३९ औँ नेपाल भाषा साहित्य तःमुंज्या (साहित्य सम्मेलन) भक्तपुर र देशकै वर्गसङ्घर्षको प्रतीक हो । साहित्य पनि वर्गभन्दा बाहिर हुँदैन भन्ने चिनियाँ जनताका महान् नेता माओ त्सेतुङको निष्कर्षलाई मनन् गरेरै ३९ वर्ष अगाडि किसान, मजदुर र प्रगतिशील लेखक, कवि, कलाकार एवम् बुद्धिजीवी समुदायले स्थापना गरेको यो संस्थाले कामदार जनताको साहित्य र विचारको क्षेत्रमा यथोचित सेवा गर्दै आएको छ ।
दास युग र सामन्तवादी समाजमा साहित्यलाई दास मालिक र राजा–महाराजाहरूको प्रशंसा गर्ने र गराउने माध्यम बनाइएको थियो । त्यसबेला कथाहरूका सबै मूल पात्रहरू राजा, महाराजा, दास मालिक र विजयी सामन्तहरू हुन्थे । समाजमा राम्रा, असल र योग्य व्यक्तिहरू तथा कलाकारहरू र कामदारहरू तल्लो जातमा पनि हुन्थे । तर, इतिहासमा तिनीहरूको नाम कहीँ उल्लेख भएको हुँदैनथ्यो । शोषण, पक्षपात र अत्याचारको विरोध गर्नेहरूलाई खलनायकको रूपमा चित्रण गरिएको हुन्थ्यो ।
३९ वर्ष पहिले भक्तपुरका किसान, मजदुर र प्रगतिशील बुद्धिजीवीहरूले नेपालभाषा साहित्य तःमुंज्याको स्थापना गरेर जनताको साहित्यलाई मूर्तता दिएको प्रस्ट छ । त्यसबेलादेखि कला र साहित्यले कामदार वर्ग र प्रगतिशील पक्षको समर्थन र प्रगति गरेको मान्नु समिचीन हुन्छ ।
कामदार वर्ग र प्रगतिशील पक्षले आफ्नो साहित्यको झन्डा नेपाल भाषा साहित्य तःमुंज्याको रूपमा प्राप्त गरे । नेपाल भाषा साहित्य तःमुंज्याले अन्य भाषाहरूबाट समेत आ–आफ्ना भावना अभिव्यक्त गर्ने अवसर प्रदान गर्दै देशका सबै भाषाभाषीहरूको एकताको निम्ति एक सन्देश दियो । साथै, विभिन्न विषयका विशेषज्ञहरू, जानकार, विद्वान, डाक्टर, इन्जिनियर र लेखक, कवि – कलाकारहरूको सम्भाषण, मन्तव्य, रचना र कला प्रदर्शनले दसैँको चाडपर्वमा रचनात्मकता थप्ने एवम् जुवा–तास, जाँड– रक्सीको मातलाई नियन्त्रण गराउने अवसरले समाजका सबै उमेरका युवा र पाका जनसमुदायलाई पनि सहयोग गर्ने काम गरेको छ ।
यस अर्थमा हामी ‘नेपाल भाषा साहित्य तःमुंज्या’ लाई धेरै – धेरै प्रशंसा गर्दै, कामदार वर्गको साहित्य र कलाको विकास गर्ने कार्यमा सफलताको कामना गर्छाैँ ।
कोरियाली मजदुर वर्गको ७४ औँ स्थापना दिवसलाई बधाईज्ञापन
कोरिया प्रायःद्वीप पूर्वी एसियाकै एक महत्वपूर्ण भू–भाग हो । तर, साम्राज्यवादी आक्रमणले एउटै भाषा र एउटै जातिका कोरियाली जनतालाई कोरियाली युद्ध (१९५०–१९५३) पछि ३८ औँ समानान्तर रेखाबाट उत्तर र दक्षिणमा विभाजित ग¥यो । अमेरिकी साम्राज्यवादले एउटै कोरियाली परिवारलाई दुई देशमा विभाजित गर्ने अमानवीय र अविवेकी कार्य ग¥यो । तर, कोरियाली जनताले अमेरिकी साम्राज्यवादी क्रुरतालाई कहिल्यै स्वीकार गरेनन् ।
साम्राज्यवादको विरोध गर्न कोरियाली जनताले आफ्नो देशको मुक्तिको निम्ति ७४ वर्ष अगाडि ‘कोरियाली मजदुर पार्टी’ को स्थापना गरे । पार्टी स्थापना सँगसँगै मुक्ति सङ्घर्षको नेतृत्व गर्दै राष्ट्रपति किम इल सङले आफ्नो अन्तिम दिनसम्म सङ्घर्ष गर्नुभयो । आफ्नो पितृभूमिको मुक्तिको निम्ति प्रजग कोरियाको स्थापना गर्नुभयो र उहाँले पूर्वी एसियामा समाजवादको रातो झन्डा गाड्नुभयो । सारा कोरियाली जनतालाई एकमनको एकतामा बाँध्नुभयो । आर्थिक, राजनैतिक, सामाजिक एवम् विज्ञान र प्रविधिमा समेत ठूलो प्रगति गर्ने जग हाल्नुभयो । राम्रो बिउको राम्रो फल भनेकै यही हो ।
राष्ट्रपति किम इल सङले देखाउनुभएको बाटोमा का. किम जङ इल र नयाँ पुस्ताका का. किम जङ उनले समाजवादको झन्डालाई अझ उँचो उठाउनुभयो । यस सफलताको मुख्य कारण ‘कोरियाली मजदुर पार्टी’ को स्थापना हो । स्थापनाको ७४ वर्षको सुअवसरमा हामी कोरियाली मजदुर पार्टीको नेतृत्व र सम्पूर्ण पार्टी सदस्यहरूलाई क्रान्तिकारी शुभकामना र बधाई दिन चाहन्छौँ ।