भर्खरै :

डुब्न लागेको घाम

वाङ लेई
गएको अगस्त २४–२६ मा फ्रान्सको सामुद्रिक तटीय सहर बायरिट्जमा सात देशको समूह (जी ७) को बैठक बस्यो । संसारले विश्व शक्तिमा ठूलो परिवर्तन सामना गरिरहेको समयमा सो बैठक बस्यो । यतिबेला संरा अमेरिका र युरोपेली देशहरूबीचको खाडल अझ फराकिलो बनेको छ । संरा अमेरिका ‘अमेरिका प्रथम’ नीतिलाई अझ विस्तार गर्न लागिपरेको छ । युरोपका देशमा पनि युरोपेली पुनर्जागरणको आकाङ्क्षा जाग्दो छ ।
त्यसो त जी ७ को बैठक मूलतः अन्तर्राष्ट्रिय विषयहरूमा केन्द्रित थियो । बैठकमा विश्व अर्थतन्त्र, सुरक्षा व्यवस्था र जलवायु परिवर्तनजस्ता विषयमा छलफल भएको थियो । तर, विकसित देशहरूको क्लब आज डुब्दो सूर्य बनेको छ । अन्तर्राष्ट्रिय प्रभाव र त्यसको प्रभावशालिता दुवैको आधारमा त्यो डाँडापारिको घामजस्तै भएको छ ।
अव्यवस्थाको घर
जी ७ को स्थापना सन् १९७५ मा भएको थियो । शीतयुद्ध ताका सात वटा सबभन्दा विकसित औद्योगिक देशहरू–संरा अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, इटाली, फ्रान्स र जापानको महत्वपूर्ण सहकार्यात्मक संयन्त्र थियो । ती देशहरू कुनै बेला संसारकै अगुवा देशहरू थिए । तथापि एक्काइसौँ शताब्दीको आरम्भसँगै विश्व शक्तिमा क्रमशः परिवर्तन आइरहेको छ । चीन र भारतजस्ता उदयीमान आर्थिक शक्तिको उदय र जी ७ ले प्रतिनिधित्व गरेका पुराना औद्योगिक देशहरूको अवनतिका कारण विश्व शक्तिमा यस्तो परिवर्तन आउन थालेको हो ।
विशेषतः सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटपछि अधिकांश विकसित देश र उदयमान अर्थतन्त्रहरू मिलेर बनेको मोर्चा ‘बीस देशको समूह’ (जी २०) संसारको आर्थिक समन्वय र विश्व व्यवस्थाको प्रमुख दबु बन्यो । जी ७ भने पुराना विकसित देशहरूको सानो वृत्तभित्र नीतिगत समन्वय गर्ने दबुमा मात्र सीमित हुन पुग्यो । त्यस अतिरिक्त पनि जी ७ ले अनेक थरी आन्तरिक अन्तरविरोध र मतभेदको सामना गरिरहेको छ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रथम नीति लागू गरे । उनले युरोप र संरा अमेरिकाले अङ्गीकार गरेका साझा नियम र मूल्य–मान्यता रद्दीको टोकरीमा मिल्काइदिए । यी र यस्ता अनेक विषयले फ्रान्समा बसेको जी ७ को बैठक बिना निष्कर्ष टुङ्गियो । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि एक प्रकारले हाँसोको विषय बन्यो ।
बैठक असफल नहोस् भनेर नै फ्रान्सको राष्ट्रपति इमानुएल माक्रोंले बैठकअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेका थिए । सन् २०१४ मा रुसलाई जी ७ बाट निष्काशन गरिएको थियो । यो वर्षको बैठकअघि पुटिनसँग माक्रोंको भेटले उनले रुसलाई बैठकमा पुनः आमन्त्रण गर्ने सङ्केत गरेको थियो । माक्रोंकै पहलमा केही विषयमा छलफल गर्न बैठकमा भारत, अस्टे«लिया, इजिप्ट, दक्षिण अफ्रिका, चिली र ब्रुर्किना फासोलाई आमन्त्रण गरिएको थियो । बैठकलाई थप प्रतिनिधित्वमूलक बनाउन उनीहरूलाई आमन्त्रण गरिएको थियो ।
माक्रोंले इरानी विदेशमन्त्री जाभेद जरिफसँग पनि भेटे । चर्किदो इरानी आणविक सङ्केत समाधान गर्ने प्रयासस्वरूप माक्रोंले इरानी नेतालाई भेटेका थिए । पश्चिमा विश्वमा गहिरिँदो राजनीतिक र आर्थिक सङ्कट तथा उनीहरूबीचको मतभेद एकै बैठकबाट समाधान गर्न नसकिने भएकाले माक्रोंको पहल खासै फलदायी हुन सकेन ।
जी ७ बैठकको मूल विषय असमानताविरुद्ध लड्ने भए तापनि संरा अमेरिका र युरोपबीचको असमानता भने अझ चुलिँदो छ । पश्चिमा समाजको असमानताको जरा गहिरो छ । त्यसकारण पश्चिमा देशहरूले मात्र असमानता समाधान गर्न सक्दैनन् । पश्चिमा समाजका असमानता कम गर्ने उपचार भेट्टाउन मुस्किल छ ।
पश्चिमा समाजमा आर्थिक वृद्धि स्थीर छ र रोजगारीका अवसर कटौती भएको छ । सिङ्गापुरका अध्येता किशोरे माहबुबानीका अनुसार सन् १९४८ देखि १९७३ सम्ममा संरा अमेरिकाको उत्पादकत्व ९६.७ प्रतिशतले बढेको थियो । जनताको खुद ज्याला ९१.३ प्रतिशतले बढेको थियो । भूमण्डलीकरणको युग मानिएको सन् १९७३ देखि २०१५ सम्मको अवधिमा भने संरा अमेरिकाको उत्पादकत्व ७३.४ प्रतिशतले बढेको थियो । जनताको ज्याला दर ११.१ प्रतिशतले मात्र बढेको थियो । अधिकांश पश्चिमा देशहरूमा यस्तै भएको थियो । फलतः मध्यम वर्गको आय खुम्चियो अथवा गतिरोधतिर ओरालो झ¥यो ।
पश्चिमा देशहरूले मध्यमवर्गलाई थप अवसर प्रदान गर्ने नयाँ आर्थिक बन्दोबस्तको खाका कोर्न जरुरी छ । सन् २०१७ मा बैङ्क फर इन्टरनेसनल सेटलमेन्टले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी औद्योगिक सञ्जालमा चिनियाँ र पूर्वी युरोपेली श्रमिक शक्तिको उपस्थितिसँगै पश्चिमा देशहरूको आर्थिक वृद्धिमा सुस्तता आएको हो । संरा अमेरिकी राष्ट्रपतिमा ट्रम्पको चुनावी सफलता र ब्रेक्जिटको गहिरो आर्थिक कारण पश्चिमा देशहरूको त्यही आर्थिक सुस्तता पनि हो । संरा अमेरिका र बेलायतका श्रमिकहरूले यसको प्रभावको प्रत्यक्ष अनुभव गरे ।
आन्तरिक समस्या
त्यसअतिरिक्त जी ७ का सबै सदस्यहरू यतिबेला आन्तरिक समस्या पनि झेलिरहेका छन् । बेलायतका राजनीतिक पार्टीहरू ब्रेक्जिटबारे लडिरहेका छन् । अर्कोतिर स्कटल्यान्डमा स्वतन्त्रतापक्षधर शक्ति बलियो बनिरहेका छन् । युरोपेली सङ्घबाट कुनै व्यापार वा अन्य विषयको सम्झौता नगरी सङ्घबाट बेलायतको बहिर्गमन प्रस्तावलाई बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोनसनले पनि समधान गर्न सकेनन् । यसले बेलायत र बाँकी संसारलाई नै अन्योलमा धकेलेको छ ।
इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेले हालैमात्र राजीनामा दिनुपर्ने परिस्थिति सामना गरे । जर्मनीका चान्सलर एन्जेला मार्केल आगामी सन् २०२१ मा पदबाट बिदा हुँदै छिन् । अथवा उनी त्यसभन्दा अघि नै पदच्यूत पनि हुन सक्छिन् । त्यसकारण विश्व व्यवस्थामा कुनै परिवर्तन ल्याउन उनले महत्वाकाङ्क्षा राखेकी छैनन् । फ्रान्समा भएको पहेँलो लुगा आन्दोलन (एल्लो भेस्ट मुभमेन्ट) ले फ्रान्सेली समाजको अन्तरविरोध प्रतिविम्बित गर्छ ।
ट्रम्प सरकार आफै पनि सङ्कटमा छ । संरा अमेरिकामा पनि आर्थिक गतिरोधका सङ्केत देखिएका छन् । यदि आर्थिक सुस्तता देखापरे सन् २०२० को चुनावमा ट्रम्पलाई प्रभावित बनाउनेछ । चीनसँगको व्यापार तनावका कारण पनि ट्रम्पले अतिरञ्जनापूर्वक हल्ला गरेको ‘विजय’ बाट उनी टाढा छन् ।
