भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६

प्रदर्शनका आयोजक सुदन गुरुङको बयान :
म ‘हामी नेपाल’ संस्थाको अध्यक्ष भई हालसम्म सम्पूर्ण कार्य गर्दै आइरहेको छु । २०८२ भदौ २३ गते माइतीघर मण्डलामा शान्तिपूर्वक प्रदर्शन गर्न भदौ २२ गते नै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएका थियौँ । मलगायत संस्थाका स्वयम्सेवकहरू भदौ २३ गते बिहान ७ः०० बजेदेखि नै माइतीघर मण्डलामा जम्मा भएका थियौँ ।
अन्दाजी बिहान ९ः०० बजे रक्षा बमसहित ४–५जनाको समूह माइतीघर मण्डलामा आएर “यो आन्दोलन तपाईँहरूको होइन,तपाईँहरू नबोल्नुस्” भने । हामीले हाम्रो खर्चमा ल्याएको माइक, स्पिकर रक्षा बमको समूहलाई हस्तान्तरण ग¥यौँ ।
भदौ २३ गतेको कफ्र्यु घोषणाबारे म, मेरो टीम र प्रदर्शनमा आएका अधिकांश व्यक्तिलाई जानकारी भएन । किनभने, कफ्र्यु अगाडि नै सङ्घीय संसद् भवनमा खटिएका सुरक्षाकर्मीहरूबाट प्रदर्शनकारीहरूमाथि लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास प्रहार भई प्रदर्शनकारीहरू घाइते हुन थालिसकेका थिए । माइतीघरमा रहेको ‘हामी नेपाल’ संस्थाको मेडिकल क्याम्पमा घाइतेहरूको उपचार गराइरहेको अवस्थामा संसद् भवन परिसरमा सुरक्षाकर्मीहरूबाट गोली प्रहार भई प्रदर्शनकारीहरूको मृत्यु भएको मेरो टीमले मलाई जानकारी गराउँदा मात्र थाहा पाएको हुँ।
म सिभिल अस्पतालमा घाइतेहरूसँग भेटघाट गर्ने क्रममा एकजना प्रहरी अधिकृतसहितको टोलीले अस्पतालभित्र रहेका प्रदर्शनकारीहरूमाथि गोली प्रहार ग¥यो ।
भदौ २३ र २४ गतेको प्रदर्शनको Funding, Logistic Support, Transportation को लागि कुनै संस्थाहरूबाट सहयोग थिएन । मेरो व्यक्तिगत र ‘हामी नेपाल’ को रु. ५०,०००। खर्च भएको थियो । हाम्रो बारबरा फाउण्डेसनसँग कुनै पनि सम्बन्ध छैन । हालसम्म ‘हामी नेपाल’ ले कुनैपनि वैदेशिक संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिएको छैन ।
भदौ २४ गते साँझ मेरो आइफोन मोबाइलमा तपाईँलाई भद्रकालीस्थित नेपाली सेनाको कार्यालयबाट ‘प्रधानसेनापतिज्यूले बोलाउनुभएको छ’ भनी जानकारी आएकोले म नेपाली सेनाको प्रधानकार्यालयमा गएको थिएँ ।
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ र सप्रअमनि नारायणदत पौडेलले मलाई फोन गरी प्रधानकार्यालय जोगाइदिनुप¥यो भनेकाले म र मेरो टीम Discord प्लेटफर्मको Announcement मार्फत जम्मा भई स्वयम्सेवकहरूले हातेमालो गरी आफ्नो ज्यानको बाजी लगाई दुवै प्रहरी प्रधानकार्यालय जोगायौँ।
नेपाली सेनाको अधिकृत भोला थापासँगको सहकार्यमा नेपाली सेना र ‘हामी नेपाल’ का स्वयम्सेवकहरूले नागरिक सेवाको लागि Discord हेल्पलाइनमा ‘हामी नेपाल’ संस्थाको स्वयम्सेवकहरूको नम्बर राखेर त्यसको सूचना नेपाली सेनालाई दिई संयुक्त रूपमा रातभरि काठमाडौँ उपत्यकामा खटेका थियौँ।

रक्षा बमको कागज व्यहोराः
म के. एन्ड के कलेज नयाँबानेश्वरमा मास्टर तहमा अध्ययन गर्दै छु । साथै मैले उज्वल थापा फाउन्डेसन पानीपोखरीमा काम गर्ने गरेको थिएँ । २०८२ भदौ २३ गतेको प्रदर्शनबारे विभिन्न सामाजिक सञ्जालहरूमा प्रचारप्रसार भइरहेका थिए । विभिन्न समूहले सामाजिक सञ्जालमार्फत प्रदर्शनलाई समर्थन गरिरहेका थिए । म पनि Gen–Z पुस्तामा पर्ने भएकोले प्रदर्शनमा सहभागिता जनाउने निर्णय गरेँ । सोपश्चात् विभिन्न Gen–Z समूहसँग मसमेतका मेरा चिनजानका व्यक्तिहरूले छलफल गर्दै आयौँ । अन्तिम पटक काठमाडौँ माइतीघरको खुला स्थानमा बसी छलफल ग¥यौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति प्राप्त भएबमोजिम बानेश्वर एभरेस्ट होटलसम्म प्रदर्शन गर्दै जाने र पुनः प्रदर्शन गर्दै माइतीघर फर्केर शान्तिपूर्ण तवरले कार्यक्रम समापन गर्ने निर्णय भएको थियो । सोहीबमोजिम २०८२ भदौ २३ गते बिहान अन्दाजी ८.०० बजे म माइतीघर काठमाडौँमा गएँ । म जानुभन्दा अगाडि सुधन गुरुङको समूह पुगेर व्यवस्थापनको काम गरिरहेका थिए ।
बिहान अन्दाजी १०.३० बजे माइतीघरबाट प्रदर्शन सुरु भयो । लगभग ११.३० बजे बानेश्वर पुग्यौँ । केही समयपछि प्रदर्शनकारीहरू निषेधित क्षेत्रबाट अगाडि बढेर बानेश्वर चोकसम्म पुगी संसद् भवनभित्र छिर्ने प्रयास गरिरहेको खबर आयो । सुरक्षाकर्मीहरूले फायर गरेको आवाज पनि आउन थाल्यो । मैले अवस्था धेरै बिग्रने महसुस गरी स्कूल पोशाकमा रहेका विद्यार्थी प्रदर्शनकारीहरूलाई वैकल्पिक बाटोको प्रयोग गरी घरजान अनुरोध गरिरहेको थिएँ । लगभग १–२ बजेतिरको समय हुनुपर्छ मलगायत केही साथी अनामनगरमा गई सुरक्षित भयौँ ।
भदौ २४ गते बिहानैदेखि मुलुकभर आन्दोलन सुरु हुन थाल्यो । सो दिन म सङ्घीय संसद् भवन वरपर प्रदर्शनमा सहभागी भएको थिएँ । प्रदर्शनकारीहरू संसद् भवन छिर्न प्रयास गरिरहेका थिए । अन्ततः कसैको कुरा नसुन्ने अवस्थामा पुगिसकेका प्रदर्शनकारीहरूले संसद् भवन तोडफोड तथा आगजनी गरे । सो दिन सिंहदरबारस्थित राज्यका मुख्य प्रशासनिक निकाय, न्यायिक निकाय, सरकारी कार्यालयहरू, यसअघि पटक पटक सरकारमा सहभागी भएका राजनीतिक दलका उच्चपदस्थ व्यक्तिहरू, व्यापारिक प्रतिष्ठानलगायतमा तोडफोड तथा आगजनी गरी क्षति पु¥याए । प्रदर्शनमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू पनि प्रशस्त भेटिन्थे । उनीहरूलाई हामीले पटकपटक सम्झाइबुझाइ गर्दा उनीहरू हामीमाथि नै जाइलागे । प्रदर्शनको क्रममा राजावादी भनेर परिचए दिने व्यक्तिहरूसमेत देखिन्थे । भदौ २४ गते त बानेश्वरमा एकजना मादक पदार्थ सेवन गरेको व्यक्ति हातमा बन्दुक लिएर उच्छृङ्खल तवरले प्रस्तुत भइरहेको थियो ।
प्रदर्शनमा घुसपैठ भएको सम्बन्धमा छानबिन गरी कानुनबमोजिम कारबाही हुनेमा आशावादी छु । तोडफोड र आगजनीजस्ता विध्वंसात्मक कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही माग गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *