‘सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तकबारे परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम
- भाद्र ७, २०८३
काठमाडौँ, ८ भदौ । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गर्नु लेनिनवादी नीति हो । यो नीतिअनुसार नेमकिपाले पञ्चायती चुनावलाई उपयोग गर्दै आएको हो । पञ्चायती व्यवस्थाभित्र पसेर पञ्चायती व्यवस्थाकै विरोधमा नेमकिपाले कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको हो । इमानदारीपूर्वक र निःस्वार्थपूर्वक नेमकिपाले देश र जनताको सेवा गरिरहेकै कारण निरङ्कुश पञ्चायती व्यवस्थाका शासकहरू अतालिएका थिए । पञ्चायती शासकहरू नेमकिपाका नेता कार्यकर्तादेखि क्रूर थिए । नेमकिपाको लोकप्रियता सहन नसकेर र निरङ्कुश पञ्चायती व्यवस्था अन्त्यको निम्ति जिल्ला जिल्लाका जनताको घर आँगनमा पुगेर जनतालाई सचेत र सङ्गठित गरेको कारण पञ्चायती शासकहरू नेमकिपा र नेमकिपाका कार्यकर्ताहरूलाई आँखाका कसिङ्गर सम्झन्थे । त्यसकारण, पञ्चायती शासकहरू नेमकिपाको अस्तित्व नामेट पार्न अनेक जाल बुन्थे । प्रतिक्रियावादी, सामन्तवादी र पुँजीवादीहरू अनेक षड्यन्त्र र बेइमानीको राजनीति गरेर आफ्नो सत्तालाई टिकाउन र लम्ब्याउन चाहन्छन्† सत्ता लम्ब्याउन अनेक षड्यन्त्र र झूटको राजनीति गर्छन् । ‘भक्तपुर काण्ड’ पञ्चायती राज्यस्तरबाट रचिएको एक षड्यन्त्र हो ।
एउटा रुसी भनाइ छ, ‘जो आगोसँग खेल्छ, आगोमै मर्छ, जो पानीसँग खेल्छ पानीमै मर्छ ।’ पञ्चायती शासकहरूमा शक्तिको उन्माद थियो । सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भनी उनीहरू खोक्थे । नेमकिपा र नेमकिपाका नेता कार्यकर्ताहरू पार्टी स्थापनादेखि नै पञ्चायती निरङ्कुश व्यवस्थाको विरोधमा लागेका थिए । पञ्चायती व्यवस्थाको विरोधमा समयमा अलिकति पनि बिचलित नभइकन नेमकिपा लडिरह्यो । मौलिक र राजनीतिक अधिकारको निम्ति निरन्तर सङ्घर्षरत पार्टी नेमकिपा नै हो । नेता तथा कार्यकर्ताहरू कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै भूमिगत र अर्धभूमिगत भएर निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध खटिरहे । नेमकिपाझैँ अन्य कम्युनिस्ट पार्टी, प्रजातान्त्रिक पार्टीहरू सङ्घर्षमा लागेका भए, जनताको घर आँगनमा पुगेर जनतालाई सचेत र सङ्गठित गरेका भए, बहुदलको प्रचारमा लागेका भए २०३७ सालमा भएको जनमतसङ्ग्रहकै बेला बहुदलीय व्यवस्था आउँथ्यो ।
पञ्चायती व्यवस्थाको विरोधमा लागेकै कारण नेता तथा कार्यकर्ताहरू पक्राउमा परे । पञ्चायती शासकहरू उनीहरूलाई जेल र प्रहरी थानामा शारीरिक र मानसिक यातना दिन्थे; झूटा मुद्दा राख्थे; जेलमा कोचिएर सताउँथे । पञ्चायती प्रशासकहरू जुलुस गर्न दिन्नथे† सभा सङ्गठन गर्न दिन्नथे† साहित्य गोष्ठी गर्न दिन्नथे । शान्तिपूर्ण जुलुस र सभा बिथोल्थे, लाठीप्रहार गर्थे, समात्थे, थुन्थे । पञ्चायती गुप्तचरहरू टोल–टोलमा खटाउँथे, पञ्चायती व्यवस्थाको विरोधमा लागेका नेता कार्यकर्तालाई पक्राउ गर्न गुप्तचरहरू ‘रातो घेरा’ राखेर चिह्न राख्थे । यसरी देश र जनताको सेवा गर्न, प्रजातान्त्रिक अधिकार, न्याय, समानता पाउन सङ्घर्षरत नेता तथा कार्यकर्तालाई अनाहकमा दुःख दिएकै कारण उनीहरू आज पनि शिर ठाडो पारेर जनतासामु हिँड्दैनन्; उनीहरू अपराधबाट पीडित छन् र नुन खाएको कुखुरोझैँ निन्याउरो अनुहार लिएर हिँड्छन् ।
पञ्चायती व्यवस्थाको विरोधमा जुलुस, सभा गरेपछि जनतालाई बिउँझाउने काम गरेपछि जेल र खोरमा जानुपर्छ भन्ने कुरा नेमकिपाका नेता तथा कार्यकर्तालाई थाहा नभएको होइन । पञ्चायती व्यवस्थाको विरोधको क्रममा नेता तथा कार्यकर्ताहरू जेल र प्रहरी खोरमा भरिन्थ्यो । उनीहरू जेललाई राजनीतिक कार्यकर्ताको अर्को घर सम्झन्थे । शासक एवं प्रतिक्रियावादीहरूले जस्तोसुकै षड्यन्त्र गरे पनि, शारीरिक र मानसिक यातना दिए पनि, झूटा मुद्दा लगाए पनि नेता तथा कार्यकर्ताहरू झुकेनन्; बरु जोश र जाँगरका साथ जनताका हक अधिकारका निम्ति अघि बढे । देश र जनताको सेवा नै एक मात्र पार्टीको लक्ष्य भएको हुँदा जस्तोसुकै बाधा, अड्चन पार गरेर भए पनि उनीहरू अघि बढे । देशका शोषित पीडित र कामदार जनताको हक हितको निम्ति लडेर समाजवादी व्यवस्था ल्याउनु नै नेमकिपाको उद्देश्य हो ।
पञ्चायती शासकहरू कति क्रूर, निर्दयी र अहङ्कारी थिए भन्ने कुरा दमनबाटै थाहा हुन्छ । न्यायालयले न्याय दिनुभन्दा पहिले नै सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरूले नै खुला सडकमा फाँसीको माग गर्दै न्यायालयलाई समेत चुनौती दिए । बिनापुर्जी अर्काको घरमा गई राष्ट्रिय अन्तर्राष्ट्रिय विषयका पुस्तकहरू जवरजस्ती लुटेर लानु निरङ्कुशतन्त्रकै चरित्र हो । तर, सिद्धान्तनिष्ठ नेता तथा कार्यकर्ताहरू कुनै
पनि षड्यन्त्रको विरोध गर्न पछि परेनन् । त्यसो त पञ्चायती शासकहरूले पार्टी विभाजन गर्न नेता, कार्यकर्तालाई विचलित बनाउन, भड्काउने प्रयास बेलाबखत नगरेका होइनन् । यसका निम्ति पञ्चायती शासकहरूले गुप्तचर खटाए, नेता, कार्यकर्तालाई लोभ लालच देखाए, कतिलाई धम्काए, तर्साए† कहिलेकाहीँ निहुँ खोजेर मुद्दा लगाए, शारीरिक र मानसिक यातना दिए । प्रतिक्रियावादीका यस्ता अनेक षड्यन्त्र र चालबाजीमध्ये भक्तपुर काण्ड पनि एक हो । यो राज्यस्तरबाट रचिएको काण्ड हो । पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको सर्वत्र विरोध भयो । सर्वत्र भण्डाफोर भयो । पञ्चायती षड्यन्त्रको विरोधमा सञ्चारकर्मी, मानव अधिकारवादी, कानुनविद्, राजनीतिज्ञलगायत बुद्धिजीवीहरू लागे । पञ्चायती व्यवस्थाको बदनाम भयो । पञ्चायती नेता, मन्त्री, पञ्च र गुण्डाहरू नेपाली जनतामाझ उदाङ्गिए । ह्योजुकाण्ड राज्यस्तरबाट रचिएको षड्यन्त्र साबित भयो । यसको कारण पञ्चायती व्यवस्था नै अन्त्य भयो ।
Leave a Reply