संरा अमेरिका र युरोपबीचको खाडल अझ फराकिलो बन्दै गएको छ । जी ७ ले धेरै विषयमा समन्वय गर्न सकेको छैन । व्यापार र अर्थतन्त्रमा डिजिटल करमा उनीहरूबीच विवाद छ । फ्रान्सको वाइनमा कर बढाउने ट्रम्पले चेतावनी दिइरहेका छन् । सैनिक मामिलामा संरा अमेरिकाले आफ्ना युरोपेली मित्रहरूलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) मा आफ्नो आर्थिक लगानी बढाउन आग्रह गरिरहेको छ । इरानको आणविक सम्झौताको विषयमा संरा अमेरिका र युरोपले भिन्नभिन्न विपरीतार्थक धारणा बोकेका छन् । विश्व जलवायु परिवर्तनको सन्दर्भमा पनि दुई पक्षबीच फरक–फरक मान्यता छन् । उनीहरूबीचको मतभेद यति गहिरो भइसकेको छ कि मार्केलले एकपल्ट भनेकी थिइन्–युरोपले संरा अमेरिकालाई विश्वास गर्नसक्ने कुनै आधार छैन र आफ्नो भविष्यको लागि आफैँ लड्नुपर्ने अवस्था आएको छ ।
गतवर्ष ट्रम्पले जी ७ को बैठक समापन हुनुअघि नै छोडेर निस्केका थिए । उनले संयुक्त विज्ञप्तिसमेत जारी गर्न मानेका थिएनन् । त्यस्तै बेइज्जती सामना गर्नुपर्ला भनेर यो वर्षको बैठकमा विज्ञप्ति नै जारी गरिएन । ४४ वर्षको इतिहासमा जी ७ ले पहिलोपटक आफ्नो बैठक बिना विज्ञप्ति समापन ग¥यो । ‘द फिनासियल टाइम्स’ नामको पत्रिकामा प्रकाशित टिप्पणीमा चिन्ता पोख्दै लेखिएको छ, “पश्चिमको अवसानतिर नधकेलिंदै ट्रम्पले फ्रान्समा यो सप्ताहन्त बिताए मात्र पनि एउटा ठूलो विजय हुनेछ ।”
बाहिरबाट हेर्दा युरोपेली देशहरूका नेताहरूसँगै हिँडेजस्तो देखिए पनि ट्रम्पले वास्तवमा पटक–पटक युरोपेली सङ्घमाथि हमला गरेका छन् । उनले बेलायतको बिना सम्झौता युरोपेली सङ्घबाट बहिर्गमनको स्वागत गरिरहेका छन् । त्यसो गर्दाको नकारात्मक प्रभावलाई उनी बेवास्ता गर्दैछन् । जी ७ मा संरा अमेरिका क्रमशः एक्लो बन्दै छ । तथापि संरा अमेरिकाको सहभागिताविना अरूले मात्र पनि अन्तर्राष्ट्रिय व्यवस्थामा कुनै परिवर्तन गर्न सक्दैनन् । यसबाट प्रस्ट हुन्छ, आन्तरिक कलहबाट प्रभावित जी ७ ले संसारको आजको समस्याको समाधान गर्न सक्दैन ।
वास्तविकताको परीक्षण
पश्चिमा देशहरूले बदलिँदो परिस्थितिलाई स्वीकार्न र त्यसलाई अङ्गीकार गर्न तयार नभए पनि विश्व मामिलामा भने परिवर्तन आइसकेको छ । पहिलो शताब्दीदेखि सन् १८२० सम्म चीन र भारत सबभन्दा विशाल आर्थिक शक्ति थिए । युरोपेली अर्थतन्त्र उन्नाइसौँ शताब्दीको आरम्भबाट मात्र उकासिन थालेको हो । उन्नाइसौँ शताब्दीदेखि नै युरोपले संसारमा आफ्नो प्रभाव विस्तार गर्न थालेको थियो ।
एक्काइसौँ शताब्दीमा सुरुबाट विकासशील देशहरू र उदयीमान अर्थतन्त्र नै नयाँ शक्तिको रूपमा उदाउन थालेका छन् । विश्वमा पश्चिमा देशहरूको हिस्सेदारी क्रमशः घटेको छ भने चीन, भारत र अन्य उदयीमान अर्थतन्त्र क्रमशः उचाई उक्लिरहेका छन् । सन् २०१८ सम्म आइपुग्दा जी ७ ले कुल विश्व अर्थतन्त्रको झण्डै ४० प्रतिशतमात्र ओगट्न सकेको छ । जबकि जी २० ले विश्वको कुल अर्थतन्त्रको ८० प्रतिशत ओगटेको छ ।
पश्चिमले उन्नाइसौँ र बीसौँ शताब्दीको नेतृत्व गरे । अब भने उनीहरूले विकासशील देशहरूबाट सिक्दै र सम्बन्ध विस्तार गर्दै नयाँ परिस्थितिमा घुलमिल हुन जान्नुपर्छ । जी ७ का पुराना शक्तिहरू विकासशील देशहरूसँग मिलेर विश्व व्यापार सङ्गठनमा सुधार गर्नुपर्छ र नयाँ विश्वव्यापी चुनौतीको सामना गर्नुपर्छ । त्यसो गर्दामात्र नयाँ नियमबद्ध अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक व्यवस्थाले गति पक्रिन सक्छ ।
(लेखक चिनियाँसमसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका अध्येता हुनुहुन्छ ।)
स्रोतः बेइजिङ रिभ्यु
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *