भर्खरै :

षड्यन्त्र अरू कोमाथि हुन्थ्यो र ?

षड्यन्त्र अरू कोमाथि हुन्थ्यो र ?

भादगाउँकै मात्र सधैँ कुरा नगरी
भात र जातकै मात्र सधैँ चिन्ता नगरी
भियतनामको कुरा किन गरिस् ?
भियतनाममाथि बम खसाल्दा देशै थर्किने गरी किन चिच्याइस् ?
भादगाउँका गल्ली–गल्लीमा जोन्सनलाई किन घिसारिस् ?
अनि,
भयङ्कर हमला तँमाथि नभई को माथि हुन्थ्यो ?
भ्रष्टाचार बढ्यो, महँगी बढ्यो, तस्करी बढ्यो
ढ्याङ्ग्रो ठोक्दै हिँड्नुप¥या किन ?
भ्रष्टाचारीलाई उल्टो टोपी लगाउनु प¥या किन ?
दिउँसै टुकी बालेर शत्रु कमाउनु प¥या किन ?
अनि,
भयङ्कर षड्यन्त्र तैँमाथि नभई को माथि हुन्थ्यो ?
भर्खर भर्खरै मात्र भाग पाएका तैँसँग आगो नभई को बन्थ्यो ?
स्वर्गमा हालीमुहाली भर्खरै मात्र गर्न पाएकाहरू चुरचुर नबनी को बन्थ्यो ?
सोझो भई नबसी सुस्ता खायो, सुस्ता खायो
सात्तो जाने गरी किन कराइस् ?
सुस्ता जाबो खायो त खायो, सिंहदरबारै खाएसरि शङ्ख फुक्दै किन हिँडिस् ?
अनि,
सिंहदरबार तँैमाथि जाई नलागी कोमाथि लाग्थ्यो ?
बाली काटेर खुरुखुरु बाली साहुलाई बुझाउँदै हिँड्दा तँलाई केको टाउको दुखाइ ?
बाली काटेर ग्वाज्य ज्यापुहरूका कोँचा भर्नु प¥या किन ?
खुरुखुरु खेत मात्र जोतिरहेको भए के आकाशै खस्थ्यो र ?
जोतेको खेतमा हक खोज्नु प¥या किन ?
जाबो लालपुर्जा खोजेर नाता सम्बन्धमा आगो झोस्नु प¥या किन ?
‘बाज्या, बाज्या…’ भनी लय्ताच्यो बनेर नबसी कामरेड बन्नु प¥या किन ?
अनि,
सारा बौ’साहेबहरू मिलेर तेरो बौको बिहे नदेखाई कसको देखाउँथ्यो ?
खर्पनभरि मल बोकेर हिँड्न छोडी
मनभरि लाय्कूको चिन्ता लिएर जान्ने भएपछि
डाँडा–पाखामा मात्र चिरबिर चिरबिर गर्दै नहिँडी
लाय्कूको धुरीमै बास्न थालेपछि
लाय्कूमै हल्लीखल्ली मच्चाएपछि
लाय्कूका माकहरूलाई लखेट्न थालेपछि
तेरै हातमा हतकडी नपरे कसको हातमा पथ्र्यो ?
जेलको चिसो छिँडीबास तैँले भोग्न नपरे कसले पथ्र्यो ?
बेइमानै बेइमानको दुनियाँमा
खुब इमानको बखान गर्नु प¥या किन ?
दुष्टै दुष्टहरूको बथानमा
न्याय, निर्माण र परिवर्तन खोज्नु प¥या किन ?
गधै–गधाहरू र जाली नै जालीहरूको जत्थामा
स्वच्छ, चोखो र सुगन्धको आश ग¥या किन ?
उल्टो–उल्टो कुरा गरेपछि तँलाई बाँकी राख्छ चाहिँ कसले ?
अँध्यारोमा खुरुक्क सुतिबसेको भए जान्थ्यो तेरो के ?
जाग्नुप¥या किन ? सराप्नुप¥या किन ?
अनि, भयङ्कर षड्यन्त्र तँमाथि नभई कोमाथि हुन्थ्यो ?
बद्ला तँसँग नलिई कोसँग लिन्थ्यो ?
गोरूझैँ जोतिबसेका, गधाभैmँ लत्रिरहेकाहरूलाई
स्कूल–कलेजमा हुलिस् किन ?
साक्षरता कक्षा, प्रौढ कक्षा भन्दै
कपाल लुछी–लुछी टाउको दुखाइस् किन ?
फल्चा, सतःहरूलाई पाठशाला, पुस्तकालय, वाचनालय
बनाएर आगोमा हात झोस्ने बुद्धि दियो कसले ?
फल्चाहरूमा ट्वाङ–ट्वाङ मात्र गर्दै नबसी ढ्वाङ–ढ्वाङ
गर्दै हिँडेपछि तेरो टाउकैमा बज्र नबजारियोस् किन ?
अनि,
कसले किन सहन्थ्यो ? को किन चुप लाग्थ्यो ?
तँलाई षड्यन्त्रको जालोले नबेरी कसलाई बेथ्र्यो ?
एक–दुई वर्ष होइन, एक–दुई दशक पनि होइन
२५ वर्षसम्म पनि गल्दै नगलेपछि, झुक्दै नझुकेपछि
शासनको राप–तापमा पटक्कै नलोभिएपछि
थोरै भए पनि गुलियो चाखूँसमेत नभनेपछि
जे गर्दा पनि हाडेओखरै साबित भएपछि
हाहाकार नै हाहाकार भए पनि महाराजको जयजयकार गर्दै नहिँडेपछि
जहिले जहाँ पनि सत्तिसालझैँ उभिएपछि
असह्य पीडाले जुजुका जजमानहरूको छात्ती छिया–छिया हुनुमा के अनौठो ?
प्रतिष्ठाको विषय बन्नुमा के आश्चर्य ?
अनि,
तेरो फाँसीको तयारी नगरी कसको गथ्र्यो ?
तँमाथि भयङ्कर षड्यन्त्र नभई के हुन्थ्यो ?
भाद्रको विपत्तिमै षड्यन्त्र सहज नबनी कुन साइत कुथ्र्यो ?
राज्यस्तरको दमन दासहरूमाथि किन हुन्थ्यो ?
युग परिवर्तनको दुन्दुभी बजाउनेहरूलाई किन छोड्थ्यो ?

(नेमकिपालाई समूल नष्ट गर्न तत्कालीन पञ्चायती व्यवस्थाले राज्यस्तरबाट रचेको भक्तपुर काण्ड भदौ ९, २०४५ कालो दिनको विरोध तथा भत्र्सना कार्यक्रममा वाचित कविता ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *