भर्खरै :

रमणीय स्थल धुलिखेल र सालकको सम्बन्ध

– सुनिता गाईसी
धुलिखेल, ५ असोज । धुलिखेल एक प्राकृतिक र सांस्कृतिक रूपले रमणीय ठाउँको रूपमा परिचित रहेको छ । प्राचीनकालमा धुलिखेल नेपाल मण्डलको पुर्वी नाकाका रूपमा थियो, यसलाई भक्तपुरकै एउटा क्षेत्रको रूपमा लिइन्थ्यो । नेपालभाषामा धुलिखेललाई ‘धौख्य’ पनि भनिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा सबैभन्दा पछाडि नेपालमा गाभिएको ठाउँहरूमध्ये धुलिखेल पनि एक हो । पृथ्वीनारायण शाहलाई धुलिखेल विजय गर्न पनि गा¥हो परेको थियो । धुलिखेल समुद्री सतहबाट १५५० मिटरको उचाइमा रहेको छ । अरनिको राजमार्ग र बीपी राजमार्ग यस नगरसँग जोडिएका छन् । अरनिको राजमार्गले कोदारीसम्म छोएकोले धुलिखेललाई Gate way to Tibet पनि भनिन्छ । काठमाडौँ सहरको भिडभाडबाट केही समय रमाइलो गर्न आन्तरिक र बाहय पर्यटकहरू यहाँ आउने गर्दछन् । धुलिखेल एक पुरानो नेवारी बस्ती पनि हो । यहाँको मनोरम दृश्यले पर्यटकहरूलाई मोहनी नै लगाउँछ । यहाँका प्रसिद्घ स्थलहरूमा शान्तिवन, हजार सिंढी, देवीस्थान पर्दछन् । देवीस्थानमुनिको लामो चुच्चे ढुङ्गाबाट वरपरका डाडाकाँडा हेर्न र फोटो खिच्नेहरूको पनि ठूलै भिड लाग्छ । अझ यही ढुङ्गा नजिकै चौरमा घोडचढीहरूको ताँती पनि देखिन्छ ।
धुलिखेल प्राकृतिक रूपमा सुन्दर छ । यसको वरपर पाइने सालकले प्रकृतिको जैविक विविधता बढाएको छ । तर, यस क्षेत्रमा आइपुग्ने धेरैलाई सालकको बारेमा जानकारी छैन होला । सालक एक संरक्षित प्राणी हो । यसलाई किसानको साथीकोरूपमा मानिन्छ । यसले बालीनाली नोक्सान गर्ने कमिला, धमिरा खाइ यसबाट हुनसक्ने बालीनालीको क्षतिबाट बचाउँछ । संसारमा पाइने ८ प्रजातिका सालकमध्ये नेपालमा कालो सालक र तामे सालक गरी २ किसिमका सालक पाइन्छन् । सालक एकदम लज्जालु, संवेदनशील र शान्ति मनपराउने प्राणी हो । यो जनावर हिँड्दा पनि निकै बिस्तारै हिँड्ने गदर्छ । यसको कुल लम्बाई ४० देखि ५८ सेन्टिमिटर सम्मको हुन्छ । सालकको पुच्छरको लम्बाइ २५ देखि ३८ सेन्टिमिटरको हुन्छ । पोथी सालकले एकपटकमा एउटामात्र बच्चा जन्माउने गर्दछ । सालक जन्मेको केही समयपछि हिँड्न सक्दछ । साना बच्चाहरूलाई पोथी सालकले पुच्छरमा राखेर यताउता लैजाने गर्दछ । यदि केही खतराको सङ्केत पाएमा पुच्छर गुजुल्टो बनाएर पेटमा लुकाउने गर्दछ । कसैकसैले यसले आपत्कालीन स्थितिमा रुख पनि चढ्ने गरेको बताउँछन् । नेपालको तराईदेखि मध्यपहाडको केही भूभागमा मात्र पाइन्छ । काभ्रेमा पनौतिको बल्थली, खोपासीमाः त्यस्तै पाँचखाल वरिपरि, नमोबुद्घ र धुलिखेल नपाका केही क्षेत्रहरूमा सालक पाइन्छ ।
भक्तपुरमा पनि सूर्यविनायकको जङ्गलमा सालक पाइने गरेको वरपरका स्थानीयहरू बताउँछ । धेरै नै उपयोगी जनावर भइकन पनि विभिन्न अन्धविश्वासका कारण यसलाई मानिसहरूले मार्ने गरेका छन् । यो जनावर देखिएमा घर परिवारका सदस्य बिरामी पर्छन् भन्ने अन्धविश्वासका कारण पनि सालकलाई मार्ने गर्दछन् । विशेषगरी सालकलाई यसको मासु, खपता र हाडको लागि शिकार गरिन्छ । चिनियाँहरूले सालकको विभिन्न भागबाट परम्रागत औषधि बनाउने गर्दछन् । भियतनामतिर विशेष गरी मासुको लागि सालकलाई मार्ने गरिन्छ । वास्तवमै सालकले कसैलाई पनि हानी गदैन तर अन्धविश्वासको पछाडि लागेर मानिसहरूले बिनाकारण यसलाई मार्दैआएका छन् । हाल सालकलाई संरक्षित जनावरको सूचीमा राखिएको छ । अन्धविश्वासको पछि नलागी वास्तविकता के हो भन्ने हामीले राम्ररी बुझ्नुपर्दछ । मानवजाति आफैं पनि बाँचाँै अरूलाई पनि बचाउँ भन्ने सिद्घान्तका साथ अगाढि बढ्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *