भर्खरै :

सक्वको म राजदास– ४

ई. राजदास श्रेष्ठ
हो, म कमरेड ‘रोहित’ को नामबाट धेरै प्रभावित भएँ । कमरेड निर्मल लामाले पनि मेरो मन मस्तिष्कमा स्थान लिनथाल्यो । कम्युनिजम् भनेको के हो भन्ने कुराको ज्ञानविना नै मलाई कम्युनिस्ट नेताहरू मनप¥यो । जन गणतन्त्र चीनका अध्यक्ष माओ पनि मनपर्न थाल्यो । चिनियाँ साहित्यकार लु सूनका कथाहरू पढ्न थालेँ । काठमाडौँको बुरां खेलमा गएर कम्युनिस्ट नेताहरूको भाषण सुन्न थालेँ । एक दिन त्यही बुरां खेलमा कमरेड मनमोहनको भाषणले पञ्चायती शासक राजा महेन्द्रको निरङ्कुश शासनको विषयमा केही ज्ञान दिलायो ।
हामीले राजा महेन्द्रलाई दूधभात खाएर बसभन्दा पनि ऊ मान्दैन भनेका मनमोहनका कुरा आजसम्म पनि मेरा कानमा गुञ्जिरहेको छ । तर, आज देशमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार भए पनि त्यस्ता निष्ठावान कम्युनिस्ट नेताहरूको अभाव देख्दा धेरै मन दुख्छ ।
हिजो अस्तिमात्र एउटा टेलिभिजन अन्तर्वार्तामा कमरेड ‘रोहित’ ले भन्नुभएको कुरा सुन्दा मलाई धेरै रमाइलो लाग्यो । उहाँलाई एकताका कमरेड मनमोहनले एमालेभित्र प्रवेश गरेर एमालेको नेतृत्व गर्न प्रस्ताव गर्नुभएको थियो र एक महत्वपूर्ण मन्त्रालय सम्हाल्न अनुरोध गर्नुभएको थियो । तर, कुनै लाभदायी पदको लोभमा नफस्ने कमरेड ‘रोहित’ ले सो पद स्वीकार्नुभएन । बरु पार्टीको स्थापनाकालदेखि नै आफ्नो मजदुर किसान पार्टीको नेतृत्व गर्दै आउनुभएको छ र सधैँ प्रतिपक्षको भूमिका निर्वाह गरेर सरकारलाई सही बाटोमा हिँड्न सहयोग गर्दै आउनुभएको छ । उहाँको निःस्वार्थ, देशभक्त भावनाको राजनीतिले मलाई आजसम्म त्यतिकै प्रभाव परिरहेको छ । ५० वर्ष अगाडि जुनबेला मैले उहाँको नाममात्र सुनेको, पढेको थिएँ कमरेड ‘रोहित’ भनेर । उहाँको वास्तविक नाम पनि मलाई थाहा थिएन त्यसबेला नारायणमान बिजुक्छेँ भनेर । पछि मैले उहाँका केही साहित्य रचनाहरू पढेँ ।
‘हरिबहादुर श्रेष्ठका कथाहरू’ पढेको थिएँ र ‘सय वर्षपछिको भक्तपुर’ पनि पढेको थिएँ । हरिबहादुरको नामले लेख्नुहुन्थ्यो उहाँ पहिले आफ्ना साहित्यिक लेख, रचनाहरू । केही दिनअगाडि पढेको थिएँ उहाँका पुस्तक ‘जेलका चिठीहरू’ । त्यस पुस्तकबाट उहाँको पारिवारिक र राजनीतिक जीवनमात्र होइन भक्तपुर सहरका धेरै रमाइला ऐतिहासिक तथ्यहरू पनि जान्न पाएँ र आजको हाम्रो देशमा धेरै राजनेताहरूमध्ये कमरेड ‘रोहित’ जस्ता सच्चा निष्ठावान् नेता पनि रहेछ भन्ने जान्न बुझ्न पाउँदा धेरै खुसी लागेको छ । मेरो ५० वर्ष अघिदेखिको कम्युनिजम्प्रतिको आस्था जीवित राख्नमा उहाँबाट प्रेरणा पनि मिलेको छ ।
५५ वर्ष अगाडि जब म आफ्नो गाउँघर साँखुबाट काठमाडौँ पढ्न भनी आएँ मेरो जीवनको सोच्ने तरिकामा परिवर्तन आयो । पहिले म एक धार्मिक आस्थाले भरिएको समाज र परिवारमा हुर्केको मान्छे । जमिनदारी सोचमा रमाउने पञ्चहरूले भरिएको टोल छिमेकीहरूको वातावरण र ४–५ वर्षसम्म ‘घोकनी विद्या–धावन्ति खेती’ भन्ने उक्तिअनुसार संस्कृतका पुस्तकहरू घोकेर हुर्केको मान्छे म । बिहान उठ्नेबित्तिकै म घर अगाडि बग्ने राजकुलोमा मुख धोएर गणेश, सरस्वती, महादेव र बुद्ध चैत्यहरूको पूजा ढोग गरेरमात्र चिया खाने मान्छे । त्यसबेला साँखुमा खास चिया खाने त्यतिको चलन थिएन । प्रायः बिहान हामी नजिकका पसलहरूमा गएर सेल–रोटी किनेर खान्थ्यौँ । बिहान बिहान म झन्डै आधा घन्टा लगाएर पूजापाठ गर्थेँ, गणेश स्तोत्र र सरस्वती वन्दना गर्थेँ । संस्कृत भाषाका श्लोकहरू पढ्थेँ । अनि केही हल्का खानेकुरा खाएर संस्कृत पण्डित बाजेको घरमा गएर लघु सिधाना कौमुदी – घोक्न जान्थेँ र गुरुको खुट्टा ढोग्थेँ । तर, काठमाडौँ आएपछि यी सबै हरायो । संस्कृत पढ्न पनि छोडियो, पाठ पूजा गर्ने पनि हरायो । संस्कृतको ठाउँमा अङ्ग्रेजी किताबहरू पढ्न थालियो, गणित घोक्न लगाइयो । संस्कृत पढ्दा घोक्ने बानीले गर्दा मैले सबै विषयहरू घोकेरै पढ्न थालेँ । यसले गर्दा मेरो स्मरण शक्ति बढेको थियो । ज्योमिट्रीका थ्यरोमहरू र अङ्ग्रेजी पोएट्रीका कविताहरू म कण्ठस्थ गर्थेँ र जाँचमा आँखा चिम्लेर लेख्न सक्थेँ । त्यही कारणले होला स्कूल जीवनमा मैले सधैँ पहिलो स्थान ओगट्न सफल भएँ, एसएलसी (प्रवेशिका परीक्षा) मा बोर्डमा चौँथो स्थान हासिल गर्न सफल भएँ । राष्ट्रिय शिक्षा नीतिअन्तर्गत ‘महेन्द्ररत्न छात्रवृत्ति’ बाट प्रत्येक महिना एक सय रुपैयाँ पुरस्कार पाएँ, दुई वर्षसम्म अमृत साइन्स कलेजमा आई.ए.सी. (इन्टरमेडियट साइन्स) पढ्दै गर्दा ।
स्कूलमा जसरी मैले राम्ररी पढेर राम्रो नतिजा ल्याउन सफल भएँ । कलेजमा गएर मैले त्यसरी पढ्न सकिनँ । यद्यपि मैले कलेजमा पनि फस्ट क्लासमै परीक्षा उत्तीर्ण गरेँ । तर, दुई वर्षको पढाइ मैले तीन वर्ष लगाएर मात्र पूरा गर्न सकेँ । यसका मुख्य दुई कारण थिए । पहिलो, मैले एसएलसी परीक्षामा बोर्डमा चौँथो स्थान ल्याएको कुराले ममा एक अहङ्कार भावना जागृत भयो, मनभित्र र बाहिर आफ्नो विद्यार्थी सर्कलमा । साँखु गाउँ घरमा मेरो धेरै प्रशंसा भयो । त्यस प्रशंसाले गर्दा एउटा अनावश्यक मनोरञ्जनात्मक अभियानले स्थान लियो मेरो हृदय र दिमागमा । म बढी प्रफुल्लित भएर हिँड्न थालेँ । पढाइमा ध्यान कम हुन गयो । फेरि कलेजका कोर्स बुकहरू स्कूलका भन्दा धेरै गा¥हो र दिमाग लगाएर पढ्नुपर्ने थियो । घोकेरमात्र साध्य हुने खालका थिएनन् र त्यसमाथि कलेजमा गएपछि अलि उमेरले पनि आफ्नो रङ्ग बदल्यो, साथीहरूको घेरा बढ्न गयो । पहिले स्कूलमा पढ्दा मेरा खास साथी भन्ने नै थिएनन् दुई चारजना स्कूलमा आफ्ना समकक्षी र बाहिर साहित्य जगतका केहीबाहेक ।
