भर्खरै :

के सिरिया अर्काे लिविया र इराक बन्दैछ ?

– प्रकाश
पश्चिमा एसियामा अवस्थित सभ्यताको केन्द्र र समृद्ध देश सिरिया युद्धको विभिषिकाका कारण आज जर्जर स्थितिमा पुगेको छ । सिरियामा गृहयुद्ध भइरहेको भनिए तापनि यथार्थमा पश्चिमा साम्राज्यवादी देशहरूले सिरियाविरुद्ध युद्ध गरिरहेका हुन् । त्यस छ्दम युद्ध (Proxy War) का निम्ति तिनीहरूले सिरिया र वरपरका मुस्लिम अरब देशका वहाबी, सलाफीलगायत कट्टरपन्थी मुस्लिम जिहादीहरूलाई प्रयोग गरिरहेका छन् । सिरियामा प्रजातन्त्र र स्वतन्त्रता तिनीहरूको बाहिरी विश्वलाई देखाउने धँुवाको पर्दा मात्र हो । सिरियामा एकखाले प्रजातन्त्र त अघिदेखि नै थियो । राष्ट्रपति बशार अल अस्सदले विपक्षीको माग सम्बोधन गर्न थुपै्र राजनीतिक सुधार र आफै पनि ७ वर्षको एकपटक जनअनुमोदित हुनुपर्ने प्रावधान लागू गरेर अनुमोदित पनि भइसकेका छन् । सिरियाको बारेमा पश्चिमा साम्राज्यवादी सञ्चारमाध्यमहरूले विगत १० वर्षदेखि निरन्तर झूट प्रचार गर्दै आएका छन् र त्यसैको अर्काे एक श्रृङ्खला थियो ४ अप्रिलका दिन सिरियाको इडलिव प्रान्तमा सिरियाली सेनाले रसायनिक हतियार प्रयोग गरेर ८६ जना कट्टरपन्थी लडाकू मारिएको समाचार ।
सिरियाली सेनाले कट्टरपन्थी विद्रोहीमाथि रसायनिक हतियार प्रयोग गरेको निहुँमा संरा अमेरिकाले एक पक्षीय रुपमा ५९ वटा टमहक क्रुज क्षेप्यास्त्र सिरियाको होम्स प्रान्तमा अवस्थित सिरियाली हवाइ सेनाको हवाई आधार शिविरमा प्रहार ग¥यो । त्यसबाट सिरियाली हवाइ सेनाका २० प्रतिशतभन्दा बढी युद्ध विमानहरू नष्ट भएको र दर्जनौं सिरियाली सेना र सर्वसाधारण जनताको मृत्यु भएको समाचार आएको छ ।

यहाँ स्मरणयोग्य के छ भने सिरियाली सेनामाथि रसायनिक हतियार प्रयोग गरेको आरोप यो नै पहिलो पटक होइन । तर ती पहिलेका सबै घटनामा रसायनिक हतियार सिरियाली सेनाले प्रयोग गरेको पुष्टि कहिल्यै भएन, बरु पश्चिमा समर्थित अल नुस्रा फ्रन्टलगायत कट्टरपन्थी विद्रोहीहरूले नै त्यसको प्रयोग गरेको पुष्टि भएका थिए । तर पश्चिमा साम्राज्यवादीहरूले कट्टरपन्थीहरूले गरेको ती घाटक हमलामा आँखा चिम्ले किनभने ती हतियार तिनीहरूले नै उपलब्ध गराएका थिए । तिनीहरूले रसायनिक हतियार प्रयोग गरेको आरोप सिरियाली सेना र सरकारमाथि लगाएर सिरियामाथि आक्रमण गर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्बाट पारित गराउन चाहन्थे । पश्चिमा राष्ट्रको उक्त कुत्सित नियतको जानकार रसिया र चीनले सुरक्षा परिषद्मा प्रत्येकपल्ट सिरियामाथिको हमला गर्ने प्रस्तावलाई निषेधाधिकार (भिटो) प्रयोग गरेर तुहाइदिए ।
४ अप्रिलको दिन इडलिवमा या कुनै दिन सिरियाको कुनै पनि भू–भागमा सिरियाली अरब सेनाले रसायनिक हतियार प्रयोग नगरेको स्पष्टीकरण सिरियाली सेना र सरकारका उच्च अधिकारीहरूले पटक पटक दिंदै पनि आएका छन् । पछिल्लो घटनाबारे सिरियाको अडानलाई दोहो¥याउँदै ६ अप्रिलका दिन सिरियाली विदेशमन्त्री वालिद अल मौलेमले आफ्नो सरकारले रसायनिक हतियारको प्रयोग कहिल्यै नगरेको र अगामी दिनमा पनि प्रयोग गर्ने नीति नरहेको बताएका थिए । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका विदेशमन्त्री मौलेमले स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञ समूहलाई त्यसबारे छानबिन गर्न आह्वान समेत गरेका छन् । तर, पश्चिमा सञ्चारमाध्यमहरूले एकोहोरो रुपमा आधारहीन रुपमा सिरियाली सेनाले विद्रोहीमाथि रसायनिक हतियार प्रयोग गरेको पीत प्रचार गरिरहेका छन् ।
सिरियाको पछिल्लो घटनाक्रमबारे जानकारी राख्ने कसैले पनि सिरियाली सेनाले रसायनिक हतियार प्रयोग गरेको दुष्प्रचार पत्याउन सक्दैन । सन् २०१४ मा रसायनिक हतियार प्रयोग गरेको पश्चिमा आरोपको खण्डन गर्दै सिरियाली सरकारले रसायनिक हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय संस्था ओपीसीडब्ल्यूका सुपरीवेक्षणमा सम्पूर्ण रसायनिक हतियार सिरियाबाट हटाएको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षणकर्ताहरूले त्यसको पुष्टि गर्दै सिरियाली सरकारको कदमको प्रशंसा गरेका थिए ।

यता कथित सिरियाली गृहयुद्ध छैटौं वर्षमा लागेपछि सिरियाली सेनाले देशव्यापी रुपमा उल्लेख्य विजय प्राप्त गर्दै थियो । सिरियाको उत्तरी प्रान्त तथा सहर अलेप्पो, हामा, होम्स, पाल्मिरा आदि प्रानतमा पनि सिरियाली सेनाले हालै निर्णायक विजयहरू प्राप्त गर्दै गरेको छ । सिरियाली सेना देशको सम्पूर्ण भागलाई आईएसलगायत कट्टरपन्थी विद्रोहीमुक्त बनाउन निरन्तर अघि बढ्दै छ र त्यसमा रसियाली हवाई सेनालाई पनि साथ दिंदैछ । अन्य हतियारकै आधारमा आतङ्ककारीविरुद्ध सफलता पाइरहेको सेनाले आफूसित नभएको हतियार । आफ्नो प्रतिबद्धताविरुद्ध हुने गरी प्रयोग ग¥यो भन्नु तर्कहीन दुष्प्रचारमात्र हो । रसियाली राष्ट्रपति भ्यालादिमिर पुटिनले भन्नुभएझैं सिरियामा फेरि फेरि अर्काे रसायनिक हतियारको प्रपञ्च रचिने र सिरियाको बशर अल अस्सदको सरकारविरुद्ध विश्व समुदायको मन भाँड्ने कार्य हुन सक्छ । किनभने राष्ट्रपति बशर अल अस्सद र उनी नेतृत्वको सिरियाली सरकारविरुद्ध विश्वव्यापी दुष्प्रचार नगरेमा संरा अमेरिकालगायत नेटोको साम्राज्यवादी सेनाले सिरियामा हमला गर्दा विश्वव्यापी विरोध उठ्ने छ । सिरियामा कट्टरपन्थी मुस्लिम जिहादीहरू र आइएसआइएसजस्तो आतङ्ककारी सङ्गठनलाई भरपुर सैन्य, शस्त्रअस्त्र र आर्थिक सहयोगले ठेल्दा पनि सिरियाली सेनालाई पराजित गरी सिरियामा कब्जा हुन नसकेपछि साम्राज्यवादीहरू आफै प्रत्यक्ष आक्रमणमा उत्रेका हुन् । तिनीहरूले सिरियामाथि आक्रमण गर्नकै लागि रसायनिक हतियार प्रयोग भएको षड्यन्त्र रचेका हुन् ।

चौध वर्ष अगाडि मार्च २००१३ मा इराकमाथिको बमबारी र कब्जालाई जायज ठह¥याउन तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आम विनासकारी अस्त्र भएको आरोप लगाएका थिए । महिनौंको बमबारी र इराक कब्जापछि इराकमा त्यस्तो कुनै अस्त्र फेला नपरेपछि उनी अमेरिकी गुप्तचर निकायहरूले गलत सूचना उपलब्ध गराएको भन्दै पन्छिएका थिए । तर त्यतिबेलासम्म इराकी राष्ट्रपति सद्दाम हुस्सैनलाई उनीहरूले बन्दी बनाइसकेका थिए भने दसौंं लाख इराकी जनताको निर्मम आमनरसंहार गरिसकेका थिए । परिणाम आज इराकमा सम्पूर्ण प्रायःजस्तो तेल कुवा अमेरिकी र युरोपेली देशका तेल कम्पनीहरूको कब्जामा छ भने इराकमा आइएसको प्रभाव बढेर अन्त्यहीन गृद्धयुद्धमा फसेको छ ।
त्यस्तै सन् २०११ मा लिवियामा कथित अरब बसन्तको आन्दोलनमाथि दमन गरेको निहुँमा लिवियामाथि नेटो सेनाले आक्रमण गरी त्यहाँका सहरहरू र महत्वपूर्ण संरचना ध्वस्त पारेका थियो । जननेता गद्दाफी र इस्लामिक जमाहिरिया (समाजवाद) समर्थक लाखौं जनताको निर्मम हत्या गरिएको थियो । नेता गद्दाफी र उनको परिवारका सदस्यहरू र सरकारका सदस्यहरूको विभत्स हत्या गरिएको थियो । लिवियाका तेल कुवाहरू पनि आज पश्चिमा कम्पनीहरूकै नियन्त्रण र दोहनमा छ । अरब देशहरूमध्ये पूर्ण स्वतन्त्र देश आज सिरिया र इरानमात्र बाँकी छ । यी देशका स्वतन्त्र सरकारहरूलाई विस्थापित गरी त्यहाँ पश्चिमा साम्राज्यवादीहरूले अरब क्षेत्रको सम्पूर्ण तेलकुवा आफ्नो कब्जामा पारेर विश्वमाथि राज गर्ने तागत पुनः प्राप्त गर्न सक्नेछन् । तिनीहरूको लक्ष्य वा दुराशयमा तगारो बनेको सिरियाको स्वाधीन सरकारलाई अपदस्थ गर्न नै सिरियामाथि गृहयुद्ध र आक्रमणको अत्याचार लादिएको हो । के सिरिया अर्काे इराक, लिविया त बन्दैछैन ? सिरियामाथिको अमेरिकी आक्रमणले विश्व जनसभामा आज यो प्रश्न टड्कारो रुपमा उठेको छ । सम्पूर्ण न्यायप्रेमी, स्वतन्त्रताप्रेमी र साम्राज्यवादविरोधी जनता पश्चिमा षड्यन्त्रबाट सजग र बनी स्वाधीन सिरिया, सिरियाली जनता र सरकारको पक्षमा उभिनुपर्छ र साम्राज्यवादी आक्रमणको विरुद्ध आ–आफ्नो ठाउँमा कडा विरोध जनाउनुपर्छ ।
(लेखक नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *