भर्खरै :

साउदी अरबमाथि हमला : हामीलाई किन चासो ?

राजन
कुरा विदेशको भए पनि चासो हाम्रो पनि हुनुपर्छ । त्यस्ता विषय महाशक्ति राष्ट्रको मात्र चासोको विषय होइन । तर, हाम्रो चासोको कारण र महाशक्ति राष्ट्रको चासोको कारण चाहिँ फरक हुन्छ । हामी सानो र कमजोर राष्ट्र र समुदायसँग ऐक्यबद्धताको निम्ति चासो राख्छौँ भने शक्ति राष्ट्र नितान्त आफ्नो स्वार्थको लागि । सन्दर्भ हो साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि भएको हमला । यमनका हुथी विद्रोहीले १४ सेप्टेम्बरमा ड्रोन आक्रमण गरेर संसारको सबभन्दा ठूलो तेल निर्यातक राष्ट्र साउदी अरबको आरामको तेल प्रशोधन केन्द्रको दुई क्षेत्रमाथि आक्रमण भयो । यस तेल प्रशोधन केन्द्रबाट दैनिक ९८ लाख ब्यारेल तेल उत्पादन हुन्छ । १ व्यारेलमा १५९ लिटर हुन्छ । गएको वर्ष यस कम्पनीले १ खर्ब डलरभन्दा बढी मुनाफा कमाएको थियो । यति ठूलो तेल उत्पादनमा गडबडी आएपछि संसारभर तेलको आपूर्तिमा कमी त आउने नै भयो । जसको परिणामस्वरूप संसारमा कच्चा तेलको मूल्य एकै दिनमा २० प्रतिशतले बढेको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले तेलको उत्पादन बढाउने घोषणा गरेपछि केही मात्रामा तेलको भाउ घटेको थियो । स्वभाविक रूपमा हाम्रो देशमा पनि त तेलको मूल्य बढ्ला । तेलको मूल्य बढ्नु भनेको समग्र वस्तु ढुवानी खर्च बढ्नु हो । परिणामः बजारभाउ पनि बढ्नु हो । अतः सउदी अरबको तेल प्रशोधन केन्द्रमा भएको हमलाले हाम्रो देशलाई पनि असर पर्छ ।
हुथी विद्रोही को हुन् ?
हुथी विद्रोही यमनका अल्पसङ्ख्यक सिया जातिका समर्थक हुन् । जातीयताको कुरा यहाँनिर उल्लेखनीय हुन जान्छ । मुस्लिम धर्मावलम्बीहरू पनि एक सिया अर्को सुन्नीमा विभाजित छन् । साउदी अरबमा सुन्नीहरू बहुसङ्ख्यक छन् भने र इरानमा सियाहरू बहुसङ्ख्यक छन् । हुथी यमनमा भइरहेको गृह युद्धको एक पक्ष हो । यो अमेरिका र साउदी अरब विरोधी सङ्गठन हो । सन् २०११ मा भएको अरब स्प्रीङ आन्दोलनमा थुप्रै अरब मुलुकमा सत्ता परिवर्तन भएको थियो । त्यही क्रममा यमनमा पनि सत्ता परिवर्तन हुँदा त्यहाँका राष्ट्रपति अलि अब्दुला सालेह देश छोडेर भागेपछि उनकै उप–राष्ट्रपति मन्सुर हादीले सत्ता सम्हालेका थिए । पहिला सालेहसँग भिड्दै गरेको विद्रोही अहिले हालीसँग भिड्दै छ । यमनमा हुथीको दबदबा यसरी बढ्दै गयो, राजधानी सानासमेत हुथीको कब्जामा गयो । मन्सुर हादी २०१५ मा देश छोडेर साउदी अरेविया भागे ।
हमला किन भयो त ?
यमनका हुथी विद्रोहीले साउदी अरबमा हमला किन गरेका थिए ? हुथीको बहानामा इरान अरबी राजनीतिमा आउन प्रयास गर्ने कुरामा सउदी अरबलाई चिन्ता छ । त्यसैले उसले अरब मुलुकमा सुन्नी बाहुल्य भएको मुलुकको सहयोग माग्यो । चार वर्षदेखि हुथी विद्रोहीमाथि साउदी अरबले आक्रमण गरिरहेको छ । साउदी अरब यमनमा आफ्नो कठपुतली सरकार बनाउन चाहन्छ तर यो कुरा हुथीलाई मनपरेको छैन । साउदी अरबले हादीलाई सत्तामा ल्याउन सुन्नी मूलको सहयोगमा युद्ध नै छेडे । साउदी अरबलाई लागेको थियो युद्ध चाँडै नै सकिने छ । तर, उनले सोचेजस्तो भएन । युद्ध चलिनै रहेको छ । दसौँ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् । यमनको हालत झनै खराब भएको छ । देशमा भोकमरी, बेरोजगारी व्याप्त छ । कुपोषणले यमन बर्वाद भएको छ । त्यसैको पछिल्लो परिणाम साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण भएको हो । साउदी अरबले भर्खरै इरानको सहयोगमै हमला भएको ठोस प्रमाण भन्दै इरानमा बनेको रकेटका भग्नावशेष प्रस्तुत गरेको छ ।
अमेरिकी चासो किन ?
साउदी अरब र अमेरिकाको यमनमाथिको चासो रहनुको कारण हो यमन जहाँ अवस्थित छ त्यहाँ बाब अल्मनाडे जलमार्ग छ । यो साँघुरो जलमार्गले रेड सागरलाई अडेनको खाडीसँग जोड्छ । यो समुद्र मार्गको एकछेउ यमन छ भने अर्कोतिर जिवाउटी रहेको छ । जिवाउटी त्यो ठाउँ हो जहाँ अमेरिका र फ्रान्सका सैनिक अखडा छन् । यस कारणले पनि यी देश यमनको घटनाक्रमलाई विशेष चासोका साथ हेर्छन् । जिवाउटीले स्वेज नहर र हिन्द महासागरलाई जोड्छ । यही बाटो भएर जाने तेलको विश्व व्यापारमा ठूलो हिस्सा रहेको छ । अडेन गल्फ भएर दैनिक ३० लाख ब्यारेल तेलको आवतजावत हुन्छ । उत्तरमा स्वेज नहर छ र दक्षिणमा हिन्द महासागर र एसियाको ठूलो इन्धन बजार रहेको छ ।
सउदी अरबको तेल प्रशोधन केन्द्रमाथि हमला हुने बित्तिक्कै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले तुरन्तै हमलाको पछाडि इरानको हात रहेको बताए । यसैबीच राष्ट्रपति ट्रम्पले पनि यही निहुँमा इरानमाथि हमला गर्ने धम्की दिए । वास्तवमा अहिलेको प्रविधिको जमानामा आक्रमण भएको ड्रोन बनाउन विद्रोहीलाई इरानको सहयोग आवश्यक छ जस्तो लाग्दैन ।
ट्रम्प राष्ट्रपति भएपछि उनले अघिल्लो राष्ट्रपति ओबामाको पालामा इरानसँग गरेको परमाणु सन्धिलाई खारेज गरेका थिए । त्यतिबेलादेखि नै ट्रम्प र इरानबीच द्वन्द्व जारी छ । जब अमेरिकी ड्रोनलाई आफ्नो क्षेत्रभित्र प्रवेश गरेको भनेर इरानले खसाल्यो त्यहीबेला अमेरिकाले क्षेप्यास्त्र आक्रमण गर्न खोजेको थियो । अन्तिम घडीमा ट्रम्पले थुप्रै सर्वसाधारणको हताहत हुने भएर उक्त योजना फिर्ता लिएको भनेका स्वाङ्ग गरेका थिए । दुनियाँको नजरमा ट्रम्पको सनकीपनले अमेरिकालाई फेरि एकपटक अप्ठेरो अवस्थामा पु¥याएको छ । यी महासनकी ‘के निहुँ पाउँ कनिका बुक्याउँ’ को पारामा इरानमाथि हमला गर्ने निहुँ खोजिरहेको छ । तर, अमेरिकाले गरेको हमला विश्वको कुनै मुलुकमा सफल भएको छैन । दन्त्यकथाका एकजना राजा जसले जुन चिज छुन्छन् त्यो सुन बन्छ, हो त्यही पारामा भियतनाम होस् चाहे अफगानिस्तान, इराक, लिविया सिरिया, जहाँ अमेरिकाले हात हाल्यो त्यस क्षेत्रको विनास भएको छ । व्यापारी ट्रम्पलाई पनि थाहा हुनुपर्छ युद्धको मूल्य कति चुकाउनुपर्छ भनेर ।
अहिले एउटा शङ्का व्याप्त छ सउदी अरबलाई अगाडि राखेर अमेरिका पछाडिबाट इरानमाथि हमला गर्न सक्छ । यदि यस्तो भयो भने इजरायल पनि अगाडि आउन सक्छ किनकि इरान अरबमा इजरायलको आँखाको कसिङ्गर हो । यदि यो द्वन्द्वले उग्र रूप लियो भने पहिले नै अस्थिर रहेको मध्यपूर्व एसियामा झनै अस्थिरता बढ्ने पक्का छ । यो अवस्था न शान्तिको हिसाबले नै ठीक होला न अर्थ व्यवस्थाको हिसाबले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *