भर्खरै :

सत्तरी वर्षमा चीनको अभूतपूर्व विकास

जन गणतन्त्र चीनले मङ्गलबार आफ्नो स्थापनाको ७० औँ स्थापना दिवस मनायो । सत्तरी वर्षको अवधिमा चीन साम्राज्यवादी हमला र गृहयुद्धका कारण आर्थिकरूपमा भुइँ तहबाट आज विश्वको आर्थिक महाशक्तिमा रुपान्तरण भयो । चीनले जनवादी गणतन्त्र स्थापनाको ७० औँ वर्षगाँठ मनाइरहँदा कसरी उसको परिवर्तनले अभूतपूर्व रूपमा आर्थिक विकास ग¥यो र गरिबीलाई निवारण ग¥यो भनी विश्लेषण गरिँदै छ ।
चीनमाथि कम्युनिस्ट पार्टीको नियन्त्रणमा आउँदा देश निकै गरिब थियो । उद्योगधन्दा र व्यापार चौपट थियो । उसका व्यापारिक साझेदार थिएनन्, कूटनीतिक सम्बन्ध सीमित थियो र चिनियाँहरू स्वदेशको भविष्य नदेखेर विदेशतिर लाग्दै थिए । चीनको नयाँ जनवादी क्रान्तिले जनतालाई भोकमरीबाट बचाउँदै सामूहिक प्रगति र देशको पुनःनिर्माणलाई तीव्रतर रुपमा अगाडि बढायो । माओ त्सेतुङको नेतृत्वले अग्रगामी छलाङमार्फत चीनको कृषिअर्थतन्त्रलाई तीव्रगतिमा औद्योगिकीकरण गर्न खोज्यो । त्यस्तै झन्डै ४० वर्ष अगाडिदेखि चीनले ऐतिहासिकरूपमा बजार सुधार गर्दै व्यापारिक मार्ग खोल्यो, लगानी भित्यायो र यसबाट करोडौँ जनतालाई गरीबीबाट मुक्त ग¥यो ।
सन् १९९० को दशकमा चीनले तीव्रगतिमा आर्थिक वृद्धिदर कायम ग¥यो अनि सन् २००१ मा विश्व व्यापार सङ्गठनमा पनि प्रवेश ग¥यो । चीनको व्यावहारिक कूटनीतिका कारण देशसँगको व्यापार अवरोध हटे र आयात शुल्क घटे अनि चिनियाँउत्पादन सबैतिर पाउन थालिए । औद्योगिक विकासले चीन आज संसारकै उद्योगस्थल वा कारखानास्थल बनेको छ । लन्डन स्कूल अफ इकोनोमिक्सका आँकडाअनुसार सन् १९७८ मा चीनको निर्यात १० अर्ब थियो जुन विश्व व्यापारको १ प्रतिशतभन्दा कम थियो । सन् १९८५ सम्ममा त्यो अड्ढ २५ अर्ब डलर पुगिसकेको थियो । त्यसको २० वर्षभन्दा कम अवधिमा निर्यात ४.३ खर्ब पुग्यो । यसले चीनलाई वस्तु कारोबारको सबभन्दा ठूलो राष्ट्र बनायो ।
विश्व बैड्ढले ८५ करोड मानिसलाई चीनले गरीबीबाट उठाएको बताएको छ । चीन सन् २०२० सम्ममा निरपेक्ष गरीबी अन्त्य गर्ने बाटोमा छ । त्यस्तै शिक्षा क्षेत्रमा चीनको विकास पनि विश्वकै लागि उदाहरणीय छ । निरक्षरता पूर्णरूपमा उन्मूलन गरिसकेको चीनले सन् २०३० सम्ममा देशका कामदार जनतामध्ये २७ प्रतिशतले विश्वविद्यालयीय शिक्षा पाउने स्ट्यान्डर्ड चार्टर्डले प्रक्षेपण गरेको छ । आजको अवस्थामा चीनकोे आर्थिक वृद्धि ५ देखि ६ प्रतिशतमा रह्यो भने उक्त देश विश्वको आर्थिक वृद्धिको सबभन्दा शक्तिशाली योगदानकर्ता हुने बताइएको छ । चीनले वैश्विक आर्थिक विकासमा नयाँ आयाम कोरिरहेको छ । बेल्ट एन्ड रोड अगुवाइमार्फत उसले संसारभरि विकास संरचनामा व्यापक लगानी गरेको छ र त्यसैमार्फत नयाँ विश्व आर्थिक प्रणालीको जग राखिरहेको छ । चीनले आफ्नो देशभित्र चिनियाँ विशेषताको समाजवादमार्फत जनतालाई समृद्ध जीवन र समाजतर्फ अगाडि बढाउनुका साथै विश्व राजनीतिक प्रणालीमा महाशक्ति र साम्राज्यवादको दबदबा अन्त्य गर्दै जीत–जीतको नयाँ कूटनीतिक अभ्यासलाई स्थापित गर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *