भर्खरै :

नेपाल भाषाका महाकवि सिद्धिदासको व्यक्तित्व र कृतित्वको चर्चा

काठमाडौँ, २७ भदौ (रासस) : नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५२औँ जन्मजयन्तीको अवसरमा उहाँको व्यक्तित्व र कृतित्वको बारेमा बिहीबार चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पु¥याएको योगदानको चर्चा गरिएको हो ।
महाजुको कृतित्व र व्यक्तित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा ओमकारेश्वर श्रेष्ठले दुःख र कष्ट सहन बाध्य हुँदाहँुदै ५० ओटा पुस्तक दिएर नेपाल भाषाको उत्थानका लागि ठूलो गुन लगाउने काम गर्नुभएको बताउनुभयो । “रोजीरोटीका लागि मजदूरी गर्दै आफ्नो मातृभाषाको विकासमा आफँै खर्च गरेर पुस्तक प्रकाशन गर्नु निकै गाह्रो विषय हो”, उहाँले भन्नुभयो, “उहाँको योगदानको जति वयान गरे पनि कम हुन जान्छ ।”
सिद्धिदासले विसं १९६३ देखि १९७१ सम्म पण्डित चक्रपाणि चालिसेसँग सङ्गत भएपछि चालिसेबाटै छन्द लेख्न सिकेको उहाँले बताउनुभयो । डा श्रेष्ठले नेपाली भाषामा मोतीराम भट्टले अघि बढाएको विधालाई सिद्धिदासले नेपाल भाषाबाट चरमोत्कर्षमा पु¥याएको बताउनुभयो । “उहाँका विचार पढ्दा उहाँ शुरुमा परम्परावादी देखिनुभयो” उहाँले भन्नुभयो, “पछिल्लो चरणमा उहाँमा साहित्यिक व्यक्तित्व प्रचुर मात्रमा बढ्यो ।” डा श्रेष्ठका अनुसार समाजलाई बुझेर विचार व्यक्त गर्दा सिद्धिदास समाजभन्दा एक कदम अघि देखिनुभएको छ ।
कार्यपत्रमाथि प्राध्यापक डा प्रेमशान्ति तुलाधरले टिप्पणी गर्नुभएको थियो । “उहाँको योगदानलाई सधैँ सम्झिरहनुपर्ने छ”, तुलाधरले भन्नुभयो, “आफूमा भएको चेतना समाजलाई बाँड्दै नेपाल भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा उहाँको योगदान प्रशंसायोग्य छ ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले प्रतिष्ठानले विभिन्न मातृभाषामा योगदान पु¥याएका श्रष्टाहरुको सम्झनामा निरन्तर कार्यक्रम गरिरहेको बताउनुभयो । “एक समाजले अर्को समाजलाई बुझ्नको लागि मातृभाषाले धेरै सहयोग पु¥याइरहेको हुन्छ”, उहाँले भन्नुभयो, “बहुलताको अस्तित्वबाटै नेपाली समाज अघि बढेको छ ।” उहाँले सिद्धिदासको जीवनीका बारेमा पनि थप जान्ने मौका मिलको बताउनुभयो ।
उपकुलपति जगमान गुरुङले मातृभाषामा योगदान दिएका साहित्यकारहरुकै कारण विभिन्न भाषाहरु लोप हुनबाट जोगिएको बताउनुभयो । उहाँले साहित्यकारहरुलाई मृत्युपछि मात्रै नभएर बाँचुञ्जेल पनि उत्तिकै सम्मान र माया गर्नुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले उच्च साधना गरेर करीब ५० ओटा कृति प्रकाशनमा ल्याउने महाजुलाई सम्झन पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।
विभागका प्रमुख लक्ष्मी मालीले नेपालमा बोलिने १२३ भाषाहरुको संरक्षण र विकासमा विभागले ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । “सबै मातृभाषामा लेखिएका साहित्य सिर्जना हाम्रा सम्पत्ति हुन”, उहाँले भन्नुभयो, “भाषा साहित्य र संस्कृति एक आपसमा अन्र्तसम्बन्धित पक्षहरु हुन् ।”
सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जन कण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुख दुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जन हृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाशलगायतका कृति प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *