर्षसम्म सङ्घर्ष गर्ने प्रजग कोरियासँग हाम्रो कुनै तुलना हुनसक्दैन । नेकपाका धेरै नेताहरू प्रजग कोरियाको भ्रमण गरिसकेका छन्, तिनीहरू त्यसबारे किन लेख्दैनन् ?
होइन भने किन त्यसो भनियो होला ?
नेपाल मजदुर–किसान पार्टीले सुरुदेखि अमरिकी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्ने प्रजग कोरिया, भियतनामी जनता, लावस र कम्बोडियाको सङ्घर्षको समर्थन गर्दै आएको छ । त्यस्तै क्युवाली क्रान्ति र क्युवाली जनताको अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षलाई समर्थन गर्दै आएको छ । इराक, लिविया, सिरिया र भेनेजुयाली जनताको अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षलाई पनि समर्थन गर्दै आएका छौँ ।
भदौमा आँखा फुट्ने गोरुले के किन भन्छन् भन्ने कुरा तिनीहरूले नै बुझ्नेछन् ।
यहाँको नजरमा कम्युनिस्ट पार्टी बन्नलाई चाहिने कसी के हो ?
क्रान्तिकारी विचार नभई भित्री हृदयदेखि निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने भावना नभएका, काठमाडौँमा जाने, घरजम गर्ने, चुनाव जितेर सरकारमा जाने भन्ने सानो स्वार्थ लिएर आएका ‘कम्युनिस्टहरू’ सत्तामा जालान् र धेरै गए तर समाजमा मौलिक परिवर्तन ल्याएनन्, बरु पहिले दास मालिकहरूले गरेजस्तै ७० लाख युवाहरूलाई बहुराष्ट्रिय कम्पनीहरूको लागि सस्तो ज्यामी पठाउने नीति बनाए र पठाए । यो काम राणाहरूले बेलायती साम्राज्यवादको मुकुट चम्काउन नेपाली युवाहरू दिएजस्तै हो । नेकाकै पदचिह्नमा युवाहरू विदेश पठाइयो, रेमिट्यान्सको नाममा दलाली भाग लिएर ।
बल प्रयोगको सिद्धान्त, लेनिनवादी सङ्गठनात्मक पद्धति, सर्वहारा वर्गको अधिनायकत्वको प्रयोग अहिलेको परिवर्तित समाजमा सम्भव छ ?
प्रतिक्रियावादी वर्ग यदि हतियार लिएर कामदार वर्गलाई दबाउन आउँदैन भने कामदार वर्गले किन हतियार उठाउँछ ? शोषक वर्गले हतियार लिएर दबाउन आएमा जस्तालाई त्यस्तैको सङ्घर्ष नगरी विजयको आशा गर्न सकिन्न । निर्वाचनबाट भारतको केरलामा बारम्बार कम्युनिस्टहरूले विधानसभामा विजय प्राप्त गरे, तर बारम्बार राष्ट्रपति शासन लागू गरेर सबै नेताहरू र मन्त्रीहरू थुनिए, मन्त्रिमण्डल र विधानसभा नै भ· गरियो ।
स्वतन्त्रतापछि भारतमा कम्युनिस्ट पार्टी दोस्रो दल थियो । आजको भाजपा र हिजोको जनसङ्घको संसद्मा तीन–चार सांसदमात्र थिए । तेलंगाना किसान आन्दोलनलाई नेहरू सरकारले दबाइसक्दा पनि भारतमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्दै थियो ।
संरा अमेरिकी साम्राज्यवाद र अन्य प्रतिक्रियावादीहरूले बेलायती सर्भेयरले कोरेको म्याक मोहान लाइन नै भारतको सीमा बताई चीनसँग सन् १९६२ मा सीमा भिडन्तमा पु¥याए । ‘राष्ट्रियता’ को नाममा भारतीय कम्युनिस्ट आन्दोलनलाई दबाउने मौका पाए । त्यसबेलाको कम्युनिस्ट नेतृत्वले समयमै सङ्घर्ष गरेको भए ‘राष्ट्रियता’ को दमनचक्र कमजोर हुने थियो । नेतृत्व डांगेको हातमा कम्युनिस्ट थियो, डांगेले नेहरूको नेतृत्वबाट समाजवादको आशा गर्थे र चीनसँग लड्न नेहरूलाई समर्थन गरे । यसरी भारतीय कम्युनिस्ट आन्दोलन निस्तेज हुँदै गयो ।
माक्र्सवादको संश्लेषणको विश्व परिवेश, विज्ञान र प्रविधिको तत्कालीन अवस्था र अहिलेको विश्व परिवेश, विज्ञान–प्रविधिको आश्चर्यजनक विकासले कहीँ न कहीँ कम्युनिस्ट कार्यनीतिहरूको कार्यान्वयनमा चुनौती थपे थपेनन् वा नयाँ संश्लेषणको आवश्यकता देखिन्छ कि देखिँदैन ?
बदलिँदो विश्व परिवेश एवम् विज्ञान र प्रविधिको विकासले कम्युनिस्ट आन्दोलनको कार्यनीतिमा चुनौती होइन अझ सहयोगी परिस्थितिको खोजी र उपायबारे चिन्ता गर्नु आवश्यक छ– स्वचालित यन्त्रहरूको कारण मजदुरहरूको शारीरिक काम धेरै सजिलो बनाएजस्तै ।
नेपालका आफूलाई कम्युनिस्ट पार्टी भन्नेहरूले उत्पीडित जनता, मजदुर र किसानका मुद्धा उठाउन छाडे । वर्गसमन्वयवादी भए भन्ने आरोप हो कि ठीक विश्लेषण ?
यो आरोप नेमकिपालाई लाग्दैन ।
अघिल्लोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यहाँको पार्टीले समर्थन गरेको थियो । तर, अहिले किन विरोध ?
भारतीय नाकाबन्दीको विरोधमा सङ्घर्ष गर्न नेमकिपाले सहयोग नगर्नु भारतको थिचोमिचोको समर्थन गर्नु थियो ।
केही साताअघि नेकपा मुख्यालयबाट नेकपाका शीर्ष नेताहरूले यहाँको नामै लिएर एकताको आह्वान गरेका थिए । त्यसलाई कसरी लिनुभएको छ ?
यसबारे मलाई जानकारी छैन ।
राजनीतिकरूपले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संशोधनवादी, दक्षिणपन्थी भयो भन्नुहुन्छ । तर, त्यो शक्तिले यतिबेला मुलुकको दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको छ । हामी क्रान्तिकारी शक्ति हौँ, साँचो कम्युनिस्ट हौँ भन्ने तपाईंहरू साङ्गठनिकरूपले खुम्चिँदै हुनुहुन्छ । किन यस्तो हुन्छ ?
यसको उत्तर अघि नै गइसकेको छ । पहिले पञ्चहरू राष्ट्रिय पञ्चायतमा धेरै थिए र आज भाजपा भारतीय संसद्मा ठूलो सङ्ख्यामा छ, तर तिनीहरू कम्युनिस्ट होइनन् । साथै कुनै पार्टीको सबलता र जनताको सेवा गरेको नापतौल संसद्को सङ्ख्यामा होइन, जनताको सेवा र भावना तथा वर्गीय सङ्घर्षमा हेरिन्छ ।
क्रान्तिकारी शक्तिहरू खुम्चिँदै जानुमा संसारभर अहिले विद्यमान पुँजीवादी व्यवस्था र तिनका दबाबको कति भूमिका होला ?
ल्याटिन अमेरिकामा तुलनात्मकरूपले क्रान्तिकारी र देशभक्तहरू खुम्चिंदै गएको विश्लेषण पूर्णरूपले असत्य छ । त्यस्तै अफ्रिकामा समेत त्यो कुरा सत्य होइन । नेपालमा कम्युनिस्ट आन्दोलनलाई कमजोर गर्न नेकपाले नै अन्तरघात गरेको, संशोधनवादी बाटो लिएको र भारतीय ‘ट्रोजन हर्स’ बन्नु हो ।
हाम्रो सन्दर्भमा अमेरिका, भारतलगायतका देशको भूमिका कस्तो देख्नुहुन्छ ?
संरा अमेरिकी साम्राज्यवाद–भारतीय विस्तारवादको गतिविधिले एसियामा तेस्रो विश्वयुद्धको सम्भावनालाई सहयोग पुग्ने निश्चय छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादकोे बीचमा मतभेद भएमात्रै त्यो सम्भावना टर्नेछ ।
नेपाली कम्युनिस्ट आन्दोलन र मुलुककै चुनौती के–के हुन् ?
नेपालको कम्युनिस्ट आन्दोलनमा परिमार्जन नआएसम्म देशमा अहिले देखिएका विकृतिहरू वा चुनौती समाधान गर्न सकिने छैन र काश्मीरको घटनाले भुटानपछि नेपालसमेत भुटानको स्थितिमा पु¥याउन यो सरकारले रातो कार्पेट नबिछ्याओस् भन्ने सचेत जनताको चिन्ता छ तथा प्रचण्ड र परराष्ट्रमन्त्रीको आत्मसमर्पणवादी दृष्टिकोणले देशलाई जोगाउन सक्नेछैन ।
अन्त्यमा कम्युनिस्ट आन्दोलनको भविष्य भने कस्तो देख्नुहुन्छ ?
नेपाल कम्युनिस्ट आन्दोलनको अगाडि कठिन पर्खालहरू खडा छन्, त्यसको विरोधमा कष्टसाध्य सङ्घर्ष आवश्यक छ । नेपाल कम्युनिस्ट आन्दोलनलाई नक्कली कम्युनिस्टहरूबाट जोगाउने काममा लागिरहनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *