भर्खरै :

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनमा तराईंको आवाज

तराईको स्थिति
नेपाली जनताको सक्रिय आन्दोलनबाट राजनैतिक परिवर्तन भयो । लोकतान्त्रिक गणतन्त्रको नाममा देशमा पुँजीवादी गणतन्त्र स्थापना भएको छ । संविधानसभाबाट संविधान घोषणा भई सङ्घ प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भयो । सबै तहहरूमा जनप्रतिनिधिहरू निर्वाचित भए । निर्वाचनमा जित्नकै लागि शासक दलका उम्मेदवारहरूले अत्यधिक धन खर्च गरेकाले अहिले निर्वाचितहरू जनताको भावनाअनुसार भन्दा भ्रष्टाचार र कमिसनमा बढी ध्यान दिइरहेका छन् । विकास निर्माणको काम आ–आफ्ना मान्छेबीच उपभोक्ता समिति गठन गरी विकासको नाममा आर्थिक अनियमितता गर्दै छन् । सर्वसाधारण जनतामाथि धान्नै नसक्ने कर लगाउँदै छन् । स्थानीय तह र प्रदेश सरकारले संविधानले दिएको अधिकारसमेत प्रयोग गर्न सकिरहेका छैनन् । स्वास्थ्य र शिक्षाको अवस्था झन् कमजोर बन्दै छ । सामुदायिक विद्यालयहरूको अवस्था नाजुक हुँदै छ तर स्थानीय सरकारहरू मौन बसिरहेका छन् ।
नेपालको भौगोलिक वा प्राकृतिक बनावट एकै किसिमको छैन या हिमाल, पहाड र तराई छ । नेपालको दक्षिणी भाग तराई हो । तराईका ७५ प्रतिशत मानिस कृषिमा निर्भर छन् । तर, शासक दलहरूले पटक–पटक सरकारको नेतृत्व गरे पनि रासायनिक मल, कीटनाशक विषादी र सिँचाइको व्यवस्था नभएकाले किसानहरू भारतीय बजार र आकाशे पानीको भर पर्न बाध्य छन् । यसैले गर्दा तराईको उत्पादकत्व घट्दै छ । किसानहरूले परिश्रम गरेअनुसार उत्पादन नभएकोले युवाहरू विदेशिने क्रम बढिरहेको छ । शासक दलहरू जातीय र क्षेत्रीय कुरा गरेर जनतालाई आफ्नो प्रभावमा पारी आफ्ना स्वार्थपूर्ति गर्दै छन् ।
राजनैतिक अवस्थाः
तराईका, मजदुर, किसान, श्रमिक र गरिब जनता राजनीतिकरूपले सचेत र शिक्षित हुन सकेका छैनन् । चेतना र शिक्षाको कमीले गर्दा राजनीति सामन्त तथा पुँजीपतिहरूको स्वार्थपूर्ति गर्ने साधन बनिरहेको छ । ‘‘हामीहरूलाई मेहनत गर्न र कमाउनको लागि भगवानले पठाएका हुन्” भनी बोल्दै तिनीहरूले तराईका गरिब जनतामाझ भ्रम फैलाइहेका छन् ।
सिरहा ः
सिरहा जिल्लामा ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र १७ वटा स्थानीय तहहरू (९ वटा नगरपालिका र ८ वटा गाउँपालिका) छन् । सबै निर्वाचन क्षेत्रमा २ लाख मतदाता रहेका छन् ।
सिरहा जिल्लामा अधिकांश मधेसी पार्टीको प्रतिनिधित्व रहेको छ तर तिनीहरूले जनताको लागि केही काम गरिरहेका छैनन् । उनीहरू कार्यकर्ता पाल्न, कमिसन खान मनोमानी ढङ्गले योजना ल्याई सरकारी ढुकुटीमाथि ब्रह्मलुट गर्दै छन् ।
सिरहा जिल्ला किसानहरू बढी भएको जिल्ला हो । तथापि त्यहाँ पर्याप्तरूपमा न त सिँचाइको व्यवस्था छ न त मलखाद्को उचित व्यवस्था रहेको छ । कृषि उत्पादन भए पनि बिक्री वितरण गर्ने उचित बजारको व्यवस्थापनसमेत छैन । यहाँका ८० प्रतिशत युवाहरू वैदेशिक रोजगारीमा छन् । भ्रष्टाचार, महँगी, लुटपाट, चोरी, महिला हिंसा व्याप्त छ । जनता विषादी भएको तरकारी खान बाध्य छन् । महिला तथा चेलीबेटीलाई स्वतन्त्ररूपले बाँच्न गा¥हो छ ।
पानी नेपालको तर सिँचाइ भारतमा भइरहेको र नेपाली भूमिमा भारतीय गाडीहरू बिनारोकतोक गुडिरहेका छन् । भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । तर, न त प्रदेश सरकार यस विषयमा केही बोल्छ न त केन्द्र सरकार नै ¤ सिरहा जिल्लामा शिक्षा र स्वास्थ्यको अवस्था ज्यादै नाजुक छ । सरकारी विद्यालय गरिबका लागि र निजी विद्यालय धनीका लागि बनेका छन् । सरकारले गाउँ—गाउँमा सिंहदरबार भने पनि स्थानीय जनप्रतिनिधि गाउँघर पुगेका छैनन् । जनतालाई संविधान र कानुनले प्रदत्त गरेका अधिकारहरू केही प्रदान गरिएको छैन ।
पर्सा
भौगोलिक अवस्था ः
पर्सा नेपालको दक्षिणी भागमा भारतसँग सिमाना जोडिएको जिल्ला हो । पूर्व र उत्तरमा यस जिल्लाको सिमाना बारा, दक्षिणमा भारत र पश्चिममा चितवनसँग जोडिएको छ । पर्सा जिल्लाको क्षेत्रफल १३५३ वर्ग किमि र जनसङ्ख्या ६,०१,०१७ (सन् २०११ को जनगणनाअनुसार) रहेको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज हो ।
वीरगञ्ज औद्योगिक नगरी र नेपालको मुख्य प्रवेशद्वारको रूपमा रहेको छ । पर्सा जिल्ला तराई क्षेत्रमा पर्ने भएकोले यहाँको भूबनोट समथर छ । पर्सा जिल्लामा महानगरपालिका १, नगरपालिका ३ र गाउँपालिका १० वटा रहेका छन् ।
राजनीतिक अवस्था ः
पर्सा जिल्लामा नेमकिपा, नेका, नेकपा, समाजवादी पार्टीहरू क्रियाशील छन् । त्यहाँ नेका, नेकपा, समाजवादी पार्टी र राजपाको प्रभाव बढी देखिन्छ । यी पार्टीहरू कार्यकर्ता केन्द्रितभन्दा मास पार्टीको रूपमा देखिँदै छन् । केन्द्रीय नेताहरू उपस्थित हुने बेलामा सहभागीहरूको मोटरसाइकलमा पेट्रोल हालिदिने, खाजा, खाना खुवाउने भएकोले जनसहभागिता बढी हुने गर्छ । कतिपय अवस्थामा एउटा पार्टीको कार्यकर्ता र समर्थकहरू सामान्य प्रलोभनमा परेर अर्को पार्टीमा प्रवेश गरेका देखिन्छ । साङ्गठनिक प्रशिक्षणको अभावमा ती पार्टी जिल्ला समितिहरूको बैठकमा कार्यकर्ताहरूबीच हातपातसमेत भएको समाचारहरू प्रकाशित हुन्छन् ।
पर्सा जिल्लाको सिमाना भारतसँग जोडिएकोले यहाँको राजनीतिमा भारतीय प्रभाव बढेको देखिन्छ । स्थानीय जनताको राजनीतिक र सैद्धान्तिक स्तर उठ्न नसकेकोले यहाँ जातीय र क्षेत्रीय राजनीतिको प्रभाव बढी छ । त्यसकारण आफूलाई ठूला पार्टी भनाउनेहरूमा समेत ‘यो मेरो पार्टीको पनि कार्यकर्ता हो’ भन्नसक्ने अवस्था छैन । यहाँ राजनीतिक विचार र सिद्धान्तभन्दा पैसा र तडकभडक हावी भएको देखिन्छ । धेरै पैसा खर्च गर्नसक्ने र तस्करीका काममा संलग्नहरूलाई संरक्षण दिने शासक दल र नेताको प्रभाव बढी छ ।
अहिले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू पार्टीको सिद्धान्त, विचार र जनताबीच गरेका वाचाभन्दा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा तल्लीन छन् । यिनीहरूको ध्यान विकासभन्दा कमिसनमा केन्द्रित देखिन्छ । त्यसकारण यहाँका स्थानीय तहहरूले विकास निर्माणमा गति लिन सकेका छैनन् भने जिल्लामा समग्र शिक्षा र स्वास्थ्यको अवस्था खस्कँदो छ ।
रौतहट
रौतहटमा नेपाली काङ्ग्रेस, नेकपा, राजपा र मधेसवादी पार्टीहरूको हालीमुहाली छ । तर, तिनीहरू आफ्ना कार्यकर्ताहरूलाई कहिल्यै पनि राजनैतिक शिक्षा प्रदान गर्ने कार्यक्रम गर्दैनन् । केन्द्रीय स्तरको कार्यक्रममा सर्वसाधारण जनतालाई मासुभात खुवाई, दैनिक ज्याला दिएर सहभागी गराउँछन् ।
तराईमा भएको मधेस आन्दोलन र नाकाबन्दीको प्रभाव तराईका अधिकांश जिल्लामा परेको थियो । नेपाल—भारत खुला सीमाले पनि त्यतिबेला निकै समस्या झेल्नुप¥यो । तर, आजसम्म निर्वाचित प्रतिनिधिहरूले नेपाल—भारत खुलासीमा नियमित गर्नुपर्ने आवाज उठाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *