विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२
ली छिङयान
सन् २०१७ मा संरा अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भए । निर्वाचित भएलगत्तै उनले अफगानिस्तान र दक्षिण एसियाको लागि नयाँरणनीति सार्वजनिक गरे । अफगानिस्तानमा संरा अमेरिकाको पछिल्लो निष्क्रियता तोड्ने आशामा उनले त्यो रणनीति सार्वजनिक गरेका थिए । संरा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अफगानिस्तानबारे सार्वजनिक कार्यक्रमबारे बोल्दै राष्ट्रपति ट्रम्पले नयाँ रणनीतिमार्फत समयमा आधारित अवधारणाको ठाउँमा अफगानिस्तानको वास्तविक परिस्थितिमा आधारित अवधारणा स्थापित गरिने बताए । आफूले सोचेजस्तो परिणाम सुनिश्चित गर्न संरा अमेरिकाले सबै कूटनीतिक, आर्थिक र सैनिक शक्ति केन्द्रिकृत गरिने पनि ट्रम्पले बताएका थिए ।
“सैनिक परिचालनपछि कुनै न कुनै दिन अफगानिस्तानमा राजनीतिक समाधान सम्भव हुनेछ । त्यो समाधानमा अफगानिस्तानका तालिबानहरू पनि समेटिने छन् । तर, घटनाक्रम त्यत्तातिर अघि बढ्ने हो वा होइन भन्ने विषयमा भने कसैलाई केही थाहा छैन”, ट्रम्पले भने ।
अफगानिस्तानमा चर्केको हिंसामा संरा अमेरिकाको भूमिका गौण बन्दै गएको अवस्थामा नयाँ रणनीतिको खाँचो महसुस गर्न थालिएको हो । संरा अमेरिकाको रणनीतिले अफगानिस्तानको द्वन्द्वलाई बीसको उन्नाइस पनि गर्न सकेको छैन । त्यहाँको अवस्था दिनानुदिन खस्कँदो छ । तालिवानका सैनिक समूहले सैनिक र नागरिक क्षेत्रलाई निशाना बनाई हमला गरिरहेका छन् । इराकबाट लखेटिएका अतिवादी कथित इस्लामिक स्टेट (आईएसआईएस) हरू स्वयम् युद्धग्रस्त देश अफगानिस्तानमा घुसेका छन् ।
अफगानिस्तानमा संरा अमेरिकी सैनिक खर्च आकाशिएको छ । आकासिँंदो खर्चले अन्ततः ट्रम्पलाई मेलमिलापको नीतिमा तान्यो । संरा अमेरिकाको इतिहासमा सबभन्दा लामो अफगानी युद्ध समाप्त गर्ने शान्ति सम्झौता आज अफगानिस्तानमा सैनिक खर्च घटाउने विषयमा केन्द्रित बनेको छ ।
यो लक्ष्य हासिल गर्न अफगानिस्तान र इराकका लागि संरा अमेरिकी पूर्वी राजदूत जलमे खालिलजादलाई अफगानी मेलमिलापको लागि विशेषदूतमा नियुक्त गरिएको छ । खालिलजादले तालिवानका प्रतिनिधिहरूसँग कुराकानी गरे र तालिबानसँगको वार्तामा समर्थनको लागि रुस, चीन, भारत र अन्य सो क्षेत्रका देशहरूसँग पनि कुराकानी गरे । यसले संरा अमेरिकाको रणनीतिमा परिवर्तन भएको अनुमान लगाउन सक्छौँ । संरा अमेरिकी रणनीति अफगानिस्तानमा शान्ति र स्थायित्व पुनः स्थापना गर्ने ऐतिहासिक अवसर छोप्न खोजिरहेको देखिन्छ ।
वार्तामा प्रगति
धेरै चरणको वार्तापश्चात अहिले संरा अमेरिका र तालिबानबीचको वार्ता चारवटा विषयमा केन्द्रित छः संरा अमेरिकी सेना अफगानिस्तानबाट फर्किने समय तालिका, तालिबानले आतङ्कवादी गतिविधि रोक्ने सुनिश्चितता, स्थायी युद्धविराम र अफगानिस्तानभित्र आन्तरिक वार्ता ।
अफगान सरकार र तालिबानबीचको वार्ता शान्ति प्रक्रियाको एउटा गम्भीर हिस्सा हो । उनीहरूबीच राज्य व्यवस्था, संवैधानिक सुधार, शक्तिको बाँडफाँटका साथै हतियार समायोजन आदि विषयमा सहमति निकाल्नुपर्ने छ । यो लामो यात्रामा अनेकन घुम्ती र गल्छेडाहरू छन् ।
सुरुमा तालिबानले अफगान सरकारसँग वार्तामा बस्न मानेको थिएन । त्यसकारण संरा अमेरिका – तालिबान वार्ता मूलतः अमेरिकी सेना फिर्ता गर्ने समय तालिका र तालिबानले अल–कायदा र आईएसआईएसजस्ता अतिवादी सशस्त्र समूहबाट सम्बन्ध बिच्छेद गर्ने विषयसँग गाँसिएको थियो ।
तालिबानका एक जना प्रवक्ताले संरा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सबै सेना १५ देखि २४ महिनाभित्र फिर्ता लानेमा सहमति भएको जानकारी सार्वजनिक गरे । त्यसवापत तालिबानले अफगानी भूमि संरा अमेरिका र उसको सहयोगी देशहरूविरुद्ध हमलाको लागि प्रयोग नगर्नेमा सहमति गरेको छ ।
संरा अमेरिकाले सुरुको चरणमा ५ हजार ४ सय आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको छ । त्यत्ति अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानमा संरा अमेरिकी सेनाको सङ्ख्या ८ हजार ६ सयमा सीमित हुनेछ । अफगानिस्तानमा रहेका पाँच वटा संरा अमेरिकी सैनिक आधार बन्द हुनेछन् । दुई पक्षबीचको प्रस्ट समझदारी के थियो भने यदि तालिबान आफ्नो वचनबद्धताप्रति इमानदार भएन र अफगानिस्तानमा फेरि संरा अमेरिका र उसका सहयोगीहरूविरुद्ध धम्की र हमला भयो भने संरा अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अवरुद्ध हुने छ वा उल्टिनेछ ।
ट्रम्प सरकारभित्र अफगानिस्तानबाट संरा अमेरिकी सेना फिर्ता लाने विषयमा एकमत छैन । केही उच्च पदस्थ अमेरिकी अधिकारीहरूले अफगानिस्तानबाट यसरी जथाभावी सेना फिर्ता गरे फेरि गृहयुद्ध हुनसक्ने र संरा अमेरिकी हित खलबलिन सक्ने विचार राख्दै आएका छन् । अमेरिकी अनुदारवादीहरूले तालिबानसँगको वार्ता रोक्न र शान्ति सम्झौतामा हस्ताक्षर नगर्न दबाब दिइरहेका छन् ।
एउटा सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ट्रम्पले संरा अमेरिकाले अफगानिस्तानमा कडा निगरानी राख्न भने नछोड्ने बताएका थिए ।
अहिले अफगानी सरकार आफ्नै बलबुत्तामा तालिबानको हमलाको प्रतिरोध गर्न सक्दैन । संरा अमेरिकी सेनाको चरणबद्ध बहिर्गमनबीच पनि उसले अहिलेलाई अफगानी सरकारलाई सहयोग गर्नेछ । अफगानिस्तानमा संरा अमेरिकी सेनाको कटौतीसँगै वाशिङ्टनले राजनीतिक, आर्थिक र कूटनीतिक माध्यमबाट अफगानिस्तानको भविष्यमा आफ्नो प्रभाव कायम राख्न खोजिरहेको छ । एसियाकै हृदय मानिने अफगानिस्तानको रणनीतिक महत्वलाई संरा अमेरिकाले उपेक्षा गर्न सकेको छैन । संरा अमेरिकाले आर्थिक रूपमा अफगानिस्तानमा बढी प्रभाव जमाउन खोजिरहेको छ ।
तर, आठ चरणको वार्तापछि यो महिना ट्रम्पले वार्ताबाट पछि हट्ने घोषणा गरेका छन् । अफगानी राजधानी काबुलमा १२ जना सर्वसाधारणको ज्यान जाने गरी भएको हमलापश्चात उनले त्यस्तो घोषणा गरेका हुन् । परिणामतः सन् २०२० को राष्ट्रपति निर्वाचनसम्ममा अफगानिस्तानमा रहेका सबै संरा अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको योजना पनि धरापमा परेको छ । अठार वर्षदेखि अफगानिस्तानमा चल्दै आएको हिंसा अन्त्य गर्ने प्रक्रियासामू गम्भीर चुनौती देखिएको छ ।
तालिबान लडाकूहरूले भने सबै संरा अमेरिकी सेना फिर्ता लान जोड गरिरहेका छन् । तालिबानहरू अफगानिस्तानमा आफ्नो छवि सुधार्न र विदेशी कब्जाविरुद्ध लड्ने लडाकूहरूलाई राष्ट्रिय नायकहरूको रूपमा स्थापित गर्न चाहन्छन् ।
तर, वार्ता चलिरहेको बेला दुवै पक्षले आफ्नो पाखुरा मालिस पनि गरिरहेका छन् । संरा अमेरिकाले थप हवाई आक्रमण बढाएको छ भने तालिबानले पनि जथाभावी हमला गरिरहेका छन् । जसले दुवै पक्षलाई आक्रामक बनाएको छ । दुई पक्षबीच युद्धमैदान र वार्ताको टेबुलमा द्वन्द्व चालु छ ।
चुनावी जटिलता
आगामी सेप्टेम्बर २८ मा अफगानिस्तानमा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । अप्रिल महिनाको लागि तोकिएको निर्वाचन संरा अमेरिका र तालिबानबीच चालु वार्ताको नतिजाको प्रतिक्षामा पटक–पटक पछि सारिएको थियो ।
अफगानी समाज आज निकै विभाजित छ । शान्ति प्रक्रियामा कुनै साझा सहमति भेटाउन पनि निकै कठिन काम बनेको छ । राजनीतिक पार्टीहरू चुनावमा व्यस्त छन् । शान्ति र मेलमिलाप प्रक्रियालाई उनीहरूले वास्ता गरेका छैनन् ।
तालिबानविरोधी शक्तिहरूले चुनावलाई प्राथमिकतामा राखेका छन् । संरा अमेरिकाले तालिबान शासन फालेपछि सत्तामा आएको गठबन्धनले तालिबानसँग शक्ति बाँडफाँट गर्न मानेको छैन । तालिबान फेरि सत्तामा आए तालिबानी सैनिक समूहले अफगानिस्तानमा इस्लामिक शासन पुनःस्थापना गर्नेमा उनीहरू त्रस्त छन् ।
त्यसबाहेक राष्ट्रपति असरफ घानीका विरोधीहरूले घानी सरकारको वैधानिकतामाथि प्रश्न गरिरहेका छन् । स्वतन्त्र र निष्पक्ष चुनावको लागि अन्तरिम सरकार गठन गरी सत्ता हस्तान्तरण गर्नुपर्ने विपक्षीहरूको भनाइ छ । तर, घानीले भने तालिबानसहित विभिन्न पक्ष समावेश गरी अन्तरिम सरकार गठन गर्न मानेका छैनन् ।
यसले त्यहाँको राजनीतिक अवस्थालाई थप जटिल बनाएको छ । संरा अमेरिकी सेना फर्किएपछि आतङ्कवादविरोधी सुनिश्चितता, पूर्ण युद्धविराम र आन्तरिक वार्ता अन्तरसम्बन्धित भएकाले अफगानिस्तानको वर्तमान अवस्थामा परिवर्तनको लागि प्याकेजमा समाधान निकाल्न तालिबान र अफगानी सरकार एकै ठाउँमा आउन जरुरी छ ।
अरू खेलाडी
यी चुनौतीबाहेक सो क्षेत्रका अन्य देश र उनीहरूका फरक–फरक स्वार्थले पनि अफगानिस्तानको शान्ति प्रक्रियामा प्रभाव पार्नेछ ।
अफगानिस्तानका छिमेकी देशहरू भारत र पाकिस्तानबीच हालै कास्मिरको विषयमा द्वन्द्व चर्केको छ । दुवै देशको लागि अफगानिस्तान रणनीतिक महत्वको छिमेकी हो । ती दुई देशबीचको विवादले पनि अफगानी शान्ति प्रक्रियालाई प्रभाव पार्नेछ ।
साउदी अरब, इरान र टर्कीले अफगानिस्तानमा मेलमिलापको लागि भूमिका खेल्न चाहेको थियो । तर, उनीहरू आफैं एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूले साझा शक्ति बनाउन सकेका छैनन् । अफगानिस्तानमा आन्तरिक वार्ताको वातावरण बनाउन मद्दत गरेर रुसले पनि शान्ति प्रक्रियामा आफ्नो सहभागिता देखाएको छ । अफगानिस्तान सरकार र तालिबानबीच मस्कोमा वार्ताको वातावरण रुसले बनायो । सो वार्तापश्चात रुस पनि अफगानिस्तानको शान्ति प्रक्रियाको हिस्सा बनेको छ ।
अफगानिस्तानको महत्वपूर्ण छिमेकी हुनुको नाताले चीन पनि त्यहाँको शान्ति र मेलमिलाप प्रक्रियामा सहभागी बनेको छ । चीनले आफ्नो छिमेकमा क्षेत्रीय सुरक्षा र स्थायित्व कायम राख्न अफगानिस्तानको नेतृत्व र अफगानिस्तानको स्वामित्वको शान्ति र मेलमिलाप प्रक्रियालाई समर्थन गरेको छ । गत सेप्टेम्बरमा चीन–अफगानिस्तान–पाकिस्तान त्रिपक्षीय विदेशमन्त्री स्तरीय वार्ताको तेस्रो चरणको बैठकमा चीनले अफगानिस्तानमा सहज सङ्क्रमणको लागि व्यवस्थित र जिम्मेवारीपूर्वक अमेरिकी सेना फिर्ता लानुपर्ने प्रस्ताव गरेको छ ।
शान्ति प्रक्रियाको गम्भीर मोडमा पुगेको अफगानिस्तानले सबै सम्बद्ध पक्षसँगको साझा प्रयासमा लक्षित नतिजा सुनिश्चित गर्नुपर्छ ।
(लेखक चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका सहायक अध्येता हुनुहुन्छ ।)
स्रोतः पेइचिङ रिभ्यु
नेपाली अनुवादः नीरज
Leave a Reply