२०२२ मा राजा महेन्द्रको पञ्चायती व्यवस्थामा एउटा प्रतिगामी कदम चालिएको थियो नेपालभाषा नीतिमा । ‘एकल जातीय–एकल भाषीय नीतिजस्तो प्रतिगमनकारी नीतिअन्तर्गत त्यसबेलाको रेडियो नेपालमा नियमितरूपमा प्रसारण भइरहेको नेपालभाषाको ‘जीवन दबू’ नामक १५ मिनेटको कार्यक्रम बन्द गरियो र यसले नेपालभाषा र साहित्य क्षेत्रमा ठूलो तरङ्ग पैदा गरिदियो ।
अनि काठमाडौँ उपत्यकामा बृहत् भाषा आन्दोलन सुरु भयो । यस आन्दोलनअन्तर्गत हप्तौँपिच्छे काठमाडौँको चोक–चोकमा गल्ली–गल्लीमा साहित्य कार्यक्रमहरू सञ्चालन गरियो र पञ्चायती शासनको विरोधमा आवाज गुञ्जियो काठमाडौँ उपत्यकाका सहर–सहरमा ।
हो, राजा महेन्द्रको भाषा नीतिले काठमाडौँ उपत्यकामा ठूलो असन्तुष्टि र आक्रोश पैदा गरिदियो विशेष गरेर उपत्यकाका साहित्यकार र बुद्धिजीवीहरूमाझ । १५ मिनेटको ‘जीवन दबू’ नामक सांस्कृतिक र साहित्यिक साप्ताहिक रेडियो कार्यक्रममात्र होइन प्रत्येक दिन प्रसारण भइरहेको नेपालभाषाको समाचार प्रसारण पनि बन्द गरियो । नेपाल सरकारको यस कदमले नेपालभरि खास गरेर काठमाडौँ उपत्यकामा नेवा समुदायभित्र आफ्नो मातृभाषाप्रतिको भक्तिभाव जागरण गरिदियो । विद्यार्थीसमूह मिलेर विद्वान वर्ग र साहित्य संस्कृतिप्रेमीहरूले भाषा आन्दोलन सुरु गरे । ठाउँ–ठाउँमा, गाउँ सहरमा टोल–टोलमा हरेक हप्ता साहित्य कार्यक्रमहरू आयोजना गरिए ।
ती सम्मेलनहरूमा नेपाल भाषाका लब्धप्रतिष्ठित साहित्यकारहरू जस्तै भाषाविद् प्रेमबहादुर कंसाकार, साहित्यकार सूर्यबहादुर पिवाजस्ता व्यक्तित्वहरूको नियमित उपस्थिति हुन्थ्यो र उहाँहरूको प्रेरणाले मैले पनि साहित्य कार्यक्रमहरूमा भाग लिन जान थालेँ ।
साहित्य–सङ्गीतमा मेरो खास लेख्ने पढ्ने बानी नभए पनि सुन्नको लागि भए पनि म ती साहित्य कार्यक्रमहरूमा जान थालेँ । साथीहरूको लहैलहैमा लागेर एक दुईवटा कविता पनि कोर्न थालेँ । एकचोटि स्वयम्भुको आनन्दकुटी विहारमा यस्तै सम्मेलन भएको थियो । त्यहाँ पनि मैले एउटा सानो कविता लेखेर पढेको थिएँ । साहित्यप्रेमी विद्यार्थी तथा साहित्यकार – प्राध्यापकहरूको बाक्लो उपस्थिति थियो । सभाहल भरिभराउ थियो । त्यसदिन सभाका प्रमुख अतिथि थिए कवि केदारमान व्यथित । केदारमान व्यथित एक प्रभावशाली कवि थिए । नेपालभाषा र खस पर्वत भाषा जसलाई नेपाली भाषा भन्न लगाइयो, दुवै भाषामा साहित्य रचना गर्थे र राजा महेन्द्रको पञ्चायती शासनका एक हिमायती थिए हाम्रा साँखुका जोगमेहर दाइजस्तै ।
एक साहित्यकार र त्यसबेला उहाँ शिक्षामन्त्री पनि भएको नाताले होला त्यस साहित्य कार्यक्रममा उहाँलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । डेढ–दुई घण्टाको साहित्यिक कार्यक्रममा पुराना नाम कमाइसकेका साहित्यकारमा कविहरूका साथै नयाँ पुस्ताका विद्यार्थी–साहित्यप्रेमीहरूले आ–आफ्ना कथा, कविताहरू वाचन गरिसकेपछि प्रमुख अतिथिको बोल्ने पालो आयो । मञ्चमा आफ्नो आसनबाट उठेर माइक अगाडि केही शब्दहरूमात्र के बोल्नुभएको थियो सभाहलमा बसेका धेरै स्रोताहरू आ–आफ्ना सीटबाट उठेर हल बाहिर गए । केही हल्लाखला मच्चिन थाल्यो ।
प्रमुख अतिथिले आफ्नो सम्बोधनको सुरुमै खस भाषाबाट बोल्न थाल्नुभयो । यसैको आक्रोशमा दर्शक दीर्घाबाट नेपालभाषाप्रेमी साहित्यकारहरूले विरोधस्वरुप उहाँको भाषण नसुनेर हल बाहिर गई नेपालभाषाको अपमान गरेको भनी प्रदर्शन गरे ।
त्यसबेलादेखि नेपालभाषा साहित्य समाजमा कवि व्यथितको उपस्थिति देखिन छाड्यो र उहाँ अलोकप्रिय बन्नुभयो । नेपालभाषा साहित्य जगतबाट यद्यपि, उहाँ एक सशक्त हस्ताक्षर हुनुहुन्थ्यो नेपालभाषा साहित्य लेखनमा । उहाँको ‘छ्वास’ नामको साहित्य पुस्तकले नेपालभाषा साहित्यका प्रतिष्ठित पुरस्कार ‘श्रेष्ठ सिरपा’ प्राप्त गर्नुभएको थियो ।
नेपालभाषाको साहित्य सम्मेलनमा जान प्रेरणा दिनेहरूमा पहिलो हुनुहुन्थ्यो पद्मोदय हाइस्कूलका मेरा मनपर्ने गुरु (मार्साब) प्रेमबहादुर कंसाकार । उहाँ अध्यापक हुनुको साथसाथै एक कुशल राजनीतिज्ञ पनि हुनुहुन्थ्यो । सुरुसुरुमा राष्ट्रिय काँग्रेसका संस्थापक नेता हुुनुहुन्थ्यो र पञ्चायती शासनको विरोधी । उहाँ भन्नुहुन्थ्यो, पटक–पटक उहाँलाई मन्त्री बन्ने प्रस्तावहरू आएका थिए रे । तर, आफ्नो राजनैतिक सिद्धान्त छोडेर मन्त्री पद खान उहाँ जानुभएन, बरु आफ्ना साथीहरूसँग मिलेर ‘पद्मोदय हाई स्कूल’ को संस्थापक बन्नुभयो र नेपालभाषाको साहित्य संस्कृति प्रवद्र्धन र संरक्षण गर्ने हेतुले शिक्षा साहित्य संस्कृति क्षेत्रमा दत्तचित्त भएर लाग्नुभयो । यसबाहेक उहाँले काठमाडौँमा सर्वप्रथम एक सार्वजनिक पुस्तकालय ‘प्रदीप्त पुस्तकालय’ स्थापना गर्नुभयो । यसबाट उहाँ कतिको शिक्षाप्रेमी र साहित्यप्रेमी देशभक्त हुनुहुन्थ्यो भन्ने थाहा हुन्छ ।
पद्मोदयमा उहाँले हामीलाई भूगोल शास्त्र (जिओग्राफी) र अङ्ग्रेजी पढाउनुहुन्थ्यो । पढाइको बीचबीचमा नेपालभाषा साहित्यको कुरा गर्नुहुन्थ्यो र मलाई विशेष गरेर नेपालभाषामा लेख्नुपर्छ, पढ्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो ।
एकदिन आफ्नो नियमित जिओग्राफीको कक्षा लिँदै गर्दा मलाई हेरेर उहाँले भन्नुभयो, “राजदास मैले ‘सितु’ मासिक पत्रिका निकाल्दै छु, छिट्टै प्रकाशन हुँदैछ ।” उहाँको आशय थियो, मैले सो पत्रिका पढ्नुपर्छ र केही रचना लेख्नुपर्छ पत्रिकाको लागि आफ्नो मातृभाषामा ।
म मनमनै खुसी भएँ । नभन्दै केही समयपछि बजारमा निस्कियो नेपालभाषाको मासिक पत्रिका ‘सितु’ । सितुको अर्थ हो ‘दुबो’ । म नियमित पाठक बनेँ । सितु पत्रिकामा धेरै राम्रा–राम्रा लेख रचनाहरू निस्किए । उक्त पत्रिकामा प्रेमबहादुर स्वयम्ले लेखहरू लेखेर छाप्नुहुन्थ्यो प्रायः प्रत्येक अङ्कहरूमा । हाम्रा सांस्कृतिक पर्वहरूको व्याख्या गर्दै ती चाड पर्वहरूको महत्वबारे प्रकाश पार्नुहुन्थ्यो उहाँ आफ्ना साहित्यिक रचनाहरूमार्फत । एउटा रचनामा उहाँले हाम्रो राष्ट्रिय चाड ‘म्ह पूजा’ को बारेमा सान्दर्भिक र महत्वपूर्ण लेख लेख्नुभएको थियो । उक्त लेखमा हाम्रो परम्परादेखि चल्दै आएको महत्वपूर्ण पर्व ‘म्ह पूजा’ को अर्थ, यसको धार्मिक सांस्कृतिक महत्वको वर्णन गर्दै म्ह पूजा गर्दा ‘मण्डप’ कोर्ने तरिका र विधिसम्म विस्तृतरूपमा व्याख्या गर्नुभएको म आजसम्म पनि सम्झन्छु । हाम्रो नेवाः जातिको नयाँ वर्ष नेपाल संवत्को प्रत्येक दिन म उहाँलाई सम्झने गर्छु, उहाँको लेख रचनाले गर्दा ।
आफ्नो लेख रचनाबाहेक उहाँ प्रत्येक अङ्कमा हाम्रो लोप हुँदै गइरहेका पुराना पुराना भजन कीर्तनका गीतहरू खोजी खोजी लेख्नुहुन्थ्यो । ती गीतहरू प्रायः मल्लकालीन समयका हुन्थे । मल्ल राजाहरूको पालामा नेपालमा नेवाः संस्कृति र साहित्यको धेरै उत्थान भएको थियो । विशिष्ट ढङ्गको कलाकौशलले भरिपूर्ण मठमन्दिरहरूको निर्माणको साथै कला–संस्कृति र साहित्यको पनि उत्कर्ष विकास भएको थियो र मल्ल राजाहरूमध्येका एक प्रभावशाली र प्रतिभाशाली कान्तिपुरका राजा प्रताप मल्ल स्वयं एक कवि थिए । यस्तै यस्तै धर्म संस्कृति र कलाकौशलको साथै आधुनिक साहित्य गतिविधि र लेख रचनाहरूले भरिपूर्ण थिए ‘सितु’ पत्रिका । प्रेमबहादुर मारसाबकै प्रेरणामा मैले पनि केही लेखहरू लेख्न थालेँ आफ्नो मातृभाषामा । ती रचनाहरू प्रकाशित भए उक्त ‘सितु’ पत्रिकामा राजदास सक्वको नामबाट । मेरो नामको पछाडि ‘सक्व’ भन्ने शब्द उहाँले नै राखिदिनुभएको थियो । मेरो नामसँगै मेरो जन्मस्थल सक्व देशको नाम जोडिदिनुभएकोमा म उहाँलाई हृदयदेखि आदर गर्न थालेँ । म र मेरो सक्व देशप्रतिको उहाँको स्नेहलाई मैले कहिल्यै पनि बिर्सन सकिